मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।

सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।”

वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको छ ।”

अहिले तत्काल ‘हेडवर्क’सम्म पुगेर काम गर्न सकिने अवस्था नभएको सूचना अधिकारी पन्तले बताउनुभयो । पानी पर्न छाडेर नदीमा पानीको बहाव स्थिर भएमा त्यसपछि मात्रै हेडवर्कमा उपकरण लगेर सफाइ र मर्मतको काम गरिने उहाँले जानकारी दिनुभयो ।

सुरक्षा अपनाउँदा अपनाउँदै गेट नम्बर १ पुरिएको देखिएको उहाँले बताउनुभयो । वैकल्पिक सुरुङभित्र पनि बालुवा छिरेको जस्तो देखिएको र यदी त्यसो भएमा सफा गर्न समय लाग्ने उहाँको भनाइ छ । पहिले सुरुङ बन्द गर्दा सबै गेट राम्ररी राखिएको छ । तिनलाई उपकरणबाट चलाउन सकिन्छ भन्ने अपेक्षा आयोजनाको रहेको थियो । तिनलाई वर्षा रोकिएपछि सजिलै चलाउन सकिने छन् भन्ने भए पनि अहिलेको क्षतिले त्यो अवस्था नभएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

उहाँका अनुसार अहिले गेट नम्बर १ र ९ पुरिएको अवस्थामा छन् । उहाँले भन्नुभयो, “हेडवर्क डाइभर्सन सुरुङभित्र पनि केही छिरेको हुनसक्ने र त्यसो हुँदा समय लाग्नसक्ने देखिएको छ ।” दुई वर्षसम्म आयोजनाले अस्थायी रुपमा नै पानी चलाएको थियो । लगानीको प्रतिफल आउँदा नआउँदै फेरि क्षति पुगेको छ । सरकारले अस्थायी रुपमा चलाउने हो भने त्यसका लागि गर्नुपर्ने काम कसरी गर्ने भनी निर्णय हुनुपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्णय भएपछि अस्थायी रुपमा चलाउन तयारी गरिनेछ ।”

गत दुई वर्षमा उपत्यकामा पानी ल्याएर केही राहत दिइएको उहाँले बताउनुभयो । बर्सेनि गरेको काममा फेरि खोलाले पुर्ने र फेरि गर्नुपर्ने भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हरेक वर्ष दोहोराएर गर्ने कि नगर्ने निर्णय हुन जरुरी छ ।”

अहिलेसम्म क्षतिका बारेमा स्थलगत रुपमा पुगेर हेर्न सकिएको छैन । आयोजनाले ड्रोनबाट हेर्दा गेट नं १ र ९ पुरिएको देखिएको हो । गेट नं १ बाट डाइभर्सन सुरुङ हुँदै केही गेग्र्यान छिरेको हुनसक्ने र धेरै जम्मा भएर बसेको भए सफा गर्न बढी समय लाग्ने हुनसक्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

अहिले संरचना पुरिएको अवस्थामा रहेकाले कति क्षति भयो भनी यकिन भइसकेको छैन । गत वर्ष गरेको केही काम अहिलेको बाढीले क्षति पु¥याएको थियो । सुरुङ सफा गर्नका लागि जमिन मुनि ‘फल्सिङ सिस्टम’ (अन्डरग्राउन्ड स्ट्रक्चर) बनाएको थियो । त्यो क्षति भएको छ छैन भनी बाहिरबाट हेरेर भन्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थलगत रुपमा हेरेर नै कुनकुन संरचनामा कतिकति क्षति पुगेको भन्न सकिन्छ ।”

आयोजनानमा थप काम गर्नका लागि सरकारले अस्थायी रुपमा पानी चलाउने निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो । अस्थायी रुपमा पानी चलाउनका लागि पुराना निर्माण व्यवसायीबाटै गराउने हो भने भुक्तानी कसरी गर्ने टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लम्बिँदै गएको पहिलेका ठेक्का सकाएर नयाँ ठेक्का गर्ने कि तिनलाई मूल्याङ्कनबाट गराउने भन्ने निर्णय गर्नुपर्छ ।”

सिनो हाइड्रोको ठेक्का र हेडवर्क निर्माणको चालु ठेक्कामा गत वर्ष कामको मूल्याङ्नका आधारमा भुक्तानी गरेर काम चलाइएको उहाँले बताउनुभयो । गत वर्ष हेडवर्क सफा गर्ने र ठूलाठूला ढुङ्गा फुटाउने काम गर्न मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । उहाँले भन्नुभयो, “खानेपानी मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय भएपछि नै काम गर्न सकिनेछ ।”

सरकारले पहिलो पटक विसं २०७७ चैतमा र दोस्रो पटक विसं २०७८ चैतमा तथा तेस्रो पटक गत वर्ष मङ्सिरमा मेलम्चीको पानी उपत्यकामा वितरण गरेको थियो । पहिलो पटक वितरण सुरु गरिएको केही महिनामा आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारण आयोजनाका धेरै संरचनामा क्षति पुगेको थियो । बाढीका कारण मानवीय क्षतिसमेत भएको थियो । त्यो क्षतिको पुनःनिर्माण नसकिँदै पुनः आयोजनाका संरचनामा अहिले क्षति पुगेको छ ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?