न्यायालय र न्यायकर्मीहरुको स्तर धेरै खस्कियोे सुधार हुन जरुरी : कानून व्यवसायीहरु

हिमालय टाइम्स
Read Time = 18 mins

काठमाडौं । कानूनविद्हरुले गुणस्तरीय न्याय सम्पादनका लागि नेपाल प्रहरीको अनुसन्धानदेखि सरकारी वकील, अदालतको फाँट र न्यायपालिकाको काममा सुधार हुनुपर्ने बताएका छन् ।

बिहीवार नेपाल बार एशोसिएशनको ६७ औं दिवसका अवसरमा बार परिसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कानूनविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले गुणस्तरीय न्याय सम्पादन हुन नसक्नुमा वकालत र वकीलहरुको मात्रै दोष नरहेको र यसमा सिंगो प्रणाली दोषी रहेको बताए । उनीहरुले न्यायकर्मीहरु स्वार्थ पूरा गर्नका लागि भन्दा पनि न्याय भयो कि भएन भन्ने कुरामा जोड दिएर अघि लाग्नुपर्ने बताए ।

उनीहरुले न्यायालय र न्यायकर्मीहरुको स्तर धेरै नै खस्किएकाले न्यायालयको सुधार हुन जरुरी भइसकेको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायलयमा हुने विकृति, विसंगतिबिरुद्ध नेपाल बार एशोसिएशन न्यायपालिकाको शुद्धीकरणका लागि लागेको बताउनु भयो ।

उहाँले नेपाल बार विचौलिया बिहीन न्यायपालिका बनाउनुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनु भयो । उहाँले न्यायमा जनताको सहज पहुँच होस् भन्ने विषयमा बार लागिपरेको बताउनु भयो । अध्यक्ष घिमिरेले नेपाल बार एशोसिएशन आवद्ध कानून व्यवसायीहरुले राजनीतिक कुरा गर्नै नहुने भन्ने नरहेको तर न्याय सम्पदानमा राजनीति गर्नुनहुनेमा बार स्पष्ट रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायालयले निकालकोे प्रतिवेदनमा नै न्यायालयमा विकृति, विसंगति, भ्रष्टाचार छ भनेको छ । विचौलियाद्वारा न्याय किनबेच हुन्छ, भन्नेकुरा व्यापक उठेको छ । विकृति, विसंगतिबिरुद्ध नेपाल बार एशोसिएशन लगातार विचौलिया बिहीन न्यायपालिका चाहिन्छ भन्ने अभियानमा छ । हामी अहिले न्यायपालिकाको शुद्धिकरणको अभियानमा छौँ । न्यायमा जनताको सहज पहुँच होस् भन्ने विषयमा हामी लगातार काम गरिरहेका छौँ । नेपाल बारले न्यायालयको गुम्न लागेको साखलाई बचाउन लगातार लागिरहेको छ । वकालतमा बसेका व्यक्तिहरुले राजनीतिक कुराहरु गर्नु अस्वभाविक होइन तर राजनीतिक एजेण्डा मात्रै बोक्छन् भन्ने होइन, नेपाल बार एशोसिएशन आवद्ध कानून व्यवसायीहरुले राजनीति कुराहरु पनि गर्छन्, राजनीति विकृतिका कुराहरु पनि गर्छन् । केही मानिसहरुको कारणले वकालतलाई बदनाम गर्न खोजिएको छ । वकालतमा धेरै मानिसहरु राम्रा छन् । गुणस्तरीय न्याय सम्पादन हुन नसक्नुमा वकालत र वकीलहरुको मात्रै दोष होइन । कानून व्यवसायीको मात्रै दोष होइन, सिंगो प्रणाली दोषी छ । प्रहरीको अनुसन्धानदेखि सुधार जरुरी छ, सरकारी वकीलमा सुधार जरुरी छ । अदालतको फाँटमा सुधार जरुरी छ । न्यायपालिकामा काम गर्ने सुधार हुन जरुरी छ ।’

त्यस्तै अधिवक्ता तुलसीराम पराजुलीले पछिल्लो समय अदालत, बार र कानून व्यवसायीप्रति न्याय सम्पादनको विषयमा नराम्रा धारणाहरु आइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दिनमा भएका गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने र न्याय सम्पादन गर्नेहरुले पैसा धेरै असुल गर्नेकुरालाई युवा कानून व्यवसायीहरुले रोक्न आवश्यक रहेको बताउनु भयो । उहाँले कानून व्यवसायीहरु राजनीतिमा नभइ आफ्नो पेशाप्रति बढी जिम्मेवार रहनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय अदालत, बार र कानून व्यवसायीप्रति एक किसिमको धारणा बाहिर भएको छ, वकीलहरु पनि एउटा पक्षसँग मिल्छन् भन्ने छ । आगामी दिनमा यसलाई सच्याउने दिशामा बार अघि बढ्नेछ । पैसा धेरै असुल गरेको भन्ने पनि छ, यसमा हामी युवा कानून व्यवसायीहरु थप सशक्त ढंगबाट अघि बढ्छौँ । कानून व्यवसायीहरु नितान्त आफ्नो पेशाप्रति बढी जिम्मेवार हुनुपर्छ । राजनीति वकालत भित्र छिर्नु राम्रो होइन । कानून व्यवसायीहरु पनि दुई ध्रुवमा विभाजित भएका छन्, आफ्नो स्वार्थ पूरा गर्न एउटा ध्रुवमा जान्छौँ, स्वार्थ पूरा भएपछि अर्कोमा जान्छौँ यो राम्रो होइन ।’

त्यस्तै अधिवक्ता भानुरोशन राजभण्डारीले मुद्दा पक्षधरहरु नै आफ्नो मुद्दाहरुमा सचेत भइरहेको अवस्थामा कानून व्यवसायीहरु सचेत भएर अघि बढ्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले आगामी दिनमा गुणस्तरीय न्याय सम्पादनमा भइरहेका गल्तीहरु सुध्रिँदै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुद्दाका पक्षहरु नै आफ्नो मुद्दामा सचेत भएका छन्, त्यसैले कानून व्यवसायीलाई पनि हेर्ने हुनुहुन्छ, यसमा सुधार हुँदै जान्छ । स्वभाविक रुपमा कानून व्यवसायीहरु पनि विभिन्न दलमा आवद्ध हुनुहुन्छ । त्यो आवद्ध हुँदैमा आफ्नो पेशगत धर्म नै छोड्यो भन्ने हुँदैन ।’
त्यस्तै वरिष्ठ अधिवक्ता सविता भण्डारी (बराल) ले वकिलहरु बहस पैरवीमा आर्थिक चलखेल गर्दैनन् भन्न नसकिने बताउनु भयो । उहाँले केही मुद्दा र परिणामहरु अ‍ेर्दा आफैँले त्यस्तो आभाष गरेको बताउनु भयो । हरेक वकीलका आफ्ना राजनीतिक आस्था र विचार भएकाले राजनीतिक एजेण्डा बोकेको बताउनु भयो । उहाँले अदालतमा न्यायाधीश र वकीलले गर्ने व्यवहार देख्दा कानून व्यवसायीहरुलाई नै निराशा लाग्ने गरेको बताउनु भयो । उहाँले न्यायालय शुद्धीकरणका लागि बार र बेन्च प्रतिद्वन्दी नभइ सहयोगी बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वकिलहरु बहस पैरवीमा आर्थिक चलखेल गर्दैनन् भन्न सकिँदैन । अहिलेका का.मु. प्रधानन्यायाधीशले धेरै अध्ययन गरेर प्रतिवेदन नै बुझाउनुभएको थियो । त्यसमा हामीलाई पनि कताकता आभाष भएको छ । ठोस रुपमा यसले नै यस्तो गरेको छ भन्ने छैन, तर कुनैकुनै मुद्दाका परिणाम र वकीलहरुले हेर्दा यी व्यक्तिले आर्थिक चलखेल गरेकी भन्ने अनुभुति हुन्छ । हरेक वकीलका आफ्ना राजनीतिक आस्था र विचार छन् । त्यसकै पछि लागेका हुन् । राजनीतिक एजेण्डा नै बोकेर हिँडेका छन् भन्ने लाग्दैन । अदालतमा न्यायाधीश र वकीलले गर्ने व्यवहार देख्दा मलाई नै निराशा लाग्छ । वकीलहरुको अवस्था पनि तल खस्किएको छ, न्यायालयको अवस्था पनि खस्केको छ । वकीललाईपनि सबै बुझिसक्यौँ भनेर बोल्न दिइँदैन । वकीलले पनि भन्न त्यत्ति चाहँदैन, न्यायालय शुद्धिकरणका लागि बार र बेन्चकै प्रश्न हो, बार र बेन्च लाग्यो भने न्यायालय शुद्धीकरण हुन्छ, बार र बेन्च प्रतिद्वन्दी नभइ सहयोगी हौँ भनेर लाग्ने हो भने राम्रो हुन्छ ।’

त्यस्तै नेपाल बार एशोसिएशनकी महासचिव अधिवक्ता वकील अञ्जिता खनालले वकीलहरु कुनैपनि राजनीतिक दलहरुको एजेण्डा बोकेर न्याय सम्पदानमा नलाग्ने बताउनु भयो । उहाँले चुनावमा उठ्दा, टिकट लिँदाका सन्दर्भ बाहेक अन्य बेलामा कानून व्यवसायीका एजेण्डालाई अघि सारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वकीलहरुले कुनै दलका एजेण्डा बोक्दैनन् । उनीहरुले सबै कानून व्यवसायीका एजेण्डा बोक्छन्, चुनावमा उठ्दा, टिकट लिँदाका सन्दर्भमा कसैसँग राजनीतिक एजेण्डामा रहेका हुन्छन् । पेशलाई मर्यादित बनाएपछि शुद्धिकरण आफैँ हुन्छ ।’
त्यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले अहिले नेपाल बार न्यायालय सुधारका लागि लागिपरेको बताउनु भयो । उहाँले वकीलहरु राजनीतिक दलहरुको एजेण्डा बोकेर हिँड्ने कुरामा भने धेरै दुःख लाग्ने गरेको बताउनु भयो । उहाँले राजनीतिक व्यक्तिको चाकडी गर्न थालेपछि न्यायपालिकामा विकृति पैदाभएको बताउनु भयो । न्यायालयमा बहस भन्दा पनि झगडा हुने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी न्यायालय सुधारका लागि लागिपरेका छौँ । वकीलहरु राजनीतिक दलहरुको एजेण्डा बोकेर हिँड्ने कुरा मलाई धेरै दुःख लागेको छ । राजनीतिक व्यक्ति हामीसँग आउँथे, हामीले उनीहरुलाई पोस्थ्यौँ, उनीहरुको मद्दत गथ्र्यौं तर २०४६ सालपछि हामी उल्टो बाटो गयौँ । हामीले राजनीतिक व्यक्तिको चाकडी गर्न थाल्यौँ । राजनीतिका कुरा अहिले बारमा गर्न पाइँदैन, त्यसले सुधार ल्याएको छ । यो युगमा वकील र न्यायाधीश मिलेका छैनन् । बहस भन्दा पनि हामी झगडा गर्छौं ।’

त्यस्तै वरिष्ठ अधिवक्त शम्भु थापाले कानून व्यवसायीको क्षेत्रमा ठूलो शुद्धीकरण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कानून व्यवसायीहरु राजनीतिप्रति भ्रातृ संगठनकै रुपमा खडा भएकाले भ्रातृ संगठनलाई समाप्त गर्नसके न्यायालयको शुद्धीकरण हुने बताउनु भयो । उहाँले राजनीतिक दल र कानून व्यवसायीहरु नै यस्ता भ्रातृ संगठनहरु समाप्त गर्न तयार नरहेको बताउनु भयो ।न्यायाधीश नियुक्तिको प्रक्रिया नै डिफेक्टिभ रहेको बताउनु भयो ।जसकारण आवश्यक न्यायाधीशहरुको संख्या अदालतमा पूर्ण हुन नसकेको र संविधानको व्यवस्था नै खोटपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून व्यवसायीको क्षेत्रमा ठूलो शुद्धीकरण गर्न जरुरी छ । कानून व्यवसायीहरु राजनीतिप्रति भ्रातृ संगठनकै रुपमा खडा छन् । त्यसले गर्दा कानून व्यवसायी स्वतन्त्र छन् वा छैनन् वा राजनीतिक दलका एजेण्डा नै बोकेर हिँड्का छन् की भन्ने भएको छ । भ्रातृ संगठनलाई हामीले समाप्त गर्नसक्यौँ भने शुद्धीकरण हुन्छ । त्यसका लागि राजनीतिक दल र कानून व्यवसायीहरु तयार छैनन् । कानून व्यवसायीहरु कुनै न कुनै विचारधाराबाट प्रेरित छन् । उनीहरुले आफ्नो सुरक्षाको लागि संगठन खोजेका छन् । यसमा विकृति आइरहेको छ । वकीलहरु न्याय सम्पादन राम्रोसँग हुन नसक्नुमा धेरै दोषी छन्, उनीहरुले मुद्दा लामो बनाइरहेका हुन्छन् जसकारण पनि अर्को पक्षलाई हानी पुगिरहेको हुन्छ । नचाहिँदा मुद्दाहरु हालेका हुन्छन् । न्यायाधीश नियुक्तिको प्रक्रिया नै डिफेक्टिभ छ । त्यसले गर्दा पनि न्यायाधीशको संख्या सर्वोच्च अदालतमा पूरा नहुने सर्वोच्च अदालत नै ढिलो छ । नियुक्ति गर्न नै सकिरहेको छैन । यसमा संविधानको व्यवस्था नै खोटपूर्ण छ । यसलाई पनि सपार्न जरुरी छ ।’

त्यस्तै नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले न्यायकर्मीहरु आफ्नो स्वार्थ नलागेको बताउनु भयो । उहाँले नेपाल बार अहिले न्यायालय सुधाररोन्मुख रहेको बताउनु भयो । पहिलादेखिका मुद्दाहरु फछ्र्यौट गर्न बाँकी रहेकाले न्याय सम्पादनमा ढिलासुस्ती भइरहेको भन्दै अहिले सबै मिलेर पुराना मुद्दाहरुको छिनोफानो गर्ने प्रयासमा लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘न्यायपालिकाको नै नेतृत्वले करप्शनको निर्णय गरेकाले केही कुराहरु निस्किएका हुन् । तर न्यायकर्मीहरु आफ्नो स्वार्थको लागिपरेका छैनन् । कानूनमा सुधारको कुरा हामीले गरेका छौँ, हामी सुधारतर्फ उन्मुख छौँ । न्याय सम्पादनको लागि सर्वोच्च अदालतमा ढिलासुस्ती जो भएका छन्, त्यो धेरै वर्षअघिका मुद्दाहरु छन्, त्यसको फछ्र्याैटका लागि हामी एक भएर लागेका छौँ ।’

त्यस्तै काठमाडौं जिल्ला बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेलले नेपाल बारले युवालक्षित कार्यक्रमहरु गर्न नसक्दा नयाँ कानून व्यवसायीहरु बिस्थापित भइरहेको बताउनु भयो । उहाँले नयाँ कानून व्यवसायीलाई कसरी पेशामा रही राख्ने वातावरण सिर्जना गर्ने भन्नेकुरा बारले सोच्न जरुरी रहेको बताउनु भयो । अहिलेसम्म स्वतन्त्र न्यायपालिकाको नारा मात्रै लगाइएको तर अब काम गरेर देखाउनुपर्ने बेला भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल बारले युवालक्षित कार्यक्रमहरु गर्न सकेको छैन । युवा लक्षित कार्यक्रम नल्याइकन अघि बढ्नुको अर्थ हुँदैन । धेरै युवाहरु आफ्नो पेशाबाट बिस्थापित भइरहेका छन् । नयाँ कानून व्यवसायीलाई कसरी पेशामा रही राख्ने वातावरण सिर्जना गर्ने भन्नेकुरा बारले बल्ल अघि सारेको छ । स्वतन्त्र न्यायपालिकाको सुँगा रटाई गरिरहेका छौँ । स्वतन्त्र न्यायपालिका भन्दै गर्दा किन स्वच्छ बनाउन सकेनौँ भन्ने चर्चा छ । अब हामीले सधैँ स्टाब्लिस गर्नेकुरामा भन्दा जनताको अदालत हुने किसिमको अदालत बनाउनु पर्छ ।’
त्यस्तै ललितपुर बार एशोसिएशनका सचिव अधिवक्ता कृष्णप्रसाद सुवेदीले कानून व्यवसायीहरु आर्थिक रुपमा विचलित नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी आर्थिकरुपमा नै हामी विचलित भएका होइनौँ । कसले कति पारिश्रमीक लिने भन्नेकुरा नतोकिएकाले कताकता धेरै थोरै भएको हो । हामीले निःशुल्क सेवालाई प्राथमिकतामा राखेका छौँ ।’

अधिवक्ता सुवेदीले कानूनकर्मीहरुको पारिश्रमीक नतोकिँदा केही ठाउँमा समस्या भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?