पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : काँग्रेस

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनु भयो । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भत्र्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानविन गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो आक्रमण हेर्दाखेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । र, यो ज्यान मार्नकै लागि गरिएको प्रहार अन्यन्तै क्रुरतापूर्ण, सांघातिक र बर्बर खालको जुन प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ । म सिंगो नेपाली काँग्रेसको तर्फबाट, नेपाली काँग्रेस संसदीय संसदीय दलको तर्फबाट यो आक्रमणको घटनाको घोर भत्सर्ना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु । र, नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरु पनि मानिसहरुको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कानून बमोजिम कडा भन्दा कडा कारबाही गरियोस भन्ने म नेपाली काँग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यो घटना सामान्य छैन । त्यसो हुनाले म माननीय उपप्रधानमन्त्री, गृहमन्त्रीज्युलाई म आग्रह गर्न चाहन्छु–यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पूर्ण सत्यतथ्य विवरणको जानकारी र यसमा भएगरेका सम्पूर्ण कामहरुको उहाँले यो गरिमामय सदनमा गर्नुहुनेछ भन्ने पनि म नेपाली काँग्रेस संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु ।’

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमानै संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?