शेखरसहितका नेता देउवा निवास धुम्वाराहीमा, सभापतिको कार्यशैलीप्रति आपत्ति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीलगायत विभिन्न विषयमा असन्तुष्टि राख्नुभएको छ ।

सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको कोइराला पक्षको आरोप छ।

बुधबार बिहान ११:३० बजेदेखि मध्याह्न १२ बजेसम्म कोइरालाले धुम्बाराही पुगेर सभापति देउवासँग कुराकानी गर्नु भएको हो । उहाँसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि देउवा निवास धुम्बाराही पुग्नुभएको थियो ।

संस्थापनइतरका एक नेताका अनुसार महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेसहित सबै पदाधिकारीले देउवालाई भेट्ने तय भएको थियो । तर महामन्त्री थापा र सहमहामन्त्री पाण्डे बीपी साहित्य महोत्सवमा व्यस्त भएकाले उहाँहरु जान नसक्नुभएको हो ।

सभापतिसँग पार्टीको आन्तरिक राजनीतिको विषयमा कुराकानी भएको र पछिल्ला समसायिक केही विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।

उनका अनुसार भेटमा पार्टीभित्र सभापति देउवाले एकलौटी लादेको भन्दै आफूहरुले असन्तुष्टि जनाएको उनले बताए ।

नेता कोइरालाले मंगलबार बालुवाटारस्थित सचिवालयमा आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको थियो ।

उक्त छलफलमा केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालासँग आग्रह गरेका थिए।

कांग्रेस केन्द्रदेखि प्रदेशका सरकारमा सहभागी भए पनि प्रभावकारी काम हुन नसकेको उनीहरुको भनाइ थियो।

आज भएको भेटमा प्रदेशहरूमा मुख्यमन्त्री लिने र मन्त्री लिनेजस्ता विषयमा पनि पार्टीभित्र सभापतिले छलफल नगरेको कोइरालाको भनाइ थियो। ‘प्रदेशमा सरकार बनाउँदा र मन्त्री पठाउँदा एकपटक छलफलसमेत गरिएन, यस्तो एकलौटी किन गर्नुभएको ?,’ नेता कोइरालाले प्रश्न गर्नुभएको थियो ।

प्रतिउत्तरमा सभापति देउवाले भने आफू सबैलाई समेटेर अघि बढ्न तयार रहेको जवाफ दिनुभएको थियो।

सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा संस्थापनइतर समूहको असन्तुष्टि देखिँदै आएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?