एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने

Read Time = 4 mins

कोलम्बो । एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । घरेलु टोली श्रीलंकालेसुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै फाइनलमा स्थान बनाएसँगै भारतसँगको भेट पक्का गरेको हो ।

जितका लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित ९१ रनको पारी खेल्नुभयो ।

अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यु खेल खेलेका जमान खानले सुरुवाती चार बलमा दुई रनमात्रै दिएपछि अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराउनुभयो ।

श्रीलंकाको जितमा हिरो बनेका चरिथ असलंका ४७ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा अविजित पारी खेल्नुभयो । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट हुनुभयो । त्यसबाहेक सदिरा समाराविक्रमा ५१ बलमा ४ चौकासहित ४८, दासुन शानका २, धनन्जय डि सिल्भा ५ र दुनिथ वेलालागे डक आउट हुनुभयो ।

पाकिस्तानका इख्तिखर अहमदले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिनुभयो । शाहिन शाह अफ्रिदीले ९ ओभरमा ५२ रन खर्चेर २ विकेट लिनुभयो । शादब खानको नाममा १ विकेट रहृयो । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्कासहित ८६ रन बनाउनुभएको थियो ।

छैटौं विकेटका लागि इख्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गर्नुभयो । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाउँनुभयो । ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो । कप्तान बाबर आजमले ३५ बलमा ३ चौकासहित २९ रन जोड्नुभयो ।

मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड हुनुभयो । श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो ।

प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिनुभयो । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । भारतले सुपर फोरको अन्तिम खेल शुक्रबार बंगलादेशसँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । श्रीलंका साविक विजेता टोलीसमेत हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?