आज कुशेऔंसी र बुबाको मुख हेर्ने दिन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज(बिहीबार) घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । अर्थात् भाद्र मासका औंसीका दिन काटेको कुश एक वर्षसम्म बासी हुँदैन, यसलाई बारम्बार प्रयोग गर्न सकिन्छ । सनातन वैदिक हिन्दू धर्मावलम्बीहरूले वर्षभरि घरघरमा गरिने देवकार्य एवं पितृकार्यका लागि अति आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गएिको छ । ब्राहृमणहरूद्वारा शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी कुश छेदन गरेर यजमान कहाँ पुर्‍याइदिने प्रचलन रहेको छ । कुश घरमा राख्नाले परिवारजनको कल्याण हुने शास्त्रीय वचन रहेको तथा धार्मिक विश्वास पनि रही आएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा शास्त्रीय मान्यता छ ।

कुशमा ब्रहृमा, विष्णु र रुद्र तीनवटै देवताको बास भएको हुँदा स्नान, दान, जप, होम, स्वाध्याय, श्राद्ध र सन्ध्या तर्पण आदि विभिन्न कर्म गर्दा कुश हातमा लिएरमात्र गर्नु पर्दछ । जसले गर्दा कर्ममा पवित्रता हुन्छ भन्ने वैदिक, धार्मिक र शास्त्रीय मान्यता रहेको छ । कुशको पूजा आजा गरी छेदन गरु-पोरोहितद्वारा घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो । तर यस वर्ष साउनमा अधिकमास रहेकाले १३ वटा औंसी परेका छन् ।

भगवानले हिरण्याक्ष दैत्यलाई मारेर पृथिवीलाई उद्धार गर्न वराहको (बँदेलको) रूप लिई दैत्यलाई मारी पृथिवीको उद्धार गर्दा ठूलो परिश्रम परेको हुँदा थकाइ लागेर समुद्रका किनारमा बालुवामाथि विश्राम गरी सुत्नु भएको थियो । वराह भगवान् सुत्तेको ठाउँमा उहाँको केश झरेर कुशको उत्पत्ति भएको हो भन्ने पनि पौराणिक उपाख्यानहरूमा पाइन्छ ।

आजकै दिन छोराछोरीहरू आफ्ना पितालाई मनपर्ने मिठाई फलफूल भोजन गराई तथा नयाँ वस्त्र पहि¥याएर आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन पनि भनिन्छ । यस दिन पिता नहुने छोराहरूले पितृहरूलाई तर्पण तथा पिण्डदानसमेत गर्दा पितृहरू मुक्ति हुने र छोरा नातिहरूलाई यस लोकमा सुख समृद्धि र पर लोकमा समेत पुण्य लाभ हुने भएकाले श्राद्ध, तर्पण, सिधादान गरी पितृलाई तृप्त गराउने शास्त्रानुकूल परम्परा समाजमा चलिआएको छ ।

यसैदिन पिता नहुनेहरू भने तीर्थमा गई श्राद्ध गर्ने गर्दछन् । काठमाडौंको उत्तरपूर्वी भेगस्थित बागमती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई पिताका नाममा तर्पण र श्राद्ध गरी सिदा दान गर्ने गर्दछन् । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मिठो मसिनो खान दिएर र दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुशी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?