धनगढीको मुख्य प्रशिक्षकमा राई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सुदूरपश्चिमको एक्लो फ्रेन्चाइज फुटबल टिम धनगढी एफसीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिएको छ । क्लबले शुक्रबार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा राईलाई नियुक्त गरेको जनाएको छ । एनएसएल-२०२१ मा भएको पहिलो एनएसएलमा पनि धनगढी एफसीमा राई प्रशिक्षक हुनुहुन्थ्यो ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टोलीका मिडफिल्डर आशिष चौधरीलाई लिएको छ । धनगढी एनएसएलको पहिलो संस्करणको फाइनलसम्म पुगेको थियो । फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो ।

यस्तै, नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी आयुष घलानलाई पोखरा थन्डर्सले मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि उहाँलाई पोखराले सम्झौता गरेको हो । पहिलो संस्करणमा पनि उहाँले पोखराबाट नै खेल्नुभएको थियो । राष्ट्रिय टोलीका नियमित सदस्य आयुषले सन् २०२१ को मेमा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि डेब्यु गर्नुभएको थियो ।

उहाँले नेपालका लागि १९ खेल खेलिसक्नुभएको छ । एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ । यस सिजनमा पहिलो संस्करणका ६ र ३ नयाँ गरी कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट, एफसी चितवनले विशाल श्रेष्ठ, झापाले अञ्जन विष्ट, ललितपुर सिटीले अनन्त तामाङ र वीरगञ्ज युनाइटेडले दीपक कार्कीलाई मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?