सानिमा र रिलायन्सको एकीकृत कारोबार

Read Time = 2 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा व्यवसाय सेवा प्रदान गर्न इजाजत प्राप्त कम्पनी सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । प्रधान कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने गरी एकीकृत कारोबार सुरु गरेका हुन् । कम्पनीका अध्यक्ष ताराचन्द केडियाले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष शपथ ग्रहण गरी कार्यभार सम्हालेसँगै एक समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।

मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकृत पुँजी पाँच अर्ब, चुक्ता तथा जारी पुँजी ४.१८४ अर्ब, जीवन बीमा कोष ८.३४ अर्ब, जगेडा तथा कोषमा ७७.५९ करोड रहेको छ । सेयरधनी कोष ४.९६ अर्ब रहेको र यस वर्षको खुद नाफा २८.३० करोड, लगानी १३.५० अर्ब, कुल बीमा शुल्क संकलन ३.७० अर्ब, कुल कायम रहेको बीमालेख संख्या १०.९३ लाख र सक्रिय अभिकर्ता संख्या १२ हजार पाँच सय ६० रहने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालभर रहेका १७५ शाखा तथा उपशाखामार्फत् सेवा प्रदान गर्नेछ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, साबिक सानिमा लाइफका अध्यक्ष कुमार कोइराला, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल र साबिक रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?