फिरादपत्रका अब्बल विद्यार्थी हस्तबहादुर : जसले सशस्त्र द्वन्द्वमा दुई सन्तान गुमाउनु पर्‍यो

Read Time = 23 mins

✍️ युवराज पौडेल
स्याङ्जा जिल्लाको तत्कालीन चिलाउनेबास गाउँ पञ्चायत वडा नं १, हालको आँधीखोला गाउँपालिका-२ अन्तर्गतको ओहिया गाउँमा वि.स. १९९० साउन ४ गते जन्मनु भएका हस्तबहादुर क्षेत्रीको जीवनका कतिपय सन्दर्भ र प्रसंगहरू आजका पुस्ताका लागि उत्तिकै प्रेरणादायी छन् । छ वर्षको उमेरमै आमालाई गुमाउन पुग्नुभएका हस्तबहादुर मातृत्व ममताबाट सानैमा वञ्चित हुनुपरेको थियो । टुहुरा क्षेत्रीले आमाको ममताको पूर्ण अनुभूति गर्न पाउनुभएन । आमाको असामयिक निधनपछि उहाँको बाँकी पालनपोषण र रेखदेख जेठा दाजु, दिदीहरू र बुबाहरूबाट भएको पाइन्छ ।

उहाँ गाउँका न्यायाधीश हुनुहुन्थ्यो
हस्तबहादुर एकदमै मृदुभाषी तथा मिलनसार व्यक्ति हुनुहुन्थ्यो । उहाँले कहिलेकाहीँ ठट्यौली पाराले गफ गर्नुहुन्थ्यो । ती गफहरूभित्र पनि एकप्रकारको सामाजिक यथार्थ र उपदेशका भावहरू अन्तरनिहीत हुन्थे । उहाँ घरबाहिर जाँदा काँधमा भिर्न मिल्ने लठ्ठी लिनुहुन्थ्यो । त्यो लठ्ठी टेक्न पनि मिल्ने, खोलो तर्न सघाउ पुग्ने र मौका बखतमा गाईवस्तु वा चोरडाँकालाई ठीक पार्न मिल्ने भएकाले आफूले त्यो फलामको लठ्ठीलाई सहाराका रूपमा प्रयोग गर्ने गर्नुभएको हस्तबहादुर आफ्ना समकक्षीलाई सुनाउने गर्नुहुन्थ्यो ।

उहाँको स्वभावको सबैभन्दा सुन्दर पक्ष स्पष्टता र हक्कीपन हो । उहाँले आफूले देखेजानेको वा भोगेको ज्ञान वा कुरा स्पष्टताका साथ अरू समक्ष राख्न सक्नुहुन्थ्यो । उहाँको कुरो धारमा राख्ने बानी थिएन । त्यस्तै उहाँ सामाजिक कचहरीमा वा निसाफ गर्ने ठाउँमा पनि निष्पक्ष र खरो तरिकाले प्रस्तुत हुनुहुन्थ्यो । सभा वा बैठकमा उहाँको बोली निर्णायक जस्तै हुन्थ्यो । झगडामा उत्रिएका दुवै पक्षको कुरा सुनेर कसैलाई अन्याय नहुने गरी न्यायको निरूपण गर्नसक्ने क्षमताका कारण हस्तबहादुरको उपस्थिति सभामा विशेष हुन्थ्यो ।

उहाँले फैसला गरेपछि दुवै पक्षलाई चित्त बुझाउन करै लाग्थ्यो । उहाँ ‘लठ्ठी पनि नभाँच्चियोस् साँप पनि मरोस्’ को सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रयास गर्नुहुन्थ्यो । उहाँ अन्यायमा पर्नेमाथि न्याय दिलाउने कुरामा बढी ध्यान दिनुहुन्थ्यो ।

उहाँ धार्मिक र आध्यात्मिक स्वभावका व्यक्ति हुनुहुन्थ्यो । निधारमा नित्य टीका लगाउनुहुन्थ्यो । नित्य पूजापाठ गर्ने उहाँको कर्म थियो । मन्दिरमा नित्य बिहान-बेलुका पूजाआजा गर्ने र घण्टी बजाउने काम गर्नुहुन्थ्यो । उहाँ कृषि र खेतीपातीका काममा अब्बल हुनुहुन्थ्यो ।

उहाँले गोठमा लैना भैंसी टुटाउनु भएन । उहाँले पर्वत पुगेर सबैभन्दा राम्रा, अग्ला, छड्केका, मुण्टो ठाडो भएका गोरु कहाँ पाइन्छन् भनेर खोजीखोजी ल्याउने गरेको थमन बोगटी बताउँनुहुन्छ । कुनै औपचारिक कार्यक्रममा जाँदा उहाँ सफा र चिटिक्क परेका दौरासुरुवाल लगाएर उपस्थित हुनुहुन्थ्यो । अग्लो कदका कारण राष्ट्रिय पोशाक लगाउँदा उहाँको व्यक्तित्व निकै आकर्षक देखिने गरेको कृष्णबहादुर थापा बताउँनुहुन्छ ।

१४ वर्षमा ‘कखरा’ सिक्नुभयो
राणाशासनकालमै जन्मिनुभएका हस्तबहादुरको शिक्षा र नोकरी सन्दर्भ आफैंमा निकै रोचक छ । बाल्यकालमा हस्तबहादुर ओहियाको फाँटदेखि थाराफाँटसम्म भेडा चराउन जानुहुन्थ्यो । त्यतिबेला भेडा चराउन जाँदा साथीसँगीहरू एकै ठाउँ जम्मा भएर भलाकुसारी गर्ने प्रचलन रहेछ । त्यसक्रममा एक दिन उहाँले एकजना साथीबाट ठूलीबराहेका गुरु बलबहादुर थापाका बारेमा सुन्ने अवसर पाउनुभएछ ।

ठूलीबराहेको ‘कामीडाँडा’ भन्ने ठाउँमा बलबहादुर थापाले स्याउलाले बारेर पाठशाला बनाएको कुरा उहाँले सुन्नुभएछ । त्यहाँ पढ्न पाइन्छ भनेपछि उहाँले १४ वर्षको उमेरमा बलबहादुरको पाठशालामा ‘कखरा’को यात्रा सुरु गर्नुभएको रहेछ ।

त्यतिबेला हस्तबहादुरको पढ्ने समूहमा १०/१२ जना विद्यार्थी रहेछन् । बलबहादुरले हस्तबहादुरसहितको विद्यार्थी टोलीलाई हड्यौलोको कलम र बाँसको खपेटाको कापी बनाएर साँबा अक्षर सिकाउनुभएछ । हस्तबहादुरका ती सहपाठीमध्येमा उहाँ केही चलाख भएको कुरा गुरु बलबहादुरले भेउ पाइसक्नु भएको थियो । एक दिन बलबहादुर गुरुले विद्यार्थीहरूको औकात जाँच्न भनेर एउटा फिरादपत्र लेख्न लगाउनुभए छ र भन्नुभए छ, ‘तिमीहरूमध्ये जसले यो फिरादपत्र नहेरी राम्रोसँग लेख्न सक्छ, त्यो विद्यार्थी नै सबैभन्दा राम्रो हुन्छ ।’ सबैले प्रयास गरेछन् तर सबैभन्दा राम्रो फिरादपत्र हस्तबहादुरले लेखेपछि गुरु बलबहादुर उहाँबाट प्रभावित हुनुभए छ ।

हस्तबहादुर यसरी बलबहादुर गुरुको पाठशालामा साक्षर हुनुभएको थियो । त्यतिमात्र होइन, उहाँ त्यहाँ फिरादपत्र लगायत धेरै कुरा लेख्नसक्ने हुनुभएको थियो । त्यतिबेला नुवाकोट माल अड्डामा बलबहादुर जागिर खानुहुन्थ्यो । आफूले जागिर खाएको अड्डामा खाली भएका बेलामा बलबहादुरले आफूले पढाएकामध्ये केही टाठो विद्यार्थी हस्तबहादुरलाई रोज्नुभएछ । त्यसपछि ती गुरुचेलाको सम्बन्ध नयाँ भूमिकामा समेत देखिएको प्रा.डा.यमबहादुर क्षेत्री बताउँनुहुन्छ ।

६ कोस हिँडेर ३६ वर्ष जागिर खानुभयो
उहाँलाई जागिर खान बिहान आठबजे नै घरबाट हिँड्नुपर्ने हुन्थ्यो । बिहान घरबाट हिँडेपछि बेलुका पनि ८ वा ९ बजेमात्र घर फर्कने समय हुन्थ्यो । एकराहेमा रुद्रप्रसाद र पँधेरे खोलोबाट बलबहादुरलाई विदाई गरेपछि उहाँ ओहियासम्म एक्लै हिँड्नुहुन्थ्यो । वर्षा याममा अझ रातिको अँध्यारो समयमा उहाँले निकै गाह्रो गरी यात्रा गर्नुपथ्र्याे । पुलको समस्या त थिँदै थियो ।

हस्तबहादुरले पश्चिम ४ नं नुवाकोट मालअड्डाबाट विसं २००६ साल वैशाख १ गते जागिर सुरु गर्नुभएको थियो । जागिरका क्रममा हस्तबहादुर दैनिक ६ कोसको दूरीमा ओहियादेखि स्याङ्जासम्म र स्याङ्जादेखि ओहियासम्म ओहोरदोहोर गर्नुपथ्र्याे । उहाँले अमलदार पदमा जागिर सुरु गर्नुभएको थियो । उहाँ ३६ वर्ष ८ महिनासम्म सरकारी जागिरेका रूपमा जनताको सेवा गरेर २०४२ साल जेठ ८ गते सेवा निवृत्त हुनुभयो ।

नोकरीमा हुँदा उहाँ माल अड्डाको प्रिय कर्मचारी बन्नुभयो । उहाँको पद सामान्य थियो तर काम गर्ने क्षमता र लोकप्रियताका कारण उहाँले थुप्रै जिम्मेवारी पाउनुभयो । नोकरीका क्रममा उहाँले श्रेस्ता भिडाउने, हल, पाटे, कोदाले, रैकर, गुठी, माना चामल, रैकर पत्ता लगाउनु, दाखिला खारेज, नामसारी, लगत कट्टालगायतका विभिन्न काम गर्ने गरेको आँधीखोला-५ का पूर्वप्रधानअध्यापक त्रिभुवन शर्मा बताउँनुहुन्छ ।

जागिरका क्रममा त्यतिबेला यातायातको साधनको सहजता थिएन । त्यतिबेला प्रायः मानिस हिँडेर नै यात्रा गर्ने प्रचलन थियो भने एकाध हुनेखाने परिवारका मानिस घोडामा सवार हुन्थे । उहाँ जागिरे जीवनका प्रारम्भिक ५/६ वर्षसम्म नुवाकोट जाँदा घोडामा चढेर स्याङ्जा गएको काइँला छोरा मीनबहादुर बताउँनुहुन्छ । स्याङ्जा आएको एक वर्षपछि मात्र उहाँ घोडा छोडेर हिँडेर नै जाने गर्नुभएको रहेछ । यात्राका क्रममा बाटोमा बलबहादुर, हस्तबहादुर, रुद्रप्रसादलगायत व्यक्तिहरूको टोली गफिँदै ठुलीबेंशीको बाटो हिँड्थ्यो ।

बाटोमा प्रायः गाउँघरकै बिहान बेलुकीका गतिविधि नै कुराकानीका विषय बन्थे । दैनिक कृषिकर्म नै कुराकानीको केन्द्र बन्ने गरेको त्यतिबेला सँगै हिँड्नेमध्येका अलि कलिला चित्रबहादुर केसीको अनुभव रहेछ । गफ गर्दागर्दै गाईभैंसीका वा भेडाबाख्राका किनबेच बाटैमा हुन्थे । कतिपय पशुका गुण अवगुणका चर्चा हुन्थे । बाटो काट्नका लागि कहिले कसले कुराको थालनी गथ्र्याे भने कहिले कसले । पालैपालो कुरा सुनाउने प्रचलन जस्तै बनेको रहेछ ।

आजभन्दा आठ दशकअगाडिको नेपालको अर्थतन्त्र र रोजगारीको अवस्था कस्तो थियो होला ? पक्कै राम्रो थिएन होला । राणाशासनको सत्र वर्ष भोगेका हस्तबहादुर नेपालको प्रजातन्त्र काल, निरंकुश पञ्चायती व्यवस्था, बहुदलकालदेखि गणतन्त्रकालसमेत भोग्ने भाग्यमानी पात्र बन्न पुग्नुभयो । राणाशासन ढल्दै गर्दा जुँगाको रेखी भर्खर बस्दै गरेका हस्तबहादुरले पञ्चायतकालमा वडाध्यक्ष भएर काम गर्ने अवसर समेत पाउनुभयो । उहाँले वडाध्यक्ष भएर गाउँमा खानेपानी, बाटोघाटो, मन्दिर निर्माण, विद्यालको भौतिक संरचनाको स्तरोन्नतिलगायत महत्वपूर्ण काम गर्नुभयो ।

चिलाउनेबास प्रहरी चौकी स्थापनाको तत्कालीन आवश्यकतालाई राम्रोसँग बोध गरेका क्षेत्रीले चौकी निर्माणमा आफ्नो गाउँका सबै जनतालाई उत्प्रेरित गरेको रामकृष्ण पौडेल बताउँनुहुन्छ । उहाँले बालप्रेमी प्राथमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर खेलकुद मैदान निर्माण गर्नुभयो । विद्यालयका छाना फेर्नेदेखि रङ लगाउने तथा अन्य शैक्षिक गुणस्तरका क्षेत्रमा उहाँको कार्यकालमा महत्वपूर्ण कार्य गरेको तत्कालीन समयका प्रधानाध्यापक नरहरि ढकाल बताउँनुहुन्छ ।

युद्ध र द्वन्द्वको पीडा भोग्नुभयो
विस २०५२ साल फागुन १ गतेबाट नेपाली धरतीमा एउटा नयाँ खालको द्वन्द्वको बीजारोपण भयो । तत्कालीन समयमा राज्यसँग असहमति राखेर नेकपा माओवादी सशस्त्र द्वन्द्वमा होमियो । मुलुकका विकट पश्चिम पहाडबाट सुरु भएको माओवादी सशस्त्र युद्धले राज्य पक्षका सेना र प्रहरीमा ठूलो क्षति पुर्‍यायो । माओवादीले तत्कालीन समय प्रहरी चौकीमा आक्रमण गर्ने तथा जिल्लाका सदरमुकाम कब्जा गर्ने रणनीति लिएका थिए । हतियार भएका ठाउँलाई विशेष लक्षित गरेर उनीहरुले युद्ध केन्द्रित गरेका थिए । यस क्रममा दोहोरो भिडन्तको स्थिति देशैभरि सिर्जना भयो । ठूलो संख्यामा देशभक्त प्रहरी र सेनाले साहदत प्राप्त गर्नुपर्‍यो ।

तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको चपेटामा हस्तबहादुरको परिवार पनि पर्‍यो । उहाँका साहिँला छोरा हुमबहादुर क्षेत्रीले सशस्त्र प्रहरी निरीक्षकका रूपमा दाङको सतबरियामा बेस क्याम्पमा कार्यरत रहेका बेला २०५८ साल चैत २९ गते राति हतियारधारी माओवादी छापामारको आक्रमणमा परेर कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाउनुपर्‍यो । कमाण्डिङकै क्रममा बहादुरीका साथ रातभरि विद्रोहीहरूसँग लडेका क्षेत्रीले अन्तिमसम्म आफ्नो कर्तव्य निर्वाह गरेर वीरगति प्राप्त गर्नुभयो । गोली सकिएपछि विद्रोहीले कमाण्डरको नाताले उहाँलाई आत्मसमर्पण गर्न पटक-पटक आग्रह गरे । उहाँले आफू मर्न तयार रहेको तर आत्मसमर्पण नगर्ने बताएपछि उहाँसहितको अफिसर टोलीलाई विद्रोहीले गोली हानेका थिए ।

विद्रोहीसँग आत्मसमर्पण गरेको भए सायद उहाँले ज्यान फाल्नु पर्दैनथ्यो भन्ने कुरा लडाइँमा बाँचेका सिपाहीका भनाइबाट स्पष्ट हुन्छ । उहाँको राष्ट्रसेवाप्रतिको इमानदारी र उच्च कर्तव्यबोध वास्तवमै अनुकरणीय छ । युद्धमा हस्तबहादुरले एउटा होनहार छोरो त गुमाउनुभयो । त्यो दुःखले एउटा बाबुको मनमा पारेको क्षतिलाई पुर्ने अरू कुनै उपाय थिएन तापनि उहाँले एउटा वीर देशभक्त सन्तानको पिता हुन पाउने सौभाग्य साथसाथै प्राप्त गर्नुभयो । विद्वान्हरूले भनेकै छन् कि कायर भएर बाँच्नुभन्दा वीर भएर हाँसीहाँसी मर्नु महानता हो । उहाँले कायर भएर ‘सत्य सेवा सुरक्षणम्’ को मूल आदर्शलाई त्यागेर राष्ट्रप्रति र आफ्नो प्रहरी संगठनप्रति गद्दारी गर्नुभएन ।

बरु साहसका साथ छाती खोलेर दुश्मनको तातो गोली खान तयार हुनुभयो । उहाँको यही योगदानको कदर गर्दै ‘स्मृति र अनुभूतिमा सशस्त्र प्रहरी निरीक्षक स्व.हुमबहादुर जिसी’ प्रकाशन भयो । स्मरणीय के छ भने यो ग्रन्थ सशस्त्र प्रहरीद्वारा शहीदको सम्मान र स्मृतिमा निकालिएको पहिलो ग्रन्थ बन्यो । तर सन्तान पीडाको चोट कति असैहृय हुन्छ त्यो हस्तबहादुर जस्ता भोग्नेहरूले मात्र अनुभूति गर्न सक्छन् । यो उहाँको जीवनकै असैहृय चोट थियो तर पीडालाई सहनु र फेरि पनि जीवनको रथलाई अगाडि बढाउनुको उहाँसँग कुनै विकल्प थिएन, जानेलाई बिर्से पनि बाँकीलाई भविष्य देखाउनुथियो । बाँकी बाँच्नेहरूका लागि बुढो हुँदै गएको ज्यानलाई तरुण देखाएर अगाडि बढ्नुको विकल्प थिएन ।

राइँला छोरा यामबहादुर पनि नेपाल प्रहरीमै हुनुहुन्थ्यो । सिन्धुली त्यतिबेला अत्यन्तै संवेदनशील थियो । यामबहादुर तेक्वान्दो, कराते, मार्सल आर्टसमा दक्ष हुनुहुन्थ्यो । उहाँ शारीरिक रूपले तन्दुरुस्त र कुशल भएकाले डिएसपीको अंगरक्षक भएर सिन्धुली जानुभएको थियो । डिएसपीको अंगरक्षक भएका कारण उहाँ माओवादीको विशेष ‘टार्गेट’ मा परेको देखिन्छ । घरमै र पेशामा समेत माओवादी युद्धको पीडाजन्य अनुभूतिले उहाँभित्र एकप्रकारको मानसिक घात पैदा भएको रहेछ ।

मानिसका लागि युद्धको मनोवैज्ञानिक प्रभाव कति भयानक हुन्छ भन्ने कुरा युद्धलाई भोग्नेहरूका अपत्यारिला जस्ता लाग्ने फिल्मी शैलीका कहानीहरूबाट स्पष्ट हुन्छन् । आफ्नो मूल अभिभावक दाजुलाई युद्धमा निर्ममतापूर्वक माओवादीले गोली हानेर मारेको घटनाले प्रहरी सेवामै रहेका यामबहादुरलाई स्वतःपीडा दिइरहेकै थियो । विसं २०६३ सालमा म्याग्दीको बाबियाचौरमा प्रहरी सहायक निरीक्षकका रूपमा चौकी इन्चार्ज हुँदा उहाँले दुःखद् मृत्युवरण गर्नुभयो ।

यसरी दुईवटा छोरालाई गुमाएको चोटले हस्तबहादुरलाई एकप्रकारको पीडा दिएकै थियो । बिस्तारै शरीर पनि बुढ्यौलीमा प्रवेश गरेको थियो । जीवनको उत्तरार्धमा उहाँलाई विभिन्न प्रकारका रोगहरू लागे । उहाँको दुई पटकसम्म अपरेशन भयो । अपरेशनपछि उहाँको शरीर झन् कमजोर भयो । उहाँलाई मुटु, मृगौला र प्रेसरले थला पा¥यो । उहाँ ८७ वर्षसम्म बाँच्नुभयो ।

निष्कर्ष
हस्तबहादुरले आफ्नो जीवनको बाल्यकालदेखि नै अनेक संघर्ष र समस्यासँग जुध्नु पर्‍यो । उहाँले जीवनको महत्वपूर्ण समय परिवारको व्यवस्थापन र नोकरी तथा सामाजिक सेवामा खर्चिनुभयो । पारिवारिक जीवनमा सन्तानको वियोग उहाँका लागि सबैभन्दा पीडाको विषय बन्यो । दुई होनहार सन्तानलाई युद्धका कारण गुमाउनुपर्ने स्थिति एउटा बाबुका लागि कति पीडादायी होला त्यसको अनुमान गर्न पनि गाह्रो हुन्छ । तर, यति भएर पनि उहाँले जीवनका सबै पारिवारिक उत्तरदायित्वलाई कुशलतापूर्वक वहन गर्नुभयो । शोकलाई शक्तिमा बदलेर उहाँ परिवार, समाज र राष्ट्रसेवाप्रतिको कर्तव्यलाई पूरा गर्न सफल बन्नुभयो ।

समाज र राजनीतिमा वडाध्यक्षसम्मको नेतृत्व गर्दै उहाँले आफ्नो क्षमताले भ्याएसम्मका कामहरू पनि गर्नुभयो । खानेपानी, चौकी निर्माण, विद्यालय सुधार, मन्दिर निर्माणजस्ता कामदेखि नोकरीका सन्दर्भमा जनताको काम छिटोछरितो गरिदिने जनतामैत्री सेवकका रूपमा हस्तबहादुर एउटा छुट्टै परिचय बनाउन सफल हुनुभयो । १४ वर्षको उमेरमा ‘कखरा’ सिकेर त्यस्तो युगमा पनि निजामतीको जागिर खाने तथा सामान्य तहमा जागिर खाएर पनि उच्च लोकप्रियता र प्रतिष्ठा कमाउन सक्ने सफल व्यक्तिका रूपमा उहाँलाई मानिसहरूले युगयुग सम्झने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?