भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जान्छन् : महासचिव पोखरेल

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गर्नुभएको छ ।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गर्नुभयो ।

सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उहाँले जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताउनु भयो ।

महासचिव पोखरेलले देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसलाई कार्यान्वयनको लागि एमालेले नेतृत्व गरिरहेको बताउनुभयो। सिङ्गो नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने कामको अगुवाइ नेकपा एमालेले गरेको उहाँले दाबी गर्नुभयो। आज राष्ट्रलाई जोड्ने अभियानमा एमालेले अगुवाइ गरेको उहाँले स्मरण गराउनुभयो ।

आज एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दीको प्रयास भएको उहाँले बताउनुभयो। यस्तो बेलामा पनि देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा रहेको पोखरेलले प्रष्ट पार्नुभयो।

सुशासनको कुरा गर्ने सरकारलाई भ्रष्टाचारको घटना छानबिन गर्न समेत प्रतिपक्षले दबाब दिनु परेको उहाँले स्मरण गराउनुभयो।

गठबन्धन सरकारले देश बरबाद गर्ने काम मात्र गरेको उहाँले बताउनुभयो। अहिलेका प्रधानमन्त्री जनतालाई जस्तोसुकै समस्या परे पनि मस्तराममा रहेका उहाँको भनाइ छ ।

देश गम्भीर समस्यामा परेको बेला पनि प्रधानमन्त्री १५ दिनसम्म विदेश भ्रमणमा हिँड्नु भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘गठबन्धनको नेतृत्व जति बेलासम्म सरकारमा रहन्छ, जनताको भाग्य र भविष्य बरबाद हुँदै छ, त्यस अर्थमा यो सरकारलाई छिटो भन्दा छिटो बिदा दिनुपर्छ’ उहाँले भन्नुभयो ।

जनताले रोजेको पार्टी नेकपा एमाले नै भएको उहाँले बताउनुभयो । तर जनताले रोजेको पार्टी अहिले प्रतिपक्षमा रहेको उहाँले सुनाउनुभयो । आउने निर्वाचनमा जनताले रोजेको पार्टीलाई सत्तामा पुर्‍याउने गरी मत दिनु पर्नेमा पोखरेलले जोड दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?