मुस्ताङको कागखोलालाई पुरानै धारमा फर्काइयो

हिमालय टाइम्स
Read Time = 4 mins

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ को कागखोलालाई पुरानै धारमा फर्काइएको छ। गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो।

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।

‘करिब २० दिन डोजर परिचालन गरेर खोलालाई प्राकृतिकरूपमा बगेको धारमा फर्काइएको छ,’ उहाँले भन्नुभयो, ‘क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएका छौं।’

बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

‍खोला वारपार गर्न काठको प्रयोग गरेर अस्थायी पुल बनाइएको छ । बस्तीमा पसेको बाढीलाई पन्छाउन डोजर परिचालन गरिएको छ। घरभित्र पसेको लेदो फाल्ने र सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको स्थानीयवासी धारा गुरुङले बताउनुभयो ।

स्थानीयवासीहरूले श्रमदान गरेर कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल बनाइएको छ। पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ।

कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम-कोरला सडकमा साना सवारी साधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ। जोमसोम-कोरला सडकमा यातायात सञ्चालन भएको छ।

भवनमा बाढी पसेपछि बन्द भएको कागबेनीको जनशान्ति माविको पठनपाठन दश दिनपछि सञ्चालन आइसकेको शिक्षक मनवीर किसानले बताउनुभयो ।

खानेपानी र विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ। कागबेनीको बाढी व्यवस्थापन गर्न छिमेकी गाउँपालिका, स्थानीयवासी, सुरक्षा निकायले सघाएका गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

कागखोलाको बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ। नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ।

सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण संकलन गरिएको थियो।

व्यक्तिका ५० वटा घरमा ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । उक्त बाढीबाट २९ वटा घरमा पूर्ण क्षति पुगेको छ। नौवटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका थिए। रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?