अर्थ समितिका सभापतिको गुनासो : सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएनन्

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थसमितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताउनु भयो । उहाँले बैठकको भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको बताउनु भयो ।

उहाँले समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्सार कार्यालयहरुमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउदाँ भन्सारमा अर्बाैंको सामान थन्किएर बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ठूलो रकमको विदेशी मदिराहरु वीरगञ्ज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्र्पक विहीन भएको कुरा आएको छ । सरकारको राजश्व नउठेर समिति राजश्वको कुरामा चिन्तित छौं । भन्सारमा राजश्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन् । अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारी साधन लगायतका वस्तुहरु भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो । काम भयो भएन भन्नेकुरा छ । यति धेरै राजश्व आउने कुरामा हामी सुतेर बसेको छौं । अहिले भन्सार प्रमुखले फोन गरेर अर्थ समितिलाई बोलाएर अनुगमन गरिदिन माग गर्नुभएको छ । समितिले आजसम्म गरेका समितिका निर्णयहरु ८० प्रतिशत कार्यान्वयन भएका रहेनछन् । ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो । सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौं ।’

उहाँले भन्सार प्रमुखहरुले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागि आग्रह गरेको बताउनु भयो । उहाँले भन्सारमा ठूलो रकमको राजश्व गुम्दा समेत सरकार मौन बसेर राजश्वको चिन्ता गर्ने काम मात्रै भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?