विराज समाजको तीज विशेष कार्यक्रम

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विराज समाज काठमाडौंको साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

ओखलढुंगाका तीन गाविस बिगुटार, राँगादीप र जन्तरखानीबाट काठमाडौंमा आएर बसेका मानिसहरूले स्थापना गरेको समाजसेवी संस्था विराजको शुक्रबार सोह्रौं साधारणसा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेताहरू नाता र पैसाको पछि लाग्नाले हालका दिनहरूमा राष्ट्रमै सुशासन कायम हुन नसकिरहेका बेला आफू सुशासन समितिमा चयन भएको प्रसंग अघि सार्दै आफ्नो जिम्मेवारी निकै कठिन भएको बताउनुभयो । उहाँले लामो समयदेखि विराज समाजले गर्दै आएका कामको प्रशंसा पनि गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले लामो समयदेखि निरन्तर समाजसेवाका कामहरू गर्दै आएकोमा समाजको प्रशंसा गर्नुभयो । उहाँले तीज विशेष कार्यक्रममा उपस्थित हुनुभएका दिदीबहिनीहरूलाई शुभकामना पनि दिनुभयो ।

यसैगरी ओखलढुंगाका नेता बालकृष्ण दाहालले पनि विराज समाजको कामको प्रशंसा गर्नुहुँदै उपस्थित दिदीबहिनीहरूलाई शुभकामना दिनुभयो । विराज समाजका अध्यक्ष रामप्रसाद दाहालको सभापतित्वमा सञ्चालित कार्यक्रममा शिष्टाचार अभियानका सभापति सुमन दाहालले शिष्टाचारसम्बन्धी आफ्ना धारणाहरू प्रकट गर्नुभएको थियो ।

समाजका सल्लाहकार मुकुन्दराज दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने समाजका सल्लाहकार विनोद दाहाल, महिला संघकी केन्द्रीय सदस्य संगीता तामाङ, नेपाली कांग्रेस ओखलढुंगाका सदस्य प्रकाश दाहाल तथा कृष्ण खनाल, समाजका संस्थापक अध्यक्ष देवीप्रसाद दाहाल तथा पूर्वअध्यक्ष दिनेश मगर पनि उपस्थित रहनुभएको थियो ।

समाजका अध्यक्ष रामप्रसाद दाहालको निवास बेंसीगाउँ जोरपाटीमा सम्पन्न कार्यक्रमको सञ्चालन अधिवक्ता केशव दाहालले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा आफ्नो मिर्गाैला प्रदान गरी श्रीमान् भूपेन्द्र दाहाललाई जीवनदान दिनुहुने कमला भट्टराई दाहाललाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा रामप्रसाद दाहालकै अध्यक्षतामा कार्यसमितिको हेरफेरसमेत गरिनुका साथै आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरियो । उपसभापति भक्तबहादुर मगर, सचिव नारायण सापकोटा, सहसचिव गोविन्द दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, सदस्यहरूमा लेखनाथ दाहाल, खड्गबहादुर मगर, भगवती कार्की, सीता दाहाल पौडेल, शारदा दाहाल खतिवडा रहनुभएको छ । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापनसहित सभापति दाहालले कार्यक्रमको समापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?