एमालेद्वारा पार्टी उपाध्यक्ष नेम्वाङको निधनप्रति शोक प्रश्ताव पारित, असोज २ मा श्रद्धाञ्जली सभा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष, संविधानसभाका अध्यक्ष, पूर्वसभामुख सुवाष नेम्वाङको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धासुमन व्यक्त गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले उहाँको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो । बैठकले उहाँले नेपाली राजनीतिमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै श्रद्धासुमन अर्पण गरेको पार्टीका कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले नेम्वाङको निधनमा ३ दिन पार्टीको देशभरका सबै कार्यालयहरुका झण्डा आधा झुकाउने, पार्टी केन्द्रिय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र उहाँको निर्वाचन क्षेत्र इलाममा पनि शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीका सबै जनसंगठनहरुको औपचारिक कार्यक्रम समेत ३ दिनसम्म स्थगित गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको कार्यबहाक महासचिव ज्ञवालीले बताउनु भयो ।

एमालेले उहाँको सम्मानमा आगामी असोज २ गते विशेष श्रद्धाञ्जली कार्यक्रम पनि आयोजना गर्ने भएको छ । पार्टी केन्द्रिय कार्यालयको आयोजनामा सो कार्यक्रम पनि गर्न लागिएको कार्यबहाक महासचिव ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अत्यन्त दुःख, पीडा र शोकको बीचमा हामीले यो बैठक सम्पन्न गरेका छौं । तपाईहरु सबैलाई थाहानै छ । हाम्रो पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष र प्रतिनिधिसभामा चार पटकसम्म सभामुखको भुमिका खेल्नुभएका अत्यन्त लोकप्रिय नेता सुवाषचन्द्र नेम्वाङको आज विहान एक बजेर ५० मिनेट जाँदा हृदयघाटबाट निधन भएको छ । हाम्रो पार्टी परिवार, उहाँको परिवारमात्रै होइन, सिंगो देश उहाँको निधनबाट शोकको घडीमा डुबिरहेको बेला हामीले यो बैठक आयोजना गरेका छौं । यो बैठकले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेको छ । र, उहाँको योगदानको मूल्यांकन गर्दै शोकप्रस्ताव पारित गरेको छ । खासगरी मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नुभएको भुमिका नेपालको इतिहासमा अमिट रहेको छ । दुई दुई पटकसम्म संविधानसभाको अध्यक्षताको जुन एउटा दूर्लभ अवसर उहाँले पाउनु भयो । र, त्यो अवसर जसरी अत्यन्तै कुशलतापूर्वक उहाँले निर्वाह गर्नु भयो । सर्वाधिक महत्वपूर्ण योगदानको रुपमा हामीले मूल्यांकन गरेका छौं । त्यस्तै सभामुखको रुपमा, पार्टी उपाध्यक्षको रुपमा, संसदीय दलको उपनेताको रुपमा, असाध्यै कुशल सांसदको रुपमा, चाहे राष्ट्रिय सभामा रहँदा होस्, चाहे प्रतिनिधिसभामा, सार्वजनिक लेखा समितिको सभापतिको रुपमा । हरेक आयाममा हरेक भूमिकामा उहाँले आफूलाई अत्यन्त खरो सावित गर्नुभएको छ । मृदुभाषी, सरल र जस्तोसुकै तनावको बीचमा पनि सबै पक्षहरुलाई समन्वयमा ल्याएर एउटा सहमतिको निकास निकाल्न सक्ने ती व्यक्तित्वको अभाव नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म हुनेछ । उहाँ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा २०५६ सालदेखि उहाँले इलामबाट हासिल गर्दैै आउनुभएको विजयबाट प्रष्ट हुन्छ । २०५६, २०६४, २०७४ र २०७९ सबै निर्वाचनमा उहाँले त्यहाँका जनताको मायाबाट बहुमतका साथ विजय हासिल गर्नुभएको छ । उहाँका ती योगदानहरुको मूल्यांकन गर्दै हामीले विशेष शोकप्रश्ताव पारित गरेका छौं । त्यसबाहेक उहाँको सम्मानमा देशका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधि झुकाईनेछ । पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालयहरु, जिल्ला कार्यालयहरु र इलाममा चाहीँ उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राखिनेछ । पार्टी र पार्टी संवद्ध सबै जनसंगठनका औपचारिक कार्यक्रमहरुलाई हामीले तीन दिनसम्म स्थगित गरेका छौं । र, आउने असोज २ गते उहाँको सम्मानमा पार्टी केन्द्रिय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत भएको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । उहाँको राजकीय सम्मानमा साथ अन्त्यष्टि हुनेछ ।’

एमालेले पार्टीका उपाध्यक्ष नेम्वाङलाई सर्वाधिक लोकप्रिय, सरल, मृदुभाषी, कुशल समन्वयकारी नेताको रुपमा चित्रण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?