भदौ अन्तिम सातादेखि अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि शुरु हुने भएको छ ।

नेपाल तेक्वान्दो संघले आईतवार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो । नेपालस्थित दक्षिण कोरियाको दुतावास र संघको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो ।

यस अघिका संस्करण राष्ट्रियस्तरमा मात्र सिमित थियो । च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन् । नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९ औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो ।

यस च्याम्पियनसिपमा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले बताउनु भयो । पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) मा ३२ गरी कुल ५७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । ती देशका खेलाडी पनि एसियाडको तयारीमा रहेकाले दोस्रो रोजाइका खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने सो समितिअन्तर्गत १० वटा उपसमितिहरू छन् । प्रतियोगिताका लागि ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरु तय गरिएको संघले जनाएको छ ।

प्रतियोगिताको लागि करिब ३५ लाख लागत लाग्ने आयोजक जनाएको छ । त्यसमा कोरियाली दुतावासबाट करिव पाँच हजार अमेरिकी डलर र प्रतियोगिताका लागि खेलाडी दर्ताबाट करिव १७ लाख रुपैयाँ प्राप्त हुने संघका उपाध्यक्ष चन्दले जानकारी दिनुभयाे । प्रतियोगिता सञ्चालन गर्न बाँकी रकम भने संघले व्यवस्थापन गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?