ईयूले टर्कीबाट आफूलाई टाढा राखेको एर्दोगानको आरोप

Read Time = 2 mins

इस्तानबुल टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपेली संघ टर्कीबाट अलग्गिएको आरोप लगाउनुभएको छ । राष्ट्रपति एर्दोगानले रूसको युक्रेन आक्रमणपछि नेटो सैन्य गठबन्धनमा सामेल हुने स्विडेनको अभियानमाथिको नाकाबन्दी फुकुवा गर्ने बदलामा सन् २००५ मा सुरु भएको सदस्यता वार्तालाई पुनरुत्थान गर्न ब्रसेल्सबाट प्रतिबद्धता प्राप्त गर्नुभएको थियो ।

यसै महिनाको सुरुमा ईयूका विस्तारमामिला आयुक्त ओलिभर भार्हेलीले टर्कीको भ्रमण गर्दै सदस्यताको ‘ठूलो सम्भावना’ भए पनि वार्ता पुनः सुरु हुनुअघि समूहले मानवअधिकारका मुद्दाहरूमा कदम चाल्नुपर्ने बताउनुभएको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क उड्नुअघि एर्दोगानले इस्तानबुलको अतातुर्क विमानस्थलमा पत्रकारसँग भन्नुभयो, ‘युरोपेली संघले हामीबाट दूरी कायम गर्न खोजिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘हामी आफ्नै स्थितिको मूल्यांकन गर्नेछौं र अर्को दिशा पनि लिन सक्नेछौं ।’

एर्दोगानले सन् २०१६ को जुलाईमा भएको असफल ‘कू’ पछिको सरकारको व्यापक दमन र वर्षौंदेखिको तनावपछि यसै वर्ष मे महिनामा सम्पन्न निर्वाचन जित्नुभएको थियो । चुनाव जितेपछि पश्चिमा मित्रराष्ट्रहरूसँगको बिग्रिएको सम्बन्ध सुधारलाई उहाँले प्राथमिकता दिनुभएको छ ।

भ्रमणका क्रममा भार्हेलीले भन्नुभयो, ‘युरोपेली परिषद्ले पनि स्पष्ट मापदण्ड तय गरेको छ, जसलाई सम्बोधन गर्न आवश्यक छ । ‘यी मापदण्डहरू लोकतन्त्र र विधिको शासनसँग सम्बन्धित छन् र यो नै सुधारसाथ अगाडि बढ्ने विश्वसनीय रोडम्याप हो’, उहाँले भन्नुभयो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?