एमाले प्रदेश अधिवेशन :

अध्यक्ष ओलीले चाहेर मात्रै रोकिँदैन चुनाव !, प्रतिस्पर्धा पर्खिरहेछन् नेता-कार्यकर्ता

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । नेकपा (एमाले)बाट माधव नेपाल र झलनाथ खनालहरू बाहिरिएपछि शीर्ष तहमा अध्यक्ष केपी शर्मा ओलीको एकल वर्चस्व कायम छ । शीर्ष तहमा चुनौती दिने कोही नभएपछि पार्टी अध्यक्ष ओलीको एकल तजबिजमा चल्दै आएको छ । नेपाल-खनाल पार्टी विभाजन गरेर बाहिरिएपछि एमालेमा ओलीविरुद्ध कोही खडा हुन सकेन । कसैले प्रयास गरे भने तिनलाई किनारा लाइयो । नेता भीम रावल र घनश्याम भुसाल त्यसका ताजा उदाहरण हुनुहुन्छ । भुसालले पार्टी छोडिसक्नु भएको छ भने रावल पार्टीमा निष्क्रिय भएर बसिरहनु भएको छ । दुई वर्षअघि चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा रावल र भुसालले ओलीलाई कडा चुनौती दिनुभएको थियो । चितवन महाधिवेशनमा पार्टी विभाजनको आलो घाउमा मल्हम लगाउन अध्यक्ष ओलीले सर्वसम्मत अध्यक्ष बन्न अनेकन प्रयास गर्नुभएको थियो । तर, रावलका अगाडि ओलीको केही चलेन । चितवनमा ओलीले नचाहेको चुनाव भयो । रावल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धै गरेर पराजित हुनुभयो । अवस्था कस्तोसम्म थियो भने ओली पक्षले ‘रावल–भुसालसहितका नेतालाई भोट नहाल्नू’ भनेर पर्चै बाँडेका थिए ।

भदौ दोस्रो साता भएको एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व छान्ने ओलीको प्रयास थियो । भदौ १६ गते अधिवेशन उद्घाटन गर्न बुटवल पुग्नुभएका ओलीले नेतृत्व सहमतिबाट चुन्न निर्देशन दिनुभएको थियो । ओलीले भरपुर प्रयत्न गरे पनि सहमति भएन । निर्वाचन नगराउने ओलीको अडानले लुम्बिनीमा काम गरेन । प्रतिस्पर्धाका आधारमा एमाले लुम्बिनी प्रदेशले नयाँ नेतृत्व पायो ।

बागमती प्रदेशको जारी अधिवेशनमा पनि ओलीको चाहना सर्वसम्मत नेतृत्व चयन नै थियो । तर, यहाँ पनि ओलीको चाहना पूरा नहुने देखिएको छ । सहमति प्रयास असफल भएपछि बागमतीमा पनि नेतृत्वका लागि चुनाव हुने देखिएको हो । सहमतिको लागि उम्मेदवारहरूसँग गरेको छलफलले मूर्तरूप लिन नसकेपछि निर्वाचन हुने करिब निश्चित बनेको छ । उम्मेदवारका आकांक्षीले कार्यकर्ताको मतादेश मान्ने बताएर चुनावी अभियान थालेका छन् । अध्यक्षमा अन्तिममा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल मैदानमा रहने देखिएको छ । केन्द्रीय कार्यालयले ढुंगेललाई सर्वसम्मत बनाउन खोजेको थियो । एमाले बागमतीको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) निर्वाचन गर्ने कार्यतालिका छ । बिहीबार बिहानदेखि मतदान सुरु गर्ने कार्यतालिका छ ।

केन्द्रीय नेतृत्वबाट लादिएको ‘टिके प्रथा’ अस्वीकार
लुम्बिनीमा सम्पन्न र बागमतीमा जारी अधिवेशनले एमालेमा अब नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बाटो खोलिदिएको छ । दुई प्रदेशमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि अधिवेशनको तयारीमा रहेका अन्य प्रदेशमा पनि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीका नेताहरू पनि सहमतिको नाममा केन्द्रबाट लाद्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिरहेका छन् । कर्णाली प्रदेश अधिवेशन बुधबारदेखि सुरु भएको छ भने अन्य प्रदेशमा केही दिनमा हुँदै छ । एमालेमा लुम्बिनीले देखाएको अभ्यासले कर्णाली पनि अछुतो रहने देखिएको छैन । कर्णालीमा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना निकै कम छ । असोज १२ र १३ कोसी, १५ र १६ गण्डकी, १९ र २० उपत्यका विशेष, २१ र २२ सुदूरपश्चिम प्रदेशको अधिवेशन तोकिएको छ । लुम्बिनी अधिवेशनले पार्टीमा केन्द्रीय नेतृत्वबाट लादिएको ‘टिके प्रथा’ अस्वीकार गरेको छ । बागमतीमा पनि लगभग प्रतिस्पर्धाबाटै नेतृत्व चुनिने निश्चित भएको छ । यसले सहमतिको नाममा नेताको मनमा लागेको व्यक्तिलाई नेतृत्व तोक्ने कुरा स्वीकार्य नहुने देखिएको छ । पछिल्ला घटनाक्रमले एमालेमा अब ओलीले चाहेको मात्रै सबैथोक हुँदैन भन्ने देखाउँछ । तर, पार्टीमा गुट निर्माण हुन नदिने ओलीको प्रयास भने सकारात्मक नै भएको कतिपयको विश्लेषण छ । प्रदेश अधिवेशनहरूमा पनि ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिनुको तात्पर्य पनि गुट निर्माण नहोस् भन्ने रहेको ओलीनिकट नेताहरू बताउँछन् । ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन होस् भन्ने अध्यक्षज्यूको चाहना हो,’ ओलीनिकट एक पदाधिकारीले भन्नुभयो, ‘त्यसको तात्पर्य पार्टीमा गुट निर्माण नहोस् भन्ने हो । गुटले पार्टीलाई फाइदा गर्दैन । त्यसो हुन नसके पनि समूहगत प्रतिस्पर्धा हुनुहुँदैन भन्नेमा उहाँको जोड छ ।’

बागमतीको नेतृत्वका लागि चारजनाको उम्मेदवारी
एमाले बागमतीको नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सर्वसम्मत छान्ने प्रयास असफल भएको छ । एमाले बागमती प्रदेश अध्यक्षका लागि चार नेताको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशवबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठ रहनुभएको छ । चारजनाको उम्मेदवारी परे पनि दाहाल र ढुंगेलबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । कैलाश र कृष्णप्रसाद दुवै एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिनुहुन्छ । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहनुभएको छ । त्यसैगरी, दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहनुभएको छ ।

यस्तै, उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यस्तै, सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र रमेश महर्जनले उम्मेदवारी दिनुभएको छ ।

एमाले एकताबद्ध छ भन्ने सन्देश कर्णालीले दिनुपर्छ : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा एकताको खाँचो रहेको बताउनुभएको छ । एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनलाई सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सम्बोधन गर्दै महासचिव पोखरेलले कर्णालीले एकताको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दी गर्ने प्रयत्न भइरहेको उहाँको भनाइ थियो । ‘सरकार हाम्रो प्राथमिकताको विषय होइन, हामी मुलुकको हित चाहिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘२०८४ मा जनताको समर्थनमा बहुमत ल्याएर बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापना गर्ने मिसन पूरा गर्नु छ । यसका लागि एकताको खाँचो छ । त्यो एकताको सन्देश कर्णालीको अधिवेशनबाट जानेछ । एमाले हरेक कुरामा एकताबद्ध छ, देशको नेतृत्व गर्न सक्षम छ भन्ने कुरा कर्णालीको प्रथम प्रदेश अधिवेशनबाट दिनुपर्छ ।’ पोखरेलले एमालेले मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने सामथ्र्य राख्ने बताउनुभयो । ‘हामी सरकारमा हुँदाका तीन वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ । अहिले मुलुक आर्थिक संकटमा छ,’ उहाँले भन्नुभयो ।’

एमाले सबैखाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा ब्युँताउने कुनै सम्भावना नभएको स्पष्ट पार्नुभएको छ । एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अब नेकपा ब्युँताउने कुरा सम्भव नभएको सपष्ट पार्नुभयो । ‘कम्युनिष्ट एकता नेकपा ब्युँताउने अरे ! नेकपा त अस्ति नै पोलेर खाइसक्यो । अब कहाँबाट ब्युँताउँछौ ?’ ओलीले भन्नुभयो, ‘हामीलाई कुनै भ्रम छैन । यी तत्वहरू कम्युनिष्ट हुन् भन्ने भ्रम कसैले पाल्न आवश्यक छैन ।’ उहाँले प्रचण्ड-माधवले एमाले फुटाएर कांग्रेसको पाउमा सरकार चढाउन गएको टिप्पणी गर्नुभयो । कसैको भ्रममा नपरी पार्टी पंक्तिलाई अब हरेक वडामा ५१ प्रतिशत एमाले हुनेगरी काममा लाग्न उहाँले निर्देशन दिनुभयो । उहाँले एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताउनुभयो । अध्यक्ष ओलीले एमाले सबैखाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?