हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर असोज १८ जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबै भन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ ।

कोदो बालीको संरक्षण, प्रवर्द्धन र यसको प्रचार प्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका निमित्त प्रमुख धर्म बहादुर शाहीले बताउनुभयो । कोदो उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो ।

जिल्ला बाहिरबाट कर्णाली प्रदेश सरकारबाट अतिथिहरू आउने भएको कारण यसको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रैथाने कोदो बालीको प्रवर्द्धन गर्न सके यसलाई जिल्ला बाहिर निकासी गर्न सके किसानलाई प्रत्यक्ष रूपमा फाइदा पुग्नेछ । महोत्सवमा स्टल निर्माण गरेर कोदोका परिकार समेत प्रदर्शनी गरिने छ ।

यस्तै, कोदोबाट पन्ध्रभन्दा बढी परिकार तयार पारिनुका साथै महोत्सवको भिडियो डकुमेन्ट्री समेत तयार पारिनेछ । अतिथिहरूलाई स्वागतका लागि ब्याज समेत कोदोकै निर्माण गरिएको चार जना कोदोको खेती गर्ने किसानलाई पुरस्कृत गरिने छ ।

ब्याज र टपरी समेत रैथाने सिम्पाटीको पातबाट निर्माण गरिनेछ । हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा एक हजार ३५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार ५४० मेट्रिकटन उत्पादन हुने गरेको छ ।

यस्तै कोदो महोत्सवका लागि यहाँका स्थानीय तहले आर्थिक सहयोग समेत गर्नेभएका छन् । सिमकोट गाउँपालिकाले रु दुई लाख, नाम्खा रु एक लाख, खार्पुनाथ रु एक लाख पचास हजार सहयोग गर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । यस्तै एकिकृत अनुसन्धान विकास केन्द्र, गुडनेभर इन्टरनेश्नल, सिप नेपाल, आधार विकास नेपाललगायतका संस्थाले समेत हुम्लामा १८ गते हुन लागेको कोदो महोत्सवमा आर्थिक सहयोग गर्नेभएको निमित्त कार्यालय प्रमुख शाहीले बताउनुभयो ।

कोदो महोत्सवका लागि रु दश लाख आर्थिक खर्च लाग्ने भएको छ । महोत्सवका लागि विभिन्न समिति बनाइनुका साथै कार्य विभाजन गरिएको छ । यस्तै विभिन्न सांस्कृति कार्यक्रम समेत सञ्चालन गरिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?