खोटाङमा २९ प्रतिशत विद्युत महशुल अनलाइनबाट संकलन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका आधा ग्राहकहरूले अनलाइन प्रविधिबाट विद्युत महशुल तिर्ने गरेका छन् । लामो समय हिडेर कार्यालय पुगी लाईन लागेर महुशल तिर्दै आएका ग्राहकहरू अब, भने अनलाइन प्रविधिबाट घर तथा कार्यस्थलबाटै महशुल तिर्न थालेका हुन् ।

आर्थिक वर्ष २०७९/२०८० मा ८२ हजार ४५५ वटा ग्राहक रसिद काटिएकोमा अनलाइन प्रविधिबाट ३९ हजार ४२८(४७.८२) जना ग्राहकले एक करोड ९० लाख ३१ हजार ९१७(२९.५७)रुपैयाँ अनलाईन प्रविधिबाट महशुल तिरेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार दिक्तेल वितरण केन्द्र काउण्टर, हलेसी काउण्टर, खोटाङबजार काउण्टर, चिसापानी काउण्टर, बाघेढुंगा काउण्टर, बराहापोखरी काउण्टर र बराहापोखरी गाउँपालिका काउण्टर गरी सात काउण्टरबाट ४२ हजार १७ जनाले चार करोड ५३ लाख ३० हजार १७२ रुपैयाँ विधुत महशुल तिरेका छन् ।

वितरण केन्द प्रमुख इन्जिनियर विजयराज रेग्मीका अनुसार कूल काटिएको ग्राहक रसीदबाट अनलाईन र काउण्टर गरी गएको आर्थिक वर्षमा छ करोड ४३ लाख ६२ हजार ९० रुपैयाँ महशुल संकलन गरिएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७९/२०८० मा ४५ लाख २५ हजार ४१६ रुपैयाँ वक्यौता महशुल संकलन गरेको छ । गएको आर्थिक वर्षमा लाईन काटेर पुनः जोडेका ८८९ जना ग्राहकबाट ७१ लाख ९ हजार ४३६ रुपैयाँ महशुल उठाइएको छ ।

२०५७ जेठ २० गते जलजले सब-स्टेशनदेखि ३३ केभी लाईनमा ११ केभी लाइन प्रवाह गरी सुरुवात भएको विधुत सेवाका हालसम्म २४ हजार ६४२ घरधुरी अर्थात ४० हजार ग्राहक छन् ।

प्राधिकरणले जलजले सब–स्टेशनदेखी ११ केभी लाइनलाई अपग्रेड गरी ३३ केभी लाईन बुईपासम्म (११२.१०किलोमिटर) दुरीमा विद्युत ल्याएर बुईपामा ६/८ र लिच्किराम्चेको बाघेढुंगामा ३ एमभिए सब-स्टेशन सञ्चालन गरिरहेको छ ।

कुन पालिकामा कति विद्युतीकरण ?
प्राधिकरणका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९७.२३ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ९१.०२ प्रतिशत, खोटेहाङ गाउँपालिकामा ८०.६२ प्रतिशत, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ९३.४८ प्रतिशत, ऐसेलुखर्क गाउँपालिकामा ५९.३६ प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा ४१.३८ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ४२.८५ प्रतिशत, बराहापोखरी गाउँपालिकामा ४२.७६ प्रतिशत, रावाबेंशी गाउँपालिकामा ९९.८२ प्रतिशत र साकेला गाउँपालिकामा ९६.९० प्रतिशत विद्युुतीकरण भएको छ ।

पूर्ण विद्युतीकरणका लागि आर्थिक वर्ष २०७९/२०८० मा एक अर्व वजेट विनियोजन भई केन्द्रीय कार्यालयबाट वोलपत्र आह्वान भई १८ महिनामा काम सक्नेगरी जन्तेढुंगा गाउँपालिका, बराहापोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुर्खक गाउँपालिकामा धमाधम विद्युतीकरणको काम भइरहेको छ । अन्य स्थानीय निकायको छुट स्थानहरूमा चालू आर्थिक वर्षका लागि १० करोड वजेट माग गरिएको जनाइएको छ ।

एक आर्थिक वर्षभरी खोटाङमा ७० लाख ३१ हजार २९३ युनिट विद्युत खपत भएको छ । वर्षभरी स्थानीय हाइड्रोपावरबाट ३ करोड ७२ लाख ५१ हजार ८० युनिट विद्युत प्राप्त भएकोमा जिल्लामा ७६ लाख ६६ हजार ७० युनिट खपत भएको र वाँकी युनिट जलजले र ओखलढुंगा पठाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?