बिपी साहित्य महोत्सव

कोइराला नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयमिक व्यक्तित्व : देउवा

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा आइतबारदेखि बिपी साहित्य महोत्सव सुरु भएको छ । बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आयोजित भेला भदौ २६ गतेसम्म चल्नेछ । महोत्सवको आइतबार सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको बताउनुभएको छ । उहाँले बिपीले राजनीतिक रूपमा मात्रै नभएर साहित्यिक रूपमा पनि देशलाई उल्लेख्य योगदान गरेको भन्दै स्मरण गर्नुभयोे । देउवाले बिपीको बहुआयमिक व्यक्तित्व र प्रतिभाको चर्चा गर्नुटभयो, ‘बिपी नेपाली राजनीतिको विशिष्ट र बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ । उहाँका साहित्य अहिले पनि उत्तिकै शक्तिशाली छन्,’ उहाँले भन्नुभयो । सभापति देउवाले बिपीले साहित्य पनि सत्य घटनामा आधारित भएर लेख्ने गरेको सुनाउनुभयो । ‘मैले एकपटक श्वेतभैरवी पढिसकेपछि उहाँलाई सोधेको थिएँ,’ देउवाले अघि भन्नुभयोे, ‘त्यसबेला मैले कथाको कुरा सोध्दा उहाँले घुँडामा रहेको घाउ देखाउनुभएको थियो । त्यसकारण उहाँले लेखेका कथा पनि सत्य घटनामा आधारित हुन्थे । उहाँको साहित्य पनि समाज र वरपर भएका घटनाहरू नै हुन्थे ।’

महोत्सवमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए । उनीहरूले कार्यक्रमस्थलमै राखिएको क्यानभासमा इच्छाअनुसार रङ भर्ने र तीन दिनको कार्यक्रम समाप्तिसम्ममा बन्ने आकृति प्रदर्शनीका लागि कालान्तरसम्म संरक्षण गरिने कांग्रेसले जनाएको छ । कार्यक्रममा सहभागी राजनीतिक विश्लेषकहरूले बिपीको पार्टी नेपाली कांग्रेसले पनि आलोचना र प्रश्न सुन्न छाड्दै गएको बताएका छन् । ‘बिपीको दृष्टिमा बिपी सेसन’मा बोल्दै विश्लेषक सिके लालले वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने आत्मविश्वास र साहस नभएको बताउनुभयो ।

‘अहिलेको समसामयिक समाज र राजनीतिको चुनौती नै के हो भने प्रत्येक व्यक्तिभित्र डर र भय छ,’ उहाँले भन्नुभयो, ‘उसले प्रश्नको सामना गर्न सक्दैन ।’ ज्ञानले भयलाई हटाउन सक्ने उहाँले बताउनुभयो । ‘विश्वविद्यालयमा पढेर मात्र ज्ञान प्राप्त हुँदैन, आत्मचिन्तन हुनुप¥यो । त्यसका लागि अध्ययन हुनुपर्‍यो,’ उहाँले भन्नुभयो ।

उहाँले विश्वविद्यालय एकपक्षीय सोच निर्माण गर्ने ठाउँ भएको भन्दै विश्वविद्यालयको भूमिकामै प्रश्न उठाउनुभएको थियो । अर्का राजनीतिक विश्लेषक कृष्ण खनालले बिपीका विचारलाई पार्टीले अँगाल्न नसकेको बताउनुभयो । सेसन संयोजक विश्वप्रकाश शर्माले बिपी आलोचना र प्रश्न चाहने नेता भए पनि वर्तमान राजनीति दल र उसका नेता पपुलिज्ममा रमाउन थालेको भन्दै प्रश्न गर्नुभएको थियो ।

अहिले दलहरू र नेतामा अहंकार हाबी भएको उहाँको भनाइ थियो । प्राध्यापक खनालले बिपीको समयमा जस्तो चरित्र अहिले नभएको भन्दै अहिलेका पात्रहरूलाई बिपीसँग तुलना गर्नै नसकिने बताउनुभएको थियो । ‘बिपीले आफ्नो आलोचना गरिदिन पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो । तर, अहिले म प्रधानमन्त्री भइसकेँ, सभापति भइसकेँ । मैले भनेको नमान्ने भनेर हप्काउने नेताहरू छन्,’ खनालले भन्नुभयोे, ‘चरित्र गुमाएको राजनीतिका पात्रहरूमा बिपी खोज्न सकिँदैन ।’

उहाँले बिपीसँग तुलना गर्न योग्य पात्र राजनीतिमा नरहेको बताउनुभएको छ । साहित्य बुझ्नका लागि रचनागर्भ बुझ्न जरुरी रहेको भन्दै उहाँले बिपीलाई बुझ्न पनि त्यस समयको वास्तविकता बुझ्नुपर्ने बताउनुभयो ।

अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छ : कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताउनुभएको छ । ११०औँ बिपी जयन्तीको अवसरमा आइतबार हेटौँडा-११ को नवलपुरमा बिपीको शालिक अनावरण गर्न हेटौँडा पुग्नुभएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउनुभएको हो ।

कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भनेर भन्नुभयो । सुर्खेतमा गएर एक-दुई महिनाभित्र डेढ-दुई लाखजना मानिस सडकमा उतार्छौँ भन्नुभयो ।’ नेता कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौँ र जातीय राज्य बनाउँछौँ भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याउनुभयो ।

उहाँले राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरूप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताउनुभयो । उहाँले सबै कांग्रेसी कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नसमेत आग्रह गर्नुभयो । बिपीले भन्नुभएको सिद्धान्तअनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट वञ्चित हुनु नपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहुँच हुनुपर्ने कुरालाई राज्यले अँगाल्न नसकेकोमा आफूलाई दुःख लागेको भावुक हुँदै बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?