सरकारप्रति कांग्रेसभित्र दुई धार :

डा.शेखर पक्ष प्रधानमन्त्रीको विकल्प खोज्न दबाब बढाउँदै, प्रभावशाली नेताहरू भने सरकारको निरन्तरताकै पक्षमा

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा वर्तमान सरकारको निरन्तरता सम्बन्धमा स्पष्ट दुई धार देखिएको छ । कांग्रेसको संस्थापनइतरका नेता डा.शेखर कोइरालाले केही राजनीतिक मुद्दाहरूको उठान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प खोज्न पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब बढाइरहनु भएको छ ।

संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने कोइरालाको तर्क छ । सत्ता गठबन्धनका मुख्य नेताहरूको स्वार्थका कारण भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा आम जनतामा निराशा बढाएको, कोशी प्रदेशमा दुई-दुईपटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको, प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको लगायत आरोप लगाउँदै कोइरालाले सरकारको नेतृत्व बदल्नुपर्ने तर्क गर्दै आउनुभएको छ । गत शनिबार चितवन कांग्रेसको जिल्ला सम्मेलनमा पहिलोपल्ट प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने सार्वजनिक गर्नुभएका कोइरालाले भन्नुभएको थियो, ‘त्यसकारण अब कांग्रेसको नेतृत्वमा सरकार बन्नु जरुरी छ । अनि मात्रै हामी अगाडि बढ्न सक्छौँ ।’ चितवनपछिका सार्वजनिक मञ्चहरूमा पनि कोइरालाले यही धारणा दोहोर्‍याउँदै आउनुभएको छ । कोइरालाको अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्ड र स्वयं कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई सशंकित बनाएको बनाएको छ ।

पछिल्लो समय देउवासँग कोइरालाको दूरी बढ्दै गइरहेको छ । तर, पार्टी र संसदीय दलमा देउवाको बलियो घेरा तोडेर आफैँ आउने सम्भावना छैन । आफ्नो प्रतिकूल अवस्थाका बाबजुद पनि कोइरालाले गठबन्धनभित्रै संशय पैदा गराउने गरी सरकारको नेतृत्व बदल्ने कुरा गरिरहनु भएको छ । तर, सभापति देउवाको विकल्पमा तत्कालै जानका लागि संसदीय दलको अंकगणित कोइरालाको पक्षमा छैन । केही समय अघिसम्म कोइरालामाथि पार्टी र सत्ताको भागबण्डामा देउवासँग मिलेर रूपान्तरणका मुद्दा छाडेको आरोप आफ्नै समूहबाट लाग्दै आएको थियो । त्यो आरोपलाई गलत सावित गर्न पनि साउन १० को केन्द्रीय कार्यसमिति बैठकपछि कोइरालाले देउवासँग दूरी बढाउँदै लगेको र संसदीय दलमा विकल्पसमेत खोज्न थालेको कांग्रेस वृत्तमा चर्चा छ ।

संस्थापनइतर पक्षको नेतृत्व गरिरहनु भएका डा.कोइरालालगायत इतर पक्षका नेताहरूले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न दबाब बढाइरहेको बेला संस्थापन र इतर पक्षकै कतिपय प्रभावशाली नेताहरू भने वर्तमान सरकारकै निरन्तरताको पक्षमा देखिएका छन् ।

गठबन्धनमा समस्या भए पनि सरकार ढल्दैन : निधि
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान गठबन्धन सरकारमा समस्या रहे पनि सरकार ढल्ने सम्भावना नरहेको बताउनुभएको छ । धेरै दल मिलेर सरकार बनेकाले समस्या हुनु स्वाभाविक रहेको स्पष्ट पार्दै निधिले भन्नुभयो, ‘गठबन्धनको सरकार छ । चल्दै छ । गठबन्धनमा समस्या पनि छ । पूर्व-सहमतिअनुसार नै गठबन्धनको सरकार अगाडि बढ्नुपर्छ ।’ नेता निधिका अनुसार सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल अडिग रहनुपर्छ ।

निधिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको पनि दाबी गर्नुभएको छ । दाहाल समाजवादी मोर्चा बनाएर सक्रिय भएको र कांग्रेस-एमाले मिलेर सरकार बनाउने अड्कलबारे सोधिएको प्रश्नमा कांग्रेस नेता निधिले भन्नुभयो, ‘राजनीतिमा मोर्चाबन्दी गर्नु स्वाभाविक हो । दलीय गतिविधि गर्दैमा आत्तिनुपर्ने अवस्था होइन । कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा गलत हो । कुनै सम्भावना छैन ।’

प्रचण्ड नेतृत्वको सरकार पाँच वर्ष जानसक्छ : कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले प्रचण्ड नेतृत्वको वर्तमान सरकार परिवर्तनको सम्भावना नरहेको जिकिर गर्नुभएको छ । सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको दाबी गर्दै कोइरालाले भन्नुभयो, ‘मेरो दृष्टिकोणले प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जानसक्छ, मलाई त्यस्तो लाग्छ । सरकारको स्थायित्व आवश्यक छ । राजनीतिक स्थायित्वले मात्रै देशको विकास सम्भव छ । पार्टीभित्रको खिचातानी सरकारमा हुनु हुँदैन ।’ विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै कोइरालाले प्रचण्ड साधारण व्यक्ति नभएको तर्क गर्नुभयो ।

भ्रष्टाचारविरुद्ध फायर खोल्नुपर्छ : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइल मात्र होइन, फायर नै खोल्नुपर्ने बताउनुभएको छ । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको स्पष्ट पार्दै महामन्त्री शर्माले भन्नुभयो, ‘कांग्रेसले कसैलाई निलम्बन गर्‍यो वा गरेन त्यो ठूलो कुरा होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन । भ्रष्टाचारको फाइल मात्र होइन, फायर खोलिनुपर्छ ।’

अर्कोतर्फ कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा चल्दै आएको छ । नेकपा एमालेका नेताहरूले पटक-पटक कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । अर्कोतर्फ गठबन्धन भत्किने अवस्थामा एमाले अध्यक्ष ओली कांग्रेसबाट देउवा वा कोइरालामध्ये जसलाई पनि प्रधानमन्त्री स्वीकार्न तयार हुने बुझाइ कांग्रेसका कतिपय नेताहरूको बुझाइ छ । यसबीचमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता शेखरबीच पटक-पटक संवाद भइरहेको खबर सार्वजनिक हुँदै आएको छ । तर, इतर पक्षका नेताहरूले भने ओलीसँग कोइरालाको कुराकानी नभएको दाबी गर्दै आएका छन् । संस्थापन पक्षका नेताहरू भने एमालेसँग सत्ता सहकार्य नहुने दाबी गर्दै आएका छन् । कोइरालाले संसदीय दल र केन्द्रीय कार्यसमिति दुवैमा बलियो बहुमतमा रहनुभएका देउवा पूर्वसहमतिबाट पछि हटेर अहिल्यै प्रधानमन्त्रीका लागि अघि बढ्ने सम्भावना न्यून छ । गठबन्धनमा देउवा, दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच आलोपालो प्रधानमन्त्रीको समझदारी छ । सत्ता राजनीति यही कोर्समा अघि बढ्दा देउवा ०८३ साउनतिर मात्र प्रधानमन्त्री बन्नुहुने छ । कोइरालाको अभिव्यक्तिले सशंकित बनाए पनि तत्काल प्रचण्ड सरकारको विकल्प खोज्न देउवा तयार नहुने इतर पक्षकै नेताहरूको बुझाइ छ ।

समाजमा अराजकता बढ्यो : केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतान्त्रिक प्रणालीमा व्यक्ति हाबी हुँदा समाजमा अराजकता बढेको टिप्पणी गर्नुभएको छ । व्यक्ति हाबी हुँदै जाँदा सिंहदरबारमा आगो लगाउँछु भन्नेहरूलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको टिप्पणी गर्दै नेता केसीले भन्नुभयो, ‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा चार÷पाँच लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदै छौँ । यो अराजकतातिर त जान लागेका हैनौँ । हामी कता जाँदै छौं ? अहिले राजनीतिक दलहरूप्रति वितृष्णा बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्वसमेत फैलिएको अवस्था छ । समाजमा अराजकता बढ्दै जाँदा सरकार के हेरेर बसेको छ ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?