बोक्चेगौडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । साउन १३ गते परेको अविरल वर्षा र केही दिन अघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडादेखि छारेसम्मको बाटो ठाउँ-ठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ ।

अविरल वर्षाले बोक्चेगौडा, सुनाखाडा, लालीबगर,मुसेडी छारेलगायतका विभिन्न ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डमा सवारी साधन सञ्चालनमा नआउँदा दैनिक आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई समस्या परेको हो ।

यी क्षेत्रमा वर्षाले ठाउँ–ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएको खार्पुनाथ गाउँपालिका– १ पिउस गाउँका भैरव शाहीले बताउनुभयो । अवरुद्ध सडक तथा बाटो खुलाउन सरोकारवाला निकायले कुनै चासो र चिन्ता नगरेको सर्वसाधरणको गुनासो छ । सडक अवरुद्धसँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ । बाटो अवरुद्धले यस क्षेत्रका स्थानीय नागरिक, बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको छ ।

विभिन्न ठाउँमा सडक माथिबाट भाँसिदा सदरमुकाम जान र दक्षिणी क्षेत्रका गाउँपालिकामा जान समेत थप समस्या बनाएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका नर बहादुर भण्डारीले बताउनुभयो । आफु सिमकोटबाट कामको शिलशिलामा चंखेली गाउँपालिकामा जाने क्रममा विभिन्न ठाउँमा भत्किएको सडकबाट जोखिम मोलेर जानु परेको उहाँले बताउनुभयो । चंखेली पुग्न सिमकोटबाट दुई दिन लाग्छ तर बालक, वृद्धवृद्धालाई यो क्षेत्रको बाटोमा थप समस्या देखिएको उहाँले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति हुम्ला, खार्पुनाथ गाउँपालिका र हिल्सा सिमकोट सडक योजना हुम्लाले यसबारेमा अहिलेसम्म कुनै चासो दिएको छैन । वर्षाले यसखण्डका विभिन्न ठाउँमा पहिरोले सडक भत्किएको छ ।

सलिसल्लादेखि सिमकोटसम्म ढुवानी गर्दै आएका खच्चडलाई भने थप समस्या भएको छ । भारी बोकेका खच्चडलाई आउजाउमा निकै कठिनाई हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?