विश्व क्रिकेटमा नेपालको कीर्तिमानै कीर्तिमान

हिमालय टाइम्स
Read Time = 9 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । १९औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले एकैदिन विभिन्न विश्व कीर्तिमान बनाएको छ । बुधबार मंगोलियाविरुद्धको टी-२० विश्व क्रिकेटमा नेपाललले आधा दर्जनबढी विश्व कीर्तिमान बनाएको हो । जुन क्रिकेट इतिहासमै सम्झनलायक छन् । विभिन्न विश्व कीर्तिमानसँगै नेपालले प्रारम्भिक चरणको खेलबाट महत्वपूर्ण अंकसमेत बटुलेको छ । जसमा ६ विश्व कीर्तिमानसहित १४ वटा कीर्तिमान छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरले पराजित गरेको हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको थियो । जवाफमा मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो ।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा नटआउट रहनुभयो । रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट हुनुभयो । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहनुभयो । यस खेलमा नेपालले टी-२० अन्तर्राष्ट्रियमा तीन सय रन बनाउने पहिलो टोलीको कीर्तिमान कायम गर्‍यो । यस फम्र्याटमा यसअघि उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो । त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २७८ रन बनाएको थियो । यस्तै, कुशल मल्लले ३४ बलमा शतक प्रहार गर्दै टी-२० आई इतिहासकै सर्वाधिक छिटो शतकको कीर्तिमान राख्नुभयो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक प्रहार गर्नुभएको थियो । उक्त कीर्तिमान कुशलले भंग गर्नुभएको हो ।

दीपेन्द्रसिंह ऐरीले ९ बलमा ८ छक्कासहित ५० रन बनाउँदै सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गर्नुभयो । यो कुनै पनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि २००७ मा टी-२० आईमा भारतका युवराज सिंहले १२ बलमा इंग्ल्याण्डविरुद्ध राखेको कीर्तिमान उहाँले भंग गर्नुभएको हो । क्रिकेटमा नौ बलभन्दा कम बलमा अर्धशतक बन्न असम्भव जस्तै छ । किनकि हरेक बलमा छक्का प्रहार गर्दा मात्र नौ बलमा अर्धशतक पूरा हुन्छ । त्यसैले नौ बलभन्दा कम बलमा अर्धशतक नै बन्दैन । आठवटै बलमा लगातार छक्का प्रहार गरे पनि त्यतिबेला ४८ रन मात्र बन्नसक्छ । त्यसैले ऐरीको यो विश्व कीर्तिमान तोडिने देखिँदैन । बराबरी हुनसक्छ । उहाँले अर्धशतक बनाउँदा ५२० को स्ट्राइक रेटमा रन बनाउनुभएको थियो । यो पनि दुर्लभ विश्व कीर्तिमान हो ।

यस्तै, दीपेन्द्रले टी-२० मा कुनै पनि खेलमा १० बलमाथि खेल्दा पाँच सयमाथि स्ट्राइक रेटमा रन जोड्ने पहिलो खेलाडी बन्नुभयो । उहाँको स्ट्राइक रेट ५२० को थियो । नेपालले मंगोलियालाई २७३ रनले हराउँदा टी-२० आई इतिहासकै फराकिलो जित हात पार्ने कीर्तिमानसमेत बनायो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २५७ रनले हराएको थियो ।

एकै खेलमा इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत नेपालका नाममा रहृयो । नेपालको तर्फबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले आठ र रोहित पौडेलले ६ गरी कुल २६ छक्का प्रहार भयो । टी-२० आईमा कुनै पनि टोलीले एकै इनिङमा प्रहार गरेको यो सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्याण्ड तथा वेस्टइण्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का प्रहार गरेका थिए ।

यसै खेलमार्फत नेपालले प्रतिओभर उच्च रन प्रहार गर्ने कीर्तिमानसमेत कायम गर्‍यो । नेपालको खेलमा रनरेट प्रतिओभर १५.७ थियो । अर्थात् प्रतिओभर नेपालले औसतमा १५.७ को गतिमा रन बनाएको थियो । यो टी-२० आईमा हालसम्मकै उच्च रनरेट हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान १३.९ रनरेट थियो । यसअघि टी-२० क्रिकेटमा १० बल खेल्दा बढी स्ट्राइक रेट २०१६ मा जिम्बावेको घरेलु टी–२० क्रिकेट प्रतियोगितामा माल्कम वालरको नाममा थियो । उहाँले १० बलमा ३ चौका र ५ छक्कासहित ४३ रनको अविजित इनिङ खेल्दा स्ट्राइक रेट ४३० थियो ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको चर्चा
बुधबार नेपाल र मंगोलियाबीचको क्रिकेट खेलसँगै एकपटक फेरि अन्तर्राष्ट्रिय जगत तातेको छ । अझबढी भारतीय सञ्चारमाध्यमले नेपालको प्रशंसा गर्दै समाचार सम्प्रेषण गरेका छन् । नेपालले भारतकै द्विग्गज खेलाडीहरूको कीर्तिमान भंग गरेको चर्चा ती सञ्चारमाध्यमहरूले गरेका छन् । यसबारे बिबिसी हिन्दीले कुशल मल्लले रोहित र दक्षिण अफ्रिकाका डेभिड मिल्नरको विश्व कीर्तिमान तोडेको समाचार बनाएको छ । यस्तै, जी न्युजले दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान भंग गरेको समाचारलाई शीर्षक बनाएको छ । आजतकले नेपाली खेलाडीको प्रशंसा गर्दै ‘चार कीर्तिमान ध्वस्त’ शीर्षकमा भिडियो समाचार बनाएको छ ।

यसका साथै नवभारत टाइम्स, टाइम्स अफ इण्डियाका अनलाइन संस्करणमा पनि यो समाचार प्रमुखताका साथ प्रकाशित भएको छ । यस्तै, दैनिक जागरण, दैनिक भास्करमा पनि यो समाचारले प्राथमिकता पाएको छ । यति मात्र होइन आइसिसीले पनि यो समाचारलाई प्राथामिकता दिएर प्रकाशित गरेको छ । यसका साथै, भारतका प्रायः सबै मिडियाले नेपाली टोली र खेलाडीहरूले टी–२० मा बनाएको रेकर्ड तोड्न गाह्रो रहेको विश्लेषणसहित समाचार बनाएका छन् ।

दीपेन्द्रलाई एक लाख
मंगोलियाविरुद्ध विश्व कीर्तिमानी प्रदर्शन गर्नुभएका दीपेन्द्रले एक लाख रुपैयाँ पाउने हुनुभएको छ । दीपेन्द्रले १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गर्नुभएको थियो । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा अविजित रहनुभयो । दीपेन्द्रलाई उहाँ सम्मिलित लुम्बिनी अल स्टारले एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । टोलीका अन्य खेलाडीले समान १० हजार पाउने अल स्टारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?