नेपाली अर्थतन्त्रका द्रष्टा : बीपी कोइराला

हिमालय टाइम्स
Read Time = 24 mins

✍️ डा. तुलसी भट्टराई

‘बहुदलीय व्यवस्थाको मूल आधार राष्ट्रियता र प्रजातन्त्र हो । राष्ट्रियता र प्रजातन्त्रको आधार समाजवादी अर्थव्यवस्थाको उचित परिचालन हो । बहुदलीय व्यवस्था सबल र सक्षम बनाउन स्वतन्त्रता र मानताको प्रमुख भूमिका रहेको हुन्छ । र, यी सबैको मूल आधार आर्थिक समुन्नति हो । आर्थिक विकास नभएसम्म सामाजिक व्यवस्था स्थिर हुन सक्तैन । समाज अस्थिर भएमा राष्ट्रियतामाथि नै आघात पर्न आउँछ ।’ बीपी कोइरालाको आर्थिक विषयक भनाइको सारतत्व नेपालका सन्दर्भमा अत्यन्त सटिक रहेको छ । यसलाई व्यावहारिक पक्षमा प्रयोग गर्न सकिन्छ ।

‘आर्थिक विकासको अर्थ कतै एउटा बाटो र कतै एउटा कारखाना खोल्नु होइन । त्यो हो सम्पूर्ण जातिको विकासप्रति चाख र जाँगर । ‘समस्त’ परिवर्तनको आधार आर्थिक व्यवस्थाको परिवर्तन हो ।’ बीपीले एउटै वाक्यमा आर्थिक व्यवस्थाको महत्वबारे प्रष्ट पार्नुभएको छ । आर्थिक व्यवस्थाको परिवर्तनले मात्र अन्य सम्पूर्ण प्रकारका परिवर्तनका आधार तयार हुनसक्छन् । माक्र्सको आर्थिक पक्षसँग मेल खाने बीपीको उक्त भनाइलाई कुनै साम्यवादीले पनि उछिन्न सक्तैन ।

सानो काम गरेर ठूलो हाँक गर्ने प्रवृत्ति रोक्न बीपीको भनाइ एउटा सार्थक उदाहरण बन्न सक्छ । हामीहरूमा कामभन्दा बोली र हाँक गर्ने प्रवृत्तिको विकास भएको छ । सैद्धान्तिक हाँकभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिने बीपी कोइराला समाज एवं राष्ट्रको उत्थान र विकासका लागि समग्र रूपमा आर्थिक क्रान्ति गर्नुपर्ने विचार राख्नुुहुन्छ । क्रान्ति केवल राजनीतिक परिवर्तनका लागि मात्र गरिने संघर्ष होइन । क्रान्ति एउटा व्यापक विषय हो । ऋतु परिवर्तनका आधारमा ‘संक्रान्ति’ नामबाट महिना परिवर्तन हुने गर्छ । यसमा व्यापक परिवेश छ । संक्रान्तिको प्रत्येक फड्कोले जाडो, गर्मी, वर्षा, समानताको बोध हुन्छ । प्रत्यक्ष अनुभव गर्न, पाउन सकिन्छ ।

बीपी कोइरालाको आर्थिक विकासको नमुना आफ्नै ढंगको छ । अरूको नक्कल गर्नुभन्दा आफ्नो वा अन्य विभिन्न पक्षका आधारमा आर्थिक कार्यक्रम दिनुपर्ने कुरामा जोड दिनुभएको छ बीपीले । उहाँको व्याख्यामा प्रजातान्त्रिक समाजवादी आर्थिक कार्यक्रम छुट्टै प्रकारको नेपालजस्तो मुलुक सुहाउँदो योजना थियो । 

क्रान्तिलाई बीपीले यस्तै व्यापक रूपमा ग्रहण गर्नुभएको छ । यो प्रत्येक परिवर्तनसँग गाँसिन्छ । राष्ट्रभित्रका सबै पक्षमा परिवर्तन ल्याउनुपर्दा कुनै न कुनै संघर्ष गर्नुपर्छ । त्यसैलाई क्रान्ति भने हुन्छ । बीपी कोइराला आर्थिक क्रान्ति र राजनीतिक क्रान्तिलाई एक अर्काका पूरक र परस्पर समन्वय रहने विषय मानुहुन्छ । अर्थात् कुनै पनि व्यवस्था सञ्चालनमा राजनीतिक परिवर्तन एउटा ‘तयारी’ हो भने आर्थिक परिवर्तन–एउटा प्रक्रिया हो । जबसम्म ‘तयारी’ र ‘प्रक्रिया’का बीच समन्वय आउँदैन, कुनै पनि विकास सम्भव छैन भन्ने कुरालाई बीपीले आफ्नो चिन्तनमा प्रयोग गर्नुभएको छ ।

राजनीतिक परिवर्तन अर्थात् नयाँ व्यवस्थाको सञ्चालन एउटै तयारी वा संघर्षबाट हुनसक्छ तर आर्थिक परिवर्तन वर्षौंवर्ष चल्ने निरन्तर प्रक्रिया हो । एउटै परिवर्तनबाट आर्थिक विकास सम्भव हुँदैन । कुनै नयाँप्रकारको आर्थिक योजना सञ्चालन गरेर समाजमा व्यापक परिवर्तन ल्याउन वर्षौ कुर्नुपर्ने हुन्छ । जनतालाई समानता-आर्थिक समानताको बराबरीको अर्को नारा दिएर दिशाभ्रम गराउने राजनीतिक पार्टीहरूप्रति बीपी कोइरालाले सधैं सचेत रहनुपर्ने विश्व उदाहरण दिनुभएको छ- आफ्ना विचारहरूमा । यस्तो चर्को नाराले थोरै व्यक्तिको अधिनायकत्व पूरा हुनसक्छ तर समाज जस्ताको तस्तै रहन्छ ।

बीपी कोइरालाको आर्थिक विकासको नमुना आफ्नै ढंगको छ । अरूको नक्कल गर्नुभन्दा आफ्नो वा अन्य विभिन्न पक्षका आधारमा आर्थिक कार्यक्रम दिनुपर्ने कुरामा जोड दिनुभएको छ बीपीले । उहाँको व्याख्यामा प्रजातान्त्रिक समाजवादी आर्थिक कार्यक्रम छुट्टै प्रकारको नेपालजस्तो मुलुक सुहाउँदो योजना थियो । विकसित मुलुकहरूको जस्तो औद्योगिक विकास र आर्थिक योजना दिएर नेपालमा सम्भव छैन । नेपालमा ससाना लघु उद्योग, कुटिर उद्योग, लघुयोजनाहरूको व्यापक थालनी गरेर अर्थात् केही व्यक्तिका हातमा मात्र आर्थिक विकासको उद्योग, व्यवसायको जिम्मा नदिएर सर्वसाधारणबाट दीर्घकालीन रूपमा आर्थिक विकास गराउनुपर्ने कुरामा बीपीको जोड रहेको छ ।

उपभोग्य वस्तु र भोजनको व्यवस्था, आवास र कपडाको व्यवस्था जो मानवीय पक्षका आधारभूत विषय हुन्, यी चिज आफ्नै स्रोत र साधनद्वारा अनि श्रमद्वारा पूरा हुन सक्नुपर्छ । यदि यति पनि हुनसकेन भने राष्ट्रको आर्थिक विकासको पूर्वाधारसमेत तयार नभएको मान्नुपर्छ । बीपीले यसरी सचेत पार्नुभएको छ । अहिले नेपालमा प्रजातान्त्रिक परिवर्तनपछि विकासका नयाँ आयोजनाहरू सैद्धान्तिक रूपमा थालनी भएका छन् तापनि व्यावहारिक पक्ष जस्ताको तस्तै छ ।

सामाजिक, राजनीतिक र आर्थिक तीनवटा पक्षको परस्पर अन्तरसम्बन्धको कुरा गर्दा तुलनात्मक रूपबाट हेन सकिन्छ- पहिलेको व्यवस्था र आजको व्यवस्थाका बीच कति फरक छ- भन्ने कुरा । यी तीन तत्व सामाजिक खुला समाज, न्याय र सान्जस्य । राजनीतिक-स्वतन्त्रता, समानता र जनसहभागिता । आर्थिक-समान अवसर, लोककल्याणकारी आर्थिक योजना, स्वदेशी निजी एवं सार्वजनिक-उद्योगलाई प्राथमिकता, स्वतन्त्रता आत्मनिर्भर अर्थतन्त्रको सामञ्जस्य, समन्वय र परस्पर पूरक आधारमा संयोजन हुनसक्नु नै प्रजातन्त्रको सुदृढीकरण हो ।

संविधान अनुसार चल्ने प्रजातान्त्रिक पार्टीले यस विषयलाई राम्ररी बुझेको हुन्छ । अहिले नेपाली कांग्रेसको घोषणा र आयोजनाहरू हेर्दा जननेता बीपी कोइरालाको आर्थिक विचारको पूर्ण अनुसरण गरेको देखिँदैन । अझ पनि नेपाली समाजको, नेपाल राष्ट्रको समग्र आर्थिक उन्नति गर्न बीपी कोइरालाका आर्थिक सिद्धान्त र विचारलाई प्राथमिकता दिनुपर्छ ।

नेपाली आर्थिक जीवनका तथ्यहरू प्रत्येक राजनीतिकले राम्ररी बुझ्नुपर्छ । देशलाई आदिम अवस्थापछि एक्कासी पूर्ण विकासको जटिल अवस्थामा पुर्‍याउने काल्पनिक ठूलठूला योजनाहरूको सट्टा अनाटकीय र स-साना साधारण किसिमका योजनाबाट सन्तुष्टि लिनुपर्छ । जुन योजनाहरूमा गाउँगाउँमा पाइने दीनहीन हलोको अझै महत्व रहनेछ । अर्थात् समस्या यो होइन कि कसरी हलोको ठाउँमा ट्याक्टर राख्ने । समस्या छ, हलोबाट कसरी बढीभन्दा बढी आर्थिक लाभ उठाउने छ ।’

बीपीको उक्त भनाइ नेपाली आर्थिक नीतिको गीतादर्शन हो । यही एउटा उदाहरणमा सम्पूर्ण आर्थिक नीति र सिद्धान्त अटाएको छ । पैतीस-छतीस वर्षअघिको यो योजना आज पनि उस्तै छ । हामीले थोरै पनि परिवर्तन गर्न सकेका छैनौं । नेपाल त्यहीँ छ जुनबेलाको यो विचार हो ।
व्यक्तिको–निजी क्षेत्रको शोषणा र राज्यस्तरको शोषण दुवैतिरबाट मुक्त पारेर स्वतन्त्र र आत्मनिर्भर नागरिक बनाउनु प्रजातान्त्रिक समाजवादको अर्को विशेषता हो । प्रत्येक योजना र कार्यक्रम जनस्तरबाट सञ्चालन गराउने र ग्रामीण विपन्न वर्गलाई प्रोत्साहित गर्नसक्ने आधार तयार पार्ने÷‘सहकारिता’ विकृन्द्रीकरण आयोजनालाई प्राथमिकता दिने । व्यापारिक क्षेत्रमा राष्ट्रियस्तरका पुँजीपतिहरूलाई खुला आर्थिक प्रणालीका आधारमा निष्पक्ष, स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धा गर्नसक्ने वातावरण तयार पार्ने । यस निम्ति सरकारी पक्षबाट आवश्यक सहयोगको समेत जुटाइदिनुपर्ने हुन्छ । मुख्य कुरा समाजको बहुसंख्यक तल्ला वर्ग- उपल्लो वर्गबाट शोषित नहोस् भन्न समुचित व्यवस्था हुनुपर्छ ।

स्वदेशी उत्पादन र स्वदेशी उद्यमीको संरक्षण गर्नु प्रजातान्त्रिक समाजवादको अर्को प्रत्येक क्षेत्रमा-कृषि, उद्यम र व्यवसाय आदिमा जनसहभागिता गराएर, जनआस्था बटुल्न सक्नु प्रजातान्त्रिक समाजवादको आदर्श हो । सामूहिक खेती, सहकारी खेती वा उद्यम अर्को विशेषता हो । परम्परागत मान्यता र धाराणालाई समय अनुसार परिवर्तन गरेर वैज्ञानिक युग सुहाउँदो बनाउनु समाजवाद हो । सामन्ती परम्पराको भूस्वामित्व समाप्तपारेर जसको जोत उसको पोत नीतिलाई व्यवहारमा उतार्न, कमैया र भूपतिको द्वन्द्व समाप्त गर्नुपर्छ ।

नेपालको कृषिमूलक अर्थव्यवस्थालाई पुँजीमूलक पार्दै लैजानका लागि, ठाउँ र प्रकृति, जनआस्था र क्षमता अनुसारका उद्योग व्यवसायलाई प्रोत्साहित गर्न सक्नुपर्छ । शिक्षा र योग्यता अनुसार रोजगारी दिनसक्नु राजनीतिक दायित्व हो र यो दायित्व प्रजातान्त्रिक समाजवादी सरकारले बहन गर्नसक्छ । बीपीको अवधारणा यही रहेको छ ।

एउटा असल मान्छेको शब्दचित्र
दामोदर कोइरालाको वंशमा दुम्जा, (सिन्धुली)मा नन्किेश्वर कोइराला नामबाट निकै प्रभावशाली व्यक्ति भए । उनका चार भाइ छोराहरूमध्ये कान्छा छोराको नाम कृष्णप्रसाद थियो । पछि यी कृष्णप्रसाद कोइराला विराटनगरमा गएर बसोवास गर्न थाले । व्यापार ठेक्का पट्टामा निपुण कृष्णप्रसाद कोइराला विराटनगरको आधुनिकीकरण पिता मानिन्छन् ।

त्यस युगका ठूला समाजसेवी कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाको प्रथम सन्तानका रूपमा विसं १९७१ भदौ २४ गते (सन् १९१४ सेप्टेम्बर ८ तारिख) का दिन एउटा बालकको जन्म हुन्छ । नक्षत्रअनुसार चूडामणि नाम रहन्छ त्यस बालकको । र यिनै बालक पछि गएर विश्वेश्वरप्रसाद कोइरालाका नामबाट परिचित हुनपुग्छन् ।

नेपाली जगत्मा प्रजातन्त्रका पयार्य बनेका विश्वेश्वरप्रसाद कोइरालाको जीवन यात्रा बडो अनौठो, सामान्य जीवनसँग तुलना गर्न नसकिने खालको छ । उहाँ आफैंले एक ठाउँमा भन्नुभएको छ, ‘मेरो जन्म एउटा द्विविधामा भएको हो । जन्मिने घडी मैले आफ्नो अड्डीपनको पूरा परिचय दिएँ । म माथि त्यसदिन बल प्रयोग गरेको हुनाले हो कि किन हो म जीवनमा आजसम्म विद्रोही रहेँ । मेरो जीवनमा त्यसै दिनदेखि विद्रोहको बीज रोपिएको होला ।’ यो भनाइ बीपी आफू जन्मदाको प्रसंगसँग जोडिएको छ । त्यसबेला अप्रेसन गरेर पेटबाट बच्चा जन्माउनु भनेको अनौठो कुरा थियो । बीपीलाई पेटबाट अप्रेसन गरेर जन्माइएको थियो ।

विराटनगरको भव्य, ऐश्वर्यसम्पन्न परिवार । प्रतिष्ठित समाजसेवी कृष्णप्रसाद कोइराला । जसको हजारौं बिघा खेती, घोडाको अस्तबल, सयौं गाई भैंसी गोठ र बगैँचा थिए । ठूलो व्यापारका मालिकमात्र थिएनन् कृष्णप्रसाद । उनले विराटनगर कालिमन्दिरको स्थापना गरेका थिए । पार्टी, पौवा र धर्मशालाहरू बनाएका थिए । कैयौं पाठशालाहरू खोलेका थिए र अस्पतालको समेत स्थापना गराएका थिए । पूर्वाञ्चल भेगमा कृष्णप्रसाद कोइरालालाई त्यसबेला नचिन्ने को थियो होला र ?

अनि चन्द्र शमशेरले पनि राम्रै गरी चिनेछन् र यस्तो सम्पन्न परिवार एकै पटक सुकुम्बासी बन्न पुग्यो र भारतमा निर्वासित भयो र यही निर्वासन कालमा बीपी कोइरालाको जन्म भएको थियो । ‘म राजनीतिमा गहिरिएर लागेको व्यक्ति हुँ । म समाजका राम्रो संरचनामा दिलचस्पी लिन्छु । म राम्रो समाजोपयोगी नियम कानुनको व्यवस्थाको पक्षपाती छु । तर कलाकार साहित्यकार नियम-कानुन नमान्ने जमात हो । असल अर्थमा ऊ अत्यन्त व्यक्तिवादी हुन्छ । उसको निष्ठा आफ्नो अनुभव, आफ्नो अन्तस्करणको सानो मधुरो आदेशप्रति कलाकार विद्रोही हुन्छ र असामाजिक प्राणी । नयाँ दिशाको सन्धानमा रत । नयाँ सत्यको खोजीमा लागेको प्राणी । म चाहन्छु कि तपाईँ इमानदार बन्नुहोस् आफूप्रति । आफूभन्दा बाहिरको सत्य या मापदण्ड नखोज्नुहोस् ।’

किशोर उमेरमा नै पहिलोपल्ट राजनीतिक अभियोगमा जेल पर्नुभएका बीपी कोइरालाले वास्तवमा कहिल्यै पनि आफूभन्दा बाहिरको मापदण्ड खोज्नुभएन । उहाँले मौलिक चिन्तन र मौलिक विचार दिनुभएको छ ।

आफ्नो पचास वर्षे राजनीतिक जीवनमा होस् अथवा चालीस वर्षे साहित्यिक यात्रामा होस् सधैं एकनास रहृयो बीपीको सोचाइ । आफ्नो निर्णयमा सदा अटल । ‘मलाई त लाग्छ मानव सुखका साथसाथै पाप भावना पनि त्यसको छायाँ जस्तै टाँस्सिएको हुन्छ ।’ बीपी सम्भवतः यसै विचारले होला व्यक्तिगत सुखको खोजीमा लाग्नुभएन । उहाँ सबैको हित हुने काममा मात्र लाग्नुभयो ।

किशोर उमेरमा नै पहिलोपल्ट राजनीतिक अभियोगमा जेल पर्नुभएका बीपी कोइरालाले वास्तवमा कहिल्यै पनि आफूभन्दा बाहिरको मापदण्ड खोज्नुभएन । आफ्नो पचास वर्षे राजनीतिक जीवनमा होस् अथवा चालीस वर्षे साहित्यिक यात्रामा होस् सधैं एकनास रहृयो बीपीको सोचाइ । आफ्नो निर्णयमा सदा अटल ।

व्यक्ति-अस्मिता-मानव मूल्यको स्थापना गर्नमै आफ्नो समग्र जीवन अर्पिने बीपीले आफ्ना कृतिहरू तथा रचनाहरूका माध्यमले पुराना जीर्ण-निष्प्राण भइसकेका मूल्य र मान्यतालाई ध्वस्त गर्ने परिस्थितिको सिर्जना गर्नुभएको छ । उहाँका राजनीतिक चिन्तनहरू-विद्यार्थीहरूलाई सन्देश होस् अथवा तरुणहरूका बारेमा लेखिएको होस् अथवा समग्र कार्यकर्ताका बारेमा लेखिएका हुन् सबैमा नैतिक बल, आदर्श र सिद्धान्तका कुरा छन् । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र अन्य विविध पक्षमा लेखिएका प्रायः सबै रचना मानवमूल्य उत्थानका निम्ति छन् ।

राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी बीपी कोइराला व्यक्ति एक, व्यक्तित्व अनेक भएका विश्वका थोरैमध्ये पर्नुहुन्छ । उहाँका यी दुवै व्यक्तित्व अटाउन गाह्रो छ यो सानो लेखमा । १९९२ सालमा ‘शारदा’ले जन्माएका लेखकहरूमध्ये सामाजिक आदर्श अँगाल्ने मैनाली, बौद्धिक विश्लेषणका प्रयोक्ता-सम, यौन मनोविज्ञानको नयाँ प्रयोग र मनोविश्लेषण गर्ने कोइराला त्यस बेलाका ‘त्रिमूर्ति’ प्रमुख हुन् ।

‘मान्छे आत्मा मात्र भइदिए त हुन्थ्यो नै तर ऊ शरीर पनि हो ।’ बीपीको दोषीचश्माभित्र केशराजका खुल्दुली, ‘पवित्रा’की पवित्राको प्रत्येक परित्यक्ता नारीव्यथा । दमित वासनाबाट श्वेत भैरवी बन्न पुगेकी फगुनीको कथा । यौन कुण्ठा र विकृतिकी शिकार ‘कर्नेलको घोडा’ की कर्णेल्नी । अथवा अन्य विधिन्न कथाहरू नै हुन् सबैतिर बीपी कोइरालाको स्पष्ट अभिव्यक्ति छ ।

‘तीन-घुम्ती’की इन्द्रमाया अथवा किरात संस्कृति र हिन्दू संस्कृतिको समन्वय-सम्मिश्रण-गाथा-‘सुम्निमा’ भनौं । पुराना मुल्य र मान्यता ध्वस्त हुने परिस्थिति सिर्जिएको ‘नरेन्द्र दाइ’, पूर्वीय संस्कृति र युरोपेली स्वच्छन्दवादको चर्चा भएको ‘हिटलर र यहुदी ।’ महाभारतको लडाइँ–धार्मिक अनुष्ठानमात्र हो, धार्मिक कार्य होइन भन्ने बीपीको धारणा बोक्ने ‘मोदिआइन’बाट बीपी मान्छेलाई मान्छे नै रहन दिने पक्षमा हुनुहुन्छ । उहाँको यो चिन्तन प्रष्ट छ ।

स्वास्नी प्रेम दिन्छे कि दिन्न त्यो मात्र पोइले हेर्नुपर्छ, सतीत्व र पातिव्रत्य नारीका सरोकारका विषय हुन्, नकि पुरुषका । नारीलाई प्रधान विषय बनाउने र नारी अस्मितालाई माथि उठाउने काम भएको पाइन्छ बीपी कृतिहरूमा ।

समाजको निर्माण । असल समाजको निर्माणमा के कस्ता कुराहरूको आवश्यकता हुन्छ अथवा कस्ता-कस्ता कुराको अवरोध हुन्छ । हामी विचार राख्तैनौं तर बीपीको सूक्ष्म दृष्टि छ- यसतर्फ । ‘लोग्ने र स्वास्नीमा बाहिरियाले गरेर मेल हुन्छ र कहीँ ? भित्र के खुस्किएको हुन्छ के ! बाहिर टालेर के गर्नु ।’ प्रत्येक क्षेत्रमा घट्ने यथार्थता हो । बीपी कोइरालाका कृतिहरूले उहाँको जीवन आदर्श खुलाएका छन् र त ‘मेरो जीवन खुलेको पाना हो’ भन्न सक्नुभयो । उहाँका रचनाहरूबाट प्रत्येक मानिसको धुकधुकी जाँच्न सकिन्छ । ........ अनि बीपी कोइरालालाई चिन्ने एउटा कसी हो ।

‘बाबु तिमी ठूलो मान्छे होइन, असलमान्छे बन्नु ।’ यो वाक्य अठार पुराणका रचयिता महर्षि-व्यासका समग्र कृतिहरूको सारतत्व- ‘परोपकार’ झै लाग्छ । आज वीपी कोइरालाको स्मरण गर्दा उनको उक्त भनाइलाई हामीले एउटा आदर्शको रूपमा ग्रहण गर्नु आवश्यक छ । संसारमा ठूला मान्छे त धेरै हुन्छन् । तर असल मान्छे एक युगमा एक-दुईजना मात्र जन्मिन्छन् । बीपी कोइराला यस शताब्दीका एउटा असल मान्छे थिए र आज पनि उनका असल विचारहरू हाम्रा सामू आदर्श र उदाहरणका रूपमा फैलिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?