कालीकोटका हिक्मतजंग मल्ललाई ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ प्रदान गरिँदै

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ कालीकोटका हिक्मतजंग मल्ल, बझाङकी गंगुदेवी खडायत र काठमाडौं स्थायी घर भई हाल जुम्लामा कार्यरत डाक्टर सुवी बस्नेतलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनौट समितिकी संयोजक सम्झना पौडेलको संयोजकत्वमा आईतबार एक्सन वर्क्स नेपाल को मुख्य कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

कालीकोटका मल्ल विक्रम संवत् २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आइरहनुभएको छ । उहाँले कोरोना कालमा १ हजारदेखि १२ सय जना कोरोना पीडितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गर्नुभएको थियो । यस्तै उहाँले जातीय छुवाछूत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहनुभएको छ ।

युवा समाजसेवीका रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको मल्लले कालीकोटमा भएका सामाजिक विकृति र विसंगतिसँगै जातीय विभेद, बालबिवाह न्यूनीकरण र सधैं जस्तो अभाव र समस्या हुने शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आइरहनु भएको छ ।

जिल्लामा भएका समस्यालाई स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्रीय स्तरसम्म जनताका समस्यालाई मूल मुद्दाका रुपमा प्रस्तुत गर्नुका साथै समस्या समाधानको उपाय समेत खोज्जे गर्नुभएको छ । मल्लले केही समय अगाडि कालीकोटमा रहेको सरुवा रोग अस्पताल खारेज हुन नदिनका लागि उच्च अदालतमा रिट दायर समेत गर्नुभएको थियो ।

साथै मल्लले कालीकोटकी निरु विकको न्यायका लागि काठमाडौंदेखि कालीकोटसम्म विभिन्न समयमा सडक संघर्ष समेत गर्दै आइरहनु भएको छ ।

यस्तै बझाङकी गंगुदेवी खडायतले जिल्लामा पहिलो पटक हलो जोत्नु भएको थियो । उहाँ पनि महिलाको हक हितको लागि, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा लाग्दै आइरहनु भएको छ ।

यस्तै डाक्टर सुवी बस्नेत संघीय राजधानी काठमाडौंबाट विकट कर्णालीमा बसेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आइरहनु भएको छ ।

उक्त पुरस्कार अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा असोज ४ गते प्रदान गरिने पुरस्कार छनौट समितिकी संयोजक सम्झना पौडेलले जानकारी दिनुभएको छ ।

एक्सन वर्क्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो ।

उक्त पुरस्कार राशीमा एक्सन वक्र्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरेको थियो । सोही रकमबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिँदै आइएको छ ।

संस्थाले प्रत्येक वर्ष स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

गत वर्ष उक्त पुरस्कार कालीकोटका कालीबहादुर शाही, जुम्लाकी गाँडे नेपाली र जुम्लाकै मिनराज शर्मालाई प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?