गाँस काटेर नौ सय बढी नेपालीलाई सहयोग गर्ने म्याग्दीका मनकारी पूर्ण रोका

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । भनिन्छ ‘धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन ।’ तर मन हुने हो भने सामाजिक सेवा र अरुलाई सहयोग गर्न धन नै चाहिन्छ भन्ने हुँदोरहेनछ भन्ने गतिलो उदाहरण बन्नुभएको छ म्याग्दीका पूर्णप्रसाद रोका मगर ।

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुँहू घर भै विगत २२ वर्षदेखि मलेशियाको एक कम्पनिमा इन्जिनियरको पदमा कार्यरत पूर्ण रोका मगरले यो दुई दशक बढीको अवधिमा नौ सय जना भन्दा बढी नेपालीहरुलाई आर्थिक सहयोग गरेर उदाहरणीय काम गर्नुभएको हो ।

२०५८साल असोज २२ गते वैदेशिक रोजगारीका लागि मलेशियामा जानुभएका ४२ वर्षिय रोकाले आर्थिक अभावका कारण उपचार गराउन नपाएका बिरामीहरु,विदेशमा दुःख पाएका नेपालीहरु,दैवी प्रकोप र मानवजन्य विपत्तिमा परेका व्यक्तिहरु,असहाय लगाएत नौ सय भन्दा बढी नेपालीहरुलाई आर्थिक र मानवीय सहयोग गरेर म्याग्देलीका साथै मलेशियामा रहेका नेपालीहरुको शिर उच्च बनाउने काम गर्नुभएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेशियाका उपाध्यक्ष सन्तोष सरगम विकले जानकारी दिनुभयो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेशियाका अध्यक्ष समेत रहनुभएका पूर्ण उदात्त मन र सहयोगी भावनाले पनि नाम जस्तै पूर्ण भएको मोना मलेशियाका महासचिव केशबहादुर रोकाले बताउनुभयो ।
“आफ्नो नामलाई पूर्णले व्यवहारबाट पनि सार्थक बनाउनुभएको छ,कसैको दुःख देख्न र सुन्न नसक्ने उहाँको स्वभाव छ,उहाँको यो स्वभावबाट हामीहरु पनि प्रभावित भएर दुःख पीडा र समस्यामा परेका नेपालीहरुलाई संस्थागत र व्यक्तिगतरुपमा सहयोग गर्दै आएका छौं” महासचिव रोकाले भन्नुभयो ।
आफ्नो बाबाबाट दुःखी गरिब र असहायहरुको सेवा र उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने प्रेरणा पाएको बताउने पूर्णले कसैलाई दुःख परेको थाहा पाउने वित्तिकै आफूलाई छट्पटी हुने र केही सहयोग गरुँ भन्ने हुट्हुटीले सताइरहने जानकारी दिनुभयो ।

“आफूसँग प्रशस्तै भएर होइन,आफूले खाने गास काटेर र अन्य खर्च घटाएर सहयोग गर्दै आएको छु” रोकाले भन्नुभयो “दाहिने हातले दिएको देब्रे हातलाई थाहा हुनुहुँदैन भन्ने मान्यतामा हुर्केको मान्छे हुँ म,सानो सानो सहयोगको पनि के प्रचार गरिरहनु र ? सहयोग गर्नु मानवीय कर्तव्य नै त हो नि,सकेको सहयोग सबैले गर्नुपर्छ” उहाँले भन्नुभयो ।

“धनको लोभले मान्छेको मन कहिल्यै पनि भरिदैन,जति धन सम्पत्ति भए पनि जाने (मर्ने) बेलामा आखिर खाली हात नै जाने हो” रोकाले यस संवाददातासँग म्यासेन्जरमा भन्नुभयो “जीवनमा जति बाँच्छुँ त्यति बेलासम्म मैले सक्दो सहयोग गरिरहन्छु ।”
धनको घमण्ड कसैले कहिल्यै पनि गर्न नहुने बताउँदै रोकाले भन्नुभयो “जीवनको के भरोसा छ र ? आज हो कि भोलि ! दुई दिनको घाम छायाँमय यो जीवनमा बाँचुन्जेलसम्म सकेसम्म अरुको भलाई हुने र मन छुने काम गर्न सकियोस्,मरेपछि पनि धेरैले सम्झन लाएकको बन्न पाए जीवन सार्थक हुन्छ जस्तो लाग्छ मलाई ।”

“तपाइँले सोधिहाल्नुभयो,मैले मेरो रेकर्डका लागि राखेको अभिलेख अनुसार नौसय जना बढी बिरामी,दुःखी गरिब र असहायहरुलाई रु एक हजारदेखि रु ५० हजारसम्म सहयोग गरेको रहेछु, मेरो सानो सहयोगले उहाँहरुलाई अलिकति भए पनि सजिलो भएको भए म अत्यन्त खुसी हुन्छु । उहाँहरुको आशिषले मलाई पनि राम्रै हुँदै आएको छ” रोकाले भन्नुभयो ।

रोका जस्तै विदेशमा रहेका म्याग्देलीहरु परोपकारी मनका धनी भएका प्रशस्तै उदाहरणहरु जिल्लामा छन् । प्रवासी म्याग्देलीहरुकै सहयोगबाट स्थापित ओम कुमारी शान्ति कोष आर्थिक अभावका कारण उपचार गराउन नसक्ने म्याग्देलीहरुका लागि बरदान सावित भएको छ ।
संसारका विभिन्न मुलुकमा रहेका म्याग्देलीहरुले जिल्लामा कुनै विपत्ति आइलाग्दा,आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदा मन खोलेर सहयोग गर्दै आएका ओमकुमारी शान्ति कोषका पूर्व अध्यक्ष एवम् म्याग्दीका अभियन्ता राजेश शाक्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?