हेलिकोप्टरले बाईक उडाएपछि…

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङमा हेलिकोप्टरले पार्किङमा राखेको बाईकलाई उडाएर लडाईदिएको छ । बिहीबार दिक्तेलबजारको स्थानीय हेलिप्याडमा पार्किङ गरेर राखेको प्रदेश १–०५–००१ प १५२९ नम्बरको मोटरसाईकललाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गर्न आएको हेलिकोप्टरले उडाएर लडाईदिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुत्केरी इन्द्रकला राईलाई लिन आएको हेलिकोप्टर अवतरण गर्ने क्रममा हावाले हेलिप्याडको डिलमा पार्किङ गरी राखेको बाईकलाई तल्लो खण्डमा झारिदिएको थियो ।

हेलिप्याडको डिलबाट मुनी सडकमा झरेको मोटरसाइकलको भाइजर, एकवटा सकअप र मोटरगाड काम नदिने भएको छ । हेलिकोप्टरले बाईक उडाएर लडाएको भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाईरल बनेको छ ।

अवतरणका लागि आएको हेलिकोप्टरको कोपाइलटले जिल्ला प्रशासन कार्यालयको छाना नजिक आईपुग्दा देखिनै हेलिप्याडका बाइकहरू र मानिसहरू हटाउन इसारा गरिरहेको भिडियोमा देखिन्छ ।

भर्खरै वडा कार्यालयले कांग्रेस पार्टी कार्यालय हुँदै लोकसेवा आयोगसम्म नयाँ ट्रयाक खोल्दै हेलिप्याडसम्म जाने ट्रयाक खोलेपछि अहिले हेलिप्याडमै अव्यवस्थित रुपमा मोटरसाइकलहरू पार्किङ गर्ने गरेको छ ।

जिल्ला अस्पतालका अनुसार इन्द्रकलालाई नर्मल रुपमा बच्चा जन्माउन ट्राई गर्दा बच्चा अड्किदा लगत्तै शल्यक्रिया गर्नु परेको र शल्यक्रियापछि रगत बग्दा बिरामीलाई आईसियुमा राख्नुपर्ने भएकाले रिफरका लागि हेलिकोप्टर मगाईएको हो ।

शल्यक्रियापछि इन्द्रकलालाई चार पाउण्ड रगत चढाईएको थियो । बिरामीलाई ज्यादै रगत आवश्यक थियो । रक्तसञ्चार केन्द्रमा एक पाउण्ड मात्रै रगत थियो । हामीले अरु रगत स्टाफबाट व्यवस्थापन गरेका हौ । जिल्ला अस्पतालका निमित्त प्रमुख चतुरानन्द यादवले भन्नुभयो ।

बिरामीलाई बिहीबार बिहानै काठमाडौं पठाउने तयारी अस्पतालले गरेको थियो । तर, काठमाडौंमा बाक्लो हुस्सु लागेपछि करीव १ बजे हेलिकोप्टर आईपुगेको थियो । बिरामीलाई काठमाडांैस्थित प्रसुती गृह थापाथलीको आईसियुमा भर्ना गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?