सबैको पर्व बन्दै तीज, यसको मौलिकता र गीतसंगीत

गीता अधिकारी
Read Time = 16 mins

हरेक वर्षजस्तै यसवर्ष पनि तीज नेपालीहरूको घर-आँगन आएको छ । दिदीबहिनी जम्मा हुने मीठो खाने, राम्रो लाउने र गीतसंगीतमा रम्ने यो चाडको विशेषता हो भने धार्मिक महत्व पनि त्यतिकै छ । तीज खासगरी दिदीबहिनीहरूको मिलनको पर्व हो । यो पर्वमा सांस्कृतिक, पौराणिक, सामाजिकलगायत धेरै पक्ष जोडिएका छन् । तीजमा गीतसंगीतको पनि विशेष महत्वहुने गर्दछ । यो पर्वमा भाद्र महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मीठा–मीठा खाद्यवस्तुहरू प्रेमपूर्वक खुवाइन्छ । तृतीयाको दिन तीज हो । ज्यो.पं.भरतमणि मरासिनीका अनुसार तृतीया शब्दबाट तीज बनेको हो । प्रतिपदाबाट पञ्चमीसम्मका पाँचवटै दिनलाई समन्वितरूपमा तीज भने पनि खास तीज चाहिँ यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहर व्रत बस्छन् ।

तीजको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको छ तीज । बहुसांस्कृतिक पर्वका रूपमा विकसित भइरहेको तीज अब नेपाली हिन्दू महिलाहरूमा मात्र सीमित नरही सबै धर्म-जातिका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकसित भइरहेको छ । नेपालीहरूका ठूला चाड दशैँ र तिहारपछिको तेस्रो ठूलो चाडका रूपमा स्थापित हुँदै गएको छ तीज । यो चाड मुख्यरूपले नेपालभर मनाइन्छ भने नेपाली जातीको बसोवास भएका सबै ठाउँमा मनायन्छ । तीज नजिकिँदै जाँदा बजारमा तीजसम्बन्धी गीतको चर्चा भइरहेको छ । यो अवसरमा युट्युब तीजगीतले भरिएका छन् भने टेलिभजन, एफएम, रेडियोमा तीज गीतले प्राथमिकता पाइरहेका हुन्छन् । सबैतिर तीजमय बन्ने गर्दछ । काठमाडौंका पार्टी-प्यालेस, प्रज्ञाभवन, राष्ट्रिय सभागृह, युएन पार्क, कृष्ण मन्दिर र अन्य मठमन्दिरहरूमा महिलाहरूले तीजजका गीतमा कम्मर मर्काई-मर्काई नाचेको हेर्न पाइन्छ ।

काठमाडौंका विभिन्न ट्रेड सेन्टरमा तीज महोत्सव मेला नै लाग्ने गर्दछन् । यस्तो मेला देशका अन्य शहरहरूमा पनि लागेको पाइन्छ । तीज विशेष कार्यक्रम पनि भइरहेका छन् । विभिन्न संघसंस्था तथा समूहको आयोजनामा यस्ता कार्यक्रम हुने गर्दछन् । 

काठमाडौंका विभिन्न ट्रेड सेन्टरमा तीज महोत्सव मेला नै लाग्ने गर्दछन् । यस्तो मेला देशका अन्य शहरहरूमा पनि लागेको पाइन्छ । तीज विशेष कार्यक्रम पनि भइरहेका छन् । विभिन्न संघसंस्था तथा समूहको आयोजनामा यस्ता कार्यक्रम हुने गर्दछन् । एउटा सांस्कृतिक पर्व हो तीज । एउटा छुट्टै गीत संगीतको पर्व हो तीज । यो अवसरमा तीज गीत निकाल्ने स्थापित कलाकारदेखि कलामा करियर खोज्दै गरेका सिकारुसम्म देखिन्छन् । तीज गीत मौलिकता जोगाउने र कलाकारलाई मञ्चमा चिनाउने गतिलो माध्यम पनि हो । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । तीज पर्वमा खासगरी महिलाका स्वरहरू गुञ्जयमान हुन्छन् । पछिल्लो समयमा पुरुषहरूको स्वरको साथ पाएको छ तीजले । चर्चित गायक-गायिकादेखि लिएर नवप्रवेशीसम्मले यो माहौललाई आफ्नो गायन प्रतिभा प्रष्फुटन गर्ने समयका रूपमा सदुपयोग गर्ने शृंखला यसवर्ष पनि जारी छ ।

तीजका गीतसंगीत सांस्कृतिक परम्पराको नाममा विकृतितर्फ समेत धकेलिन लागेको आरोप लागिरहन्छ । जे भए पनि तीज गीतसंगीत फष्टाउँदो भने पक्कै छ । तीज आउन तीन महिनाअघिबाटै अन्य गीतलाई पन्छाएर म्युजिक कम्पनीहरू तीजका गीत बजारमा ल्याउन लागिपर्छन् । तीजका गीतहरू धेरै बजारमा आउनु राम्रो हो । यसको भावना र मर्मलाई बुझेरमात्र गीत लेखन कार्य होस् । तीजका गीतलाई रत्यौली नबनाइयोस् । गाईजात्रे गीत नबनाइयोस् । ‘आफ्नो मौलिकपन कायम राख्न सकेनौं भने हाम्रो आफ्नो पहिचान नै खतरामा पर्न जान्छ’ भन्नेजस्ता आवाज पनि हरेक वर्षजस्तै यसवर्ष पनि सुनिए । तर, यो वर्ष विगतका वर्षमा जस्तो तीजका नाममा छाडा गीत भने त्यति सार्वजनिक भएको पाइएन ।

धार्मिक आस्था र संस्कारमा रहेर मनाइने तीज समयको मागअनुसार सहीरूपमा परिमार्जन हुनुपर्नेमा पवित्र धार्मिक संस्कारमा विकृति भित्रिन लाग्यो भन्ने सबैको चासो र चिन्ताले पनि होला यो वर्ष छाडा तीज गीत कम सार्वजनिक भए । धर्म र संस्कृति जोगाउने नाममा आडम्बर सम्भ्रान्त समाजले भित्र्याएका तडकभडकजस्ता विकराल विकृतिहरूलाई हटाउने प्रयत्न गर्नु सभ्य र सचेत नारीहरूको कर्तव्य हो ।

तीज नेपाली महिलाहरूको आफ्ना भावना पोख्ने पर्वको रूपमा परिचित थियो र छ । तर, पछिल्लो समयमा आएर महिलाहरूको भावना पोख्नेभन्दा पनि यो व्यावसायिक हुँदै गएको छ । परिवर्तन हुनु नराम्रो कुरो त होइन तर यसको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ । वर्तमान पुस्ताको जिम्मेवारी भनेको हाम्रा भाषा, साहित्य, कला र संस्कृतिलाई भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु हो ।

तीज पर्व नजिकिँदै गर्दा बजारमा तीजगीतको मूल मर्मबाट बाहिरिएर तयार पारिएका कतिपय गीतले तीजको मौसमी बजार पाए पनि यस्ता गीत मौसमीमात्र हुन् । परम्परागत सौन्दर्य गुमाएर ‘झाम्रे’ जस्तै भए कतिपय गीत भन्ने यसैसँग सम्बन्धितहरूको गुनासो रहिआएको छ । तीज गीत त हाम्रो मौलिक संस्कृतिको धरोहर हो । तर, हिजोआज हामी मूल मर्मतिर छैनौं कि जस्तो लाग्छ, पारिवारिकजस्तो छैन, बरु कतै उट्पट्याङजस्तो भएको गुनासो पनि सुन्ने गरिन्छ । यसको विधान खल्बलिँदै गएकोमा चिन्ता बढ्नु पनि स्वाभाविकै हो । तर, यसको व्यापकतामा विकास हुँदै गएकोमा भने खुशी नै मान्नुपर्छ ।

तीजगीत घटनाप्रद हुने हुँदा यस गीतले घटना खोज्नेभन्दा पनि क्षणिक र सस्तो रमाइला विषयवस्तु हाबी भइरहेको कतिपय पुराना सर्जकहरू गुनासो गर्नुहुन्छ । उहाँहरूका अनुसार, आजभोलिका तीज गीतको पौराणिक मान्यता, घटना, विषयवस्तुसँग जोडिएको र युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान भएको पाइँदैन । त्यस्तै, वर्षभरिका आफ्ना दुःख, पीरवेदना र चोटहरू सार्वजनिक गर्ने माध्यम बन्थ्यो तीज, महिलाका कुण्ठित सिर्जनाहरू बाहिर आउँथे, समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तीजका गीतहरूले तर अहिले त्यस्तो छैन । अहिले सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ तीज गीतमा ।

हाम्रो संस्कृति र परम्परा पृथक रहेको छ । यसको जगेर्नामा हामी सबै लाग्नुपर्छ । महिलाहरूले आफूले भोगेका सामाजिक बन्धन, पारिवारिक हिंसा र अत्याचारप्रति कटुव्यंग्य तथा विद्रोहका स्वरहरू तीजका गीतमा सुनिने भए पनि विगत केही वर्षदेखि त्यस्ता गीतभन्दा छणिक रमाइला गीतहरूले बजार पाएका छन् । पछिल्लो समयमा तीजगीतको मौलिक र शास्त्रीय परम्परामा ह्रास आएको छ । तीज नारीहरूको पर्व हो, गीत पनि त्यस्तै झल्किने खालको हुनुपथ्र्यो । तीजका गीत अन्धविश्वास, हिंसा र विसंगतिपूर्ण व्यवहारका विरुद्ध र समानतामूलक समाज निर्माणका लागि हुनुपर्छ ।

सांस्कृतिक, पौराणिक, सामाजिक र गीतसंगीतको पर्व तीजमा भित्रिएका विकृतिलाई निरुत्साहित गर्न समाजका सचेत नागरिकहरूले पहल गर्नुपर्छ अन्यथा हाम्रा चाडवाडहरू भड्किला र विकृतितर्फ उन्मुख हुनेछन् । महिलाहरूले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । 

तीज गीत र दोहोरी गीतमा फरक छुट्याउन गाह्रो भएको छ । गीत गाउने र चर्चा बटुल्ने नाममा अभद्र, अमर्यादित र छाडा गीतसंगीतले प्रश्रय पाउनु हुँदैन । तीजका गीतमा खासगरी माइतीघर र घरको बिम्ब पाइने गरे पनि अहिले भने युवायुवतीको प्रेमका गीतहरू बढी पाइन्छ । यो समयको माग पनि हुन सक्छ । सधैं एकनासको त हुँदैन नि । समयको मागनुसार गीतसंगीतको बजारमा परिवर्तन आएको केही सर्जजकहरू दाबी गर्नुहुन्छ । उहाँहरू भन्नुहुन्छ, ‘दर्शक-श्रोताले मनपराए भने भल्गर र अश्लील भए पनि केही फरक पर्दैन । फेरि हाम्रो गीत-संगीतको कुनै नियम, सीमा र परिधि पनि त हुँदैन ।’ उत्तेजक गीत र भिडियोतर्फ आकर्षण बढ्नु समयको माग हो कि विकृति ? तीजमा सन्देशमूलक गीतहरू नआएका भने होइनन् तर चर्चा भने उट्पट्याङ गीतहरूको नै बढी भएको पाइन्छ ।

हरेक वर्ष तीजको अवसर पारेर ७-८ सय गीत बजारमा आउने गर्छन् । पछिल्लो समय काठमाडौंबाहिर पोखरा, बुटवलबाट पनि थुप्रै गीत सार्वजनिक हुने गरेका छन् । हरेक वर्ष सयौँको संख्यामा नयाँ-नयाँ गीत बजारमा आए पनि केही वर्ष पहिले गुञ्जने तीजका गीतहरू आज पनि उत्तिकै कर्णप्रिय छन्, जसले आमनेपाली नारीहरूको वेदनालाई एकमुष्ठरूपमा सम्बोधन गरेका छन् । तर, आज माया र पिरति, बिछोड र मिलनबाहेक कुनै सन्देश गीतहरूले दिएको उतिसारो पाइँदैन ।

आधुनिकताको नाममा आफ्नो रीतिरिवाज, धर्मकर्म अनि अनुशासित परम्परालाई कुल्चँदै गए नेपाली र नेपालको अस्तित्व कता जाला ? तीज मनाइरहँदा सर्जकहरूले यसतर्फ पनि सोच्न जरुरी छ । सुन्दै उकुस-मुकुस हुने, नारीको मर्यादामाथि प्रहार गर्ने र विकृति भित्र्याउने गीतलाई प्रश्रय दिइरहृयौं भने हाम्रो समाज अनि हाम्रो मर्यादा, संस्कार कता जाला सम्बन्धित निकायले यसतर्फ सोच्न जरुरी छ, तीज पर्व उल्लासमय रूपमा मनाइँरहदा ।

सांस्कृतिक, पौराणिक, सामाजिक र गीतसंगीतको पर्व तीजमा भित्रिएका विकृतिलाई निरुत्साहित गर्न समाजका सचेत नागरिकहरूले पहल गर्नुपर्छ अन्यथा हाम्रा चाडवाड भड्किला र विकृतितर्फ उन्मुख हुनेछन् । महिलाहरूले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका र मर्म छ । यसमाथि प्रहार नगरौं, यसको मौलिकता बचाइराख्नु तपाईं हामी सबैको कर्तव्य हो । पछिल्लो समय फेसन र देखावटीमा पनि हामी अलिक बढी रमाइरहेका छौं । फेसनले गर्दा चाडबाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त राख्नुपर्छ भन्नेहरूको पनि कमी छैन ।

हाम्रा सांस्कृतिक धरोहरहरूलाई जोगाइराख्न के युवा, के युवती वा ज्येष्ठ नागरिक नै किन नहुन्, सबै लागिपरे हाम्रो देश सधैंभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहनेछ । यस्ता संस्कार र संस्कृतिले हामीलाई जोडदै एक अर्कामा सदभावको विकास गर्दछन् । आरोग्य र दीर्घायुसँग जोडिएका पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक तथ्यहरू पनि रहेका छन् । चाडपर्वको मौलिकता भन्दा विकृतिले प्रश्रय पाउँदै गएमा भोलिको पुस्ताले हामीबाट के सिक्ने सबैले यसबारेमा सोच्ने हो कि ? धर्म र संस्कृति जोगाउने नाममा विकृतिहरूलाई प्रश्रय नदिऔं । तीजको सबैलाई शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?