तीन सय किलो बढी सुन तस्करी भएको सिआइबीको निष्कर्ष

४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, साढे तीन अर्ब बिगो दाबी

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर आएको करिब ६१ किलोग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको हो । सिआइबीले तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा चलाउन राय पेस गरेको छ । प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीले राय दिइएको छ । उनीहरूलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन राय दिइएको हो । भन्सार ऐन २०६, संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८, मुलुकी अपराधसंहिता, २०७४, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसारको कसुरमा कारबाही गर्न सिआइबीले राय दिइएको हो ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा भन्सारका कर्मचारी मात्रै आठ जना छन् । भन्सार एजेण्ट चारजना, कार्गो एजेण्ट तीनजना, ट्याक्सी चालक एकजना, भाषा अनुवादक एकजना, कम्पनी खोल्ने एकजना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक दुईजना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् ।

तीमध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक रहेको सिआइबीले जनाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले ४४ जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताउनुभयो । उहाँले फरारमध्ये १४ जना विदेशी नागरिक र चारजना नेपाली रहेका जानकारी दिनुभयो । फरार १८ जना खोज्न सबै विधिहरू अवलम्बन भएको सिआइबीले जनाएको छ ।

पछिल्लो समय विभिन्न माध्यमबाट तीन क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको सिआइबीले निष्कर्ष निकालेको छ । सिनामंगलबाट बरामद करिब ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ‘ब्रेक प्याड’ जोख्दा ३०२ किलो ६२ किलो सुन ल्याएको सिआइबीको निष्कर्ष छ । सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने बताउनुभयो । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्ने सिआइबीले जनाएको छ । आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजान लागिएको उहाँले बताउनुभयो ।

२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर राजस्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि फाइल सिआइबीलाई बुझाएको थियो ।

४२ जनाको टिम, दैनिक १८ घण्टासम्म काम
प्रहरीका ४२ जनाको टिमले ३५ दिन लगाएर सुन तस्करीको अनुसन्धान गरेको छ । सुन प्रकरणमा देखिएका प्राविधिक विषयलाई गहन अध्ययन गर्न ४२ जनाको टोली परिचालन गरिएकको एआइजी बज्राचार्यले बताउनुभयो । ‘अनुसन्धानलाई अझ बढी वैज्ञानिक ढंगले हेर्ने हिसाबले टेक्निकल टिमसहित ४२ जनाको टोली राखेर अनुसन्धान गर्‍यौँ,’ उहाँले भन्नुभयो । तस्करीको सुन अनुसन्धानमा खासगरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ । जसमा फस्ट टेक्निकल टिम, एक्स्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । ती टोलीले दैनिक १८ घण्टासम्म काम गरेको पनि प्रमुख बज्राचार्यले जानकारी दिनुभयो ।

चिनियाँ नागरिकहरूको ठूलो ‘नेक्सस’, कम्पनीहरू खडा गरेर सुन तस्करी
पक्राउ परेको चाइनिज समूहले सातवटा कम्पनीहरू खडा गरेर सुन तस्करी गर्ने गरेको खुलेको छ । अहिले रेडिटे«ड लिंकबाट ल्याएको सुनलाई मात्रै अनुसन्धानमा राखिएको उहाँले बताउनुभयो । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरूको विषयमा थप अनुसन्धान गर्ने उहाँको भनाइ थियो । उहाँले सुनको रकम भुक्तानी डिजिटल रूपमा गरेको देखिएको पनि बताउनुभयो ।

सुन तस्करीमा चिनियाँ नागरिकहरूको ठूलो नेक्सस संलग्न देखिएको छ । चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भिœयाउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा सातवटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सिआइबीले बताएको छ । अनुसन्धानका क्रममा ६ वटा कम्पनीमार्फत सुन ल्याएको देखिएको छ ।

हङ्कङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेको पनि सिआइबीले जनाएको छ । सुन ल्याउनेदेखि व्यवस्थापन गर्न तस्करहरूले दुईवटा समूह बनाएको देखिएको छ । हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पु¥याउने गरेको सिआइबीले जनाएको छ । युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ ।

अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रिय, हङ्कङमा मुख्य ‘डिल’
सुनको अवैध पैठारी अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय रहेको सिआइबीले निष्कर्ष निकालेको छ । सिआइबीका अनुसार संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटिपे, ग्लोबपे, वीनपे लगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ । सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेको देखिएको छ । सुनको कारोबारको मुख्य डिल हङ्कङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको सिआइबीको अनुसन्धानमा देखिएको छ । सुन बेच्ने मान्छे हङ्कङबाटै टुंगो हुने गरेको, किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको देखिएको छ ।

दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक
सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ । दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको सिआइबीले जनाएको छ । दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गर्ने गरेका थिए । आरोपीहरूलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेको पाइएको प्रहरीले जनाएको छ । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान हुन् । अमलाको नाममा ठमेलस्थित होटल भियना छ । तस्कर समूहले त्यस होटल प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । माओवादी नेतृसँग विवाह गरेका कारण दावाको माओवादी नेताहरूसँग पनि निकट सम्बन्ध रहँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?