निजी विद्यालयका विद्यार्थीमा सिकाइ संस्कृतिको खोजी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । अधिकांस विद्यालयहरूमा बालबालिकालाई पढाइन्छ, तर सिकाइँदैन । उनीहरु दिनभर पढ्छन्, धेरै कुरा सिक्छन्, तर सीप सिक्दैनन् । उनीहरू पढ्न-लेख्न जान्दछन्, तर काम गर्न जान्दैनन् । किताबका कुरा पढाइन्छ, घोकाइन्छ र त्यही रटाइन्छ । जसले पढेको, घोकेको, रटेको कुरा जाँचमा दुरुस्त लेख्न सक्यो, ऊ उत्तम विद्यार्थी ठहरिन्छ । जसले त्यसरी दुरुस्त लेख्न सक्दैन, ऊ खत्तम विद्यार्थी ठहरिन्छ । पढेका कुरा मात्रै काम लाग्छन् जाँचमा, सिकेका कुरा काम लाग्दैनन् । जाँचमा त जे पढाइएको छ, घोकाइएको छ र रटाइएको छ, त्यसैका आधारमा मूल्यांकन हुन्छ ।

विद्यार्थीले उत्तरपुस्तिकामा जे लेखेका छन्, त्यसैका आधारमा मात्रै उसको ज्ञानको मूल्यांकन गरिन्छ । उसका सीप र क्षमता मूल्यांकन गर्ने पद्धति त अपनाइएकै छैन् । तर विद्यार्थीमा त्यही व्यवहारिक क्षमताको अभ्यास र सिकाई संस्कृतिको खोजी गर्ने प्रयासमा कोएस्ट नेपाल रहेको छ । निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुमा भएको क्षमता र सिकाइ संस्कृतिको खोजी गर्ने उद्देश्यले कोएस्ट नेपालको आयोजना, श्रीनगर हब र पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आतिथ्यतामा तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ आयोजना गरिएको छ ।

सम्मेलनमा निजी विद्यालयका विद्यार्थीहरुमा रहेको कला, सिप र क्षमताको प्रदर्शन गरिएको थियो । जहाँ विद्यार्थीहरुले विद्यालयमा गरेका शैक्षिक गतिविधिहरुको अनुसन्धानात्मक केस स्टडी, हाजिरी जवाफ, कथा लेखन, पेण्टिङ ड्रोइङका विभिन्न विधामा एक आपसमा प्रतिस्पर्धा गर्नुको साथै सामूहिक छलफल समेत गरेका थिए । सोही अवसरमा उनीहरुलाई फोटो खिच्न र ध्यान गर्न समेत सिकाइएको थियो ।

पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कुलमा भएको सम्मेलनमा विद्यार्थीहरुले आ-आफुसँग भएका कला र क्षमता देखाएका थिए । विद्यार्थीले व्यक्तिगत जीवनमा हुने व्यावहारिक कामबारेमा तर्कवितर्क समेत गरेका थिए । सम्मेलनले विद्यार्थीलाई पाठ रटाउने तर पाठ्यक्रमले खोजेको क्रियाकलापमा संलग्न नगराउने शैक्षिक परिपाटीको अन्त्यको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । कन्भेन्समा कक्षा १ देखि १० सम्मका १ सय ३४ विद्यार्थी सहभागिता रहेको कार्यक्रम संयोजक शोभा भट्टराईले जानकारी दिनुभयो ।

सम्मेलनले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान सिक्न र उनीहरुमा भएको क्षमताको मूल्यांकन गर्न महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी प्रदेश सांसद खेम सारुले बताउनुभयो । सम्मेलनको उद्घाटन गर्दै उहाँले विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी व्यवहारिक ज्ञान र सिप अहिलेको आवश्यकता रहेको औल्याउनुुभयो । सांसद सारुले विद्यार्थीको गुणस्तरीय क्षमता अभिवृद्धि र अब्बल विद्यार्थी उत्पादनमा यस्ता सम्मेलनले टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पाल्पा प्याब्सनका अध्यक्ष महेशमान बज्राचार्य, तानसेन ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, पाल्पा व्यापार संघका अध्यक्ष एवं पाल्पा प्यारागनका सञ्चालक बामदेव बस्याल लगायतले विद्यार्थीको व्यवहारिक क्षमताको खोजी गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।

सम्मेलनले विद्यार्थीलाई गुड र स्मार्ट क्वालिटीको बनाउनेमा एनसी एसक्यूसी नेपालका केन्द्रीय सदस्य गंगाबहादुर खत्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यतताक्रम हासिल भए पनि विशेष सीप नहुने हुँदा समस्या भएको छ ,यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ । ’ ‘पढेर धेरै नम्बर ल्याउनुपर्छ भन्ने मात्रै सोंच छ । अहिलेका समालोचनात्मक चिन्तन, आत्मबोध, आत्ममूल्याड्ढन जस्ता सीप नै छैन । यस्ता सीप विद्यार्थीहरुका लागि आवश्यक छ ’ खत्रीले भन्नुभयो ।

विद्यार्थी गुणीयचक्र एउटा प्रक्रिया भएको र उनीहरुमा अन्तर्निहित रहेका प्रतिभाको प्रस्फुटन गर्न यो कार्यक्रमले उपयोगी भूमिका निर्वाह गर्ने पाल्पा हवको पूर्व संयोजक अशेष भट्टराईले बताउनुभयो । आधुनिक शिक्षासँगै वैज्ञानिक तरिकाले संस्कारयुक्त ज्ञान प्राप्त गर्न कार्यक्रम प्रभावकारी बनेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?