पार्किङ व्यवस्थापन गर्न सम्भावित ठाउँ छनोट

नन्दराम जैशी
Read Time = 4 mins

सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रमा चुनौतीका रुपमा रहेको सवारी आवागमनलाई सही रुपमा व्यवस्थापन गर्न पार्किङस्थलका सम्भावित ठाउँहरुको छनोट गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको समन्वयमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही, कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालसहितको टोलीले तत्काल पार्किङ गर्न सकिने ठाउँहरुको स्थलगत निरीक्षण गरेको हो ।

यहाँका मंगलगढी र यरिचोक लगाएत बजार क्षेत्रमा हाल जथाभावी सवारी पार्किङ गर्दै आएका छन् । यसलाई व्यवस्थापन गर्न पटक पटक प्रयास भए । तर ठोस निर्णय भने भएको थिएन । बढ्दो जनघनत्व र सवारी चापका कारण वीरेन्द्रनगरका सडकहरु अस्तव्यस्त बनेका छ् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा निश्चित पार्किङस्थल नहुदाँ सवारी चापले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।
विहिबार भएको स्थलगत निरीक्षणपछि मंगलगढी चौकको दक्षिणतर्फ जभाभावी रोकिने अटो रिक्सा र अन्य सवारीलाई राहुल स्मृतिको दक्षिणतर्फ पार्किङस्थल तोकिएको छ । यस्तै बजार क्षेत्रका सवारीलाई पुरातत्व विभागको जग्गा, भानुपार्कको पश्चिम तथा घण्टाघर क्षेत्रमा जथाभावी रोकिने सवारीहरुलाई घण्टाघरको दक्षिण क्षेत्र र वुद्धपथमा रहेको वुद्ध सरोवर निर्माणस्थलमा पार्किङको व्यवस्थापन गर्नेगरी स्थानहरु हेरिएको छ ।
बसपार्कदेखि दैलेख जाने सडकको घण्टाघर चोकसम्म कुनै सवारीलाई सडक सडकमा रोक्न निधेष गरिएको छ । यहाँ सडकमा रोकिने सवारीहरुलाई घण्टाघरको दक्षिणतर्फको चोकलाई तत्काल पार्किङ क्षेत्र तोकिएको छ ।

तोकिएको क्षेत्रमा मात्रै सवारी पार्किङ गर्दा बजार क्षेत्रमा देखिएको ट्राफिक चुनौतीलाई केही हदसम्म समाधान गर्न सकिने मन्त्री जिसीले बताउनुभयो । दशैं अगावै जथाभावी पार्किङ समस्या समाधानका लागि प्रदेश र पालिकाविच समन्वयका गरेर अघि बढ्ने उहाँको भनाइ छ ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा शनिवार बाहेक बाँकी ६ दिन एकतर्फी गरिदै आएको पार्किङलाई अब रोटेसनका आधारमा दुवैतर्फ पार्किङ गर्ने व्यवस्था गर्न लागिएको हो । एक–एक दिनको फरकमा सडकको दुवैतर्फ पार्किङ गर्नेगरी व्यवस्था मिलाउन प्रदेश प्रहरी प्रमुख ढकालले ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो ।

व्यापारीहरुको मागअनुसार तिहार लगत्तै एमाले पार्टी कार्यालयको दक्षिण–पश्चिम र मध्यपश्चिम विश्वविद्यालयको पर्खालमा रहेका सटरहरु पनि खाली गराएर पार्किङस्थल कायम गरिने नगर प्रमुख मोहनमाया ढकाल बताउनुहुन्छ । प्रदेश सरकारले पनि वीरेन्द्रनगरको सौन्दर्यता कायम गर्न साथ दिएकाले नगरपालिकाले तत्काल पार्किङको समस्यालाई समाधान गर्ने प्रक्रियामा लागेकोे उहाँको भनाइ छ ।

फोटो : पार्किङस्थलका सम्भावित ठाउँहरुको छनोट गर्न स्थलगत निरीक्षण गर्दै सरोकारवाला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?