के भारतले चन्द्रयान–३ को ल्यान्डर बिउँतिने आस मारिसकेको हो ?

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । चन्द्रमामा भारतले पठाएको चन्द्रयान(३ को ल्यान्डर समय घर्किँदै जाँदा बिउँतिने सम्भावना क्षीण हुँदै गएको भारतीय अन्तरिक्ष वैज्ञानिकहरूले बताएका छन्। चन्द्रमामा रात परेपछि विक्रम नामक उक्त ल्यान्डरसँग भारतीय अन्तरिक्ष निकायको सम्पर्क भङ्ग भएको थियो।

चन्द्रमामा रात निकै चिसो हुन्छ। रात बितेर दिन लागिसक्दा पनि उक्त ल्यान्डरबाट कुनै सङ्केत प्राप्त हुन सकेको छैन। तर वैज्ञानिकहरूले चन्द्रदिनको अन्त्यसम्म विक्रमसँग सम्पर्क गर्ने प्रयास जारी राखिने जनाएका छन्।

चन्द्रमामा एक दिन र एक रात दुवै पृथ्वीका १४ दिन बराबर हुन्छन्। भारतीय अन्तरिक्ष निकाय इसरोले शुक्रवार उक्त ल्यान्डर र रोभरसँग नयाँ चन्द्रदिन सुरु भएसँगै सम्पर्क स्थापित गर्ने प्रयास गरिएको तर कुनै सङ्केत प्राप्त नभएको जनाएको थियो ।

प्रज्ञान रोभरलाई बोकेको विक्रम ल्यान्डरले गत अगस्टमा यसअघि अन्वेषण नगरिएको चन्द्रमाको दक्षिणी ध्रुवनजिकै अवतरण गरेको थियो। तिनले दुई सातामा विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू सङ्कलन गरेका थिए। त्यसपछि तिनलाई चन्द्रमा रात पर्नुअघि स्लीप मोडुमा निष्क्रिय बनाएर राखिएको थियो।

प्रयास जारी

इसरोले यही सेप्टेम्बर २२ आसपास चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा ब्याट्रीहरू रिचार्ज हुने र ल्यान्डर बिउँझिने आशा गरिएको बताएको थियो। शुक्रवार इसरोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चारसम्पर्क स्थापना गर्ने प्रयास जारी रहने छ।’

त्यसपछि त्यसको अवस्थाबारे कुनै औपचारिक जानकारी दिइएको छैन। सोमवार बिहान इसरोका प्रमुख एएस किरण कुमारले बीबीसीसँग कुरा गर्दै ल्यान्डर बिउँतिने सम्भावना समय घर्किँदै जाँदा क्षीण भएको बताए।

चन्द्रमाको दक्षिण ध्रुवनजिकैको तापक्रम रातमा माइनस २०० डिग्री सेन्टिग्रेडदेखि माइनस २५० डिग्री सेन्टिग्रेड पुग्ने बताउँदै उनले भने, ‘ल्यान्डर र रोभरका कैयौँ अवयवहरू चन्द्रको बरफ जम्ने तापक्रमबाट काम नगर्ने भएका हुनसक्छन्।’

ल्यान्डरमा भएको ट्रान्समिटर नचलेसम्म हामीसँग सम्पर्क स्थापित हुँदैन। उसले हामीलाई आफू जीवितै रहेको जनाउ दिनुपर्छ। अन्य सबै सहयोगी प्रणालीहरूले काम गरेका छन् भने पनि हामीसँग त्यो थाहा पाउने अरू उपाय छैन, उनले भने।

इसरोका एक प्रवक्ताले उक्त ल्यान्डर र रोभरसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी राखेको बताएका छन्। भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान(३ लाई सफलतापूर्वक अवतरण गराउँदै कीर्तिमान बनाएको थियो। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।

चन्द्रयान-३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ। यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखावरपर आआफ्ना अन्तरिक्षयान अवतरण गराएका थिए।

सावधानी र आशा

अवतरणको दिन समेत सावधानीपूर्वक तय गरिएको थियो। उक्त दिन चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भसँग मिल्ने भएकाले उनीहरूले सौर्य प्रकाशबीच दुई साता काम गर्ने अवसर पाएका थिए।

भारतीय अन्तरिक्ष निकायले ती ल्यान्डर र रोभरका गतिविधि र निष्कर्ष एवम् तिनले सङ्कलन गरेका तस्बिरहरू निरन्तर सार्वजनिक गरेका थिए। ल्यान्डर र रोभरलाई स्लीप मोडमा राखेपछि इसरोले ती दुवैले आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गरेको तर अर्को चन्द्रदिनको आरम्भमा पुनः बिउँतिे आशा गरिएको बताएका थिए।

यसअघि चीनले पठाएका चाङ-अ फोर ल्यान्डर र युटुटू रोभर चन्द्रमा सूर्योदय हुँदा कैयौँ पटक बिउँतिएको विज्ञहरू सम्झिन्छन्। तर इसरोले ठूलो आशा जगाउन खोजेको छैन। यदि विक्रम र प्रज्ञान बिउँतिएनन् भने ती चन्द्रमामा भारतको दूतका रूपमा रहने छन्। बीबीसी नेपालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?