उर्लेको न्वाघरी गाड छिचोल्दै विद्यालय पुग्छन् बालबालिका !

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । बैतडीकी लक्ष्मी चन्द सिगास गाउँपालिका–६ को गणेश माविमा अध्यापन गराउनुहुन्छ । सिगासकै वडा नम्बर ७ को सांगडा टोलबाट न्वाघरी गाड (नदी) भएर जानुपर्छ । उक्त ठाउँमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गरी विद्यालय पुग्नुपर्ने बाध्यता उहाँको छ । दुई पटक न्वाघरी गाड तरेपछि मात्रै विद्यालय पुगिन्छ । घरबाट विद्यालय जान र विद्यालयबाट घर आउन दैनिक चारपटक न्वाघरी गाड उहाँलाई तर्नैपर्छ । ‘वर्षातको समयमा उक्त नदी एक्लै तर्न मुस्किलले मात्रै सकिन्छ । न्वाघरी नदीमा पुल निर्माणका लागि पटक-पटक माग गरिसक्यौँ’, चन्दले भन्नुभयो ‘कसैले सुन्दैनन् । जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ ।’

यो जोखिमपूर्ण यात्रा गर्नेमा उहाँ एक्लै हुनुहुन्न । साङ्डा र थलार टोलबाट गणेश माविमा झण्डै ३५ जना विद्यार्थी पढ्न जान्छन् । विद्यार्थीहरू पनि खोला किरानामा शिक्षिका चन्दलाई पखेर बसिरहेका हुन्छन् । लक्ष्मीलाई विद्यालयमा बालबालिकाहरूलाई पढाउने जिम्मेवारी मात्र छैन् । आफूसँगै सकुशल घर ल्याउने र लैजाने जिम्मेवारी पनि छ । न्वाघरी नदीमा विद्यार्थीहरूका कहिले कापी बग्छन् । कहिले कलम । पुल निर्माणका लागि पटक–पटक माग गर्दा पनि कसैले नसुनेको उहाँले दुःखेसो पोख्नुभयो ।

‘चुनावका बेला ठुल्ठूला नेता प्रचारका लागि यही बाटो हिँडेका हुन् । हामीले हिँड्ने अर्काे बाटो छैन । पुल निर्माणका लागि वडादेखि माथिल्लो निकायसम्म माग गर्दै आएका छौँ । कसैले सुनेका छैनन्’, उहाँले भन्नुभयो । न्वाघरी नदी सेती नदीमा मिसिने गर्दछ । ‘आफूहरू एक्लै खोला तर्न सक्दैनौँ । सर म्याडमहरूकै भर पर्नुपर्छ’, कक्षा १० अध्ययनरत साङ्डाकी बिन्दु चन्दले भन्नुभयो ‘कापी किताब नभिजेको दिनै हुँदैन ।’ साङ्डा र थलारमा कक्षा ३ सम्म मात्रै पढाइ हुने भएकाले त्यसपछि उक्त टोलका बालबालिकाहरू गणेश माविमा जाने गरेका छन् ।

बजार जान पनि जोखिम मोल्नुपर्ने
पालिकाले निर्माण गरेको आरसिसी पुललाई दुई वर्ष अघिको बाढीले बगाएपछि यस्तो अवस्था सिर्जना भएको हो । उक्त ठाउँमा पुल नुहँदा विद्यार्थीलाई र शिक्षिकालाई मात्र नभई गाउँका वडा नम्बर ७ का स्थानीयहरूलाई बजारसम्म जान पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । न्वाघर, बगाली, न्यावलाली, खोला, काडा, चामा, कपडा इजर लगायतका टोलका स्थानीयहरू किनमेलका लागि बझाङ्को देउरा बजार पुग्ने गरेका हुन् । ‘किनमेल गर्न तथा अन्य कामकाजका लागि बझाङको देउरा बजार न्वाघरी गाडको बाटो भएर नै जानुपर्छ । स्थानीय भान बहादुर साउँदले भन्नुभयो ‘न्वाघरी नदीबाहेक अन्य ठाउँबाट विद्यालय र बजार जाने बाटोको कुनै विकल्प छैन । भएको एउटा मौरी भीरको बाटो त्यहाँ पनि झन जोखिम छ । जोखिम मोलेर नै बजार आउजाउ गर्नुपर्छ ।’

न्वाघरी नदीले बगाउँदा तीन जनाको मृत्यु भइसकेको छ । संघीयतापछि बनेको तीन तहको सरकार प्रदान गर्ने आधारभूत सेवा सुविधाबाट वञ्चित हुन नपर्ने अपेक्षा यहाँका नागरिकहरूको थियो तर सोअनुसारको काम नहुँदा उनीहरूमा निराशा छाएको छ । न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा संघ प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।
क्याप्सन ः साङ्डा र थलार टोलका गणेश माविमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई न्वाघरी नदी तराउँदै सोही विद्यालयमा अध्यापन गराउने शिक्षिका लक्ष्मी चन्द ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?