एमाले प्रदेश अधिवेशन :

अध्यक्ष ओलीको आधिकारिक प्यानलविरुद्ध प्रतिस्पर्धा

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । नेकपा एमाले यतिबेला धमाधम प्रदेश अधिवेशनमा केन्द्रित छ । भदौ तेस्रो साता लुम्बिनीबाट सुरु भएको एमाले प्रदेश अधिवेशन असोज २३ र २४ मा मधेश पुगेर सकिँदै छ । लुम्बिनी र बागमती प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । गण्डकी प्रदेशको अधिवेशन सोमबारबाट सुरु भएको छ । असोज १० देखि कर्णाली र १२ देखि कोशी प्रदेशमा सुरु भएको अधिवेशन नेतृत्व चयनको लागि मतदानपश्चात् सोमबार राति सम्पन्न भएको छ । सुदूरपश्चिम र मधेश प्रदेशको मात्र अधिवेशन हुन बाँकी छ । अधिवेशनमार्फत नयाँ प्रदेश कमिटीको नेतृत्व चयनमा जुटेको एमालेमा मूल नेतृत्वको निर्देशन र चाहनाविपरीत चुनावी प्रतिस्पर्धा भइरहेका छन् । सबैभन्दा पहिला लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गरेको एमालेले उपत्यकासहित बाँकी सातवटा प्रदेशको अधिवेशन असोज महिनाभित्रै सम्पन्न गर्ने कार्यतालिकाअनुसार तयारी गरिरहेको छ । दुई दिनको तालिकासहित सुरु भएको एमाले प्रदेश अधिवेशनहरू पाँच दिनमा सम्पन्न गर्न पनि कठिन पर्न थालेको छ । उदाहरणकै लागि बागमती प्रदेशको अधिवेशनलाई लिन सकिन्छ । यो प्रदेशको अधिवेशन असोज ८ गते सुरु भएर १२ गते राति १२ बजे मात्र सम्पन्न भयो ।

अधिवेशन लुम्बिनीमा सहमतिको प्रयास भनेर नेताहरूले अर्थ लगाउने गरेका छन् । तर, सहमतिका नाममा अधिवेशनको समय लम्ब्याएर मूल नेतृत्वले आफू निकटलाई पदमा पु¥याउने ‘जालसाजी’ गरेको कतिपय एमालेका नेता कार्यकर्ताको जिकिर छ । नेतृत्वले सहमतिको जतिसुकै प्रयत्न गरे पनि प्रतिस्पर्धाबाटै प्रदेश कमिटीको नेतृत्व चयन भइरहेका दृष्टान्तले एमालेमा सहमतिभन्दा पनि प्रतिस्पर्धा नै रुचाइएको छ भन्ने सहजै बुझ्न सकिन्छ । प्रतिस्पर्धाबाट नेतृत्व चयन भएका प्रदेशहरूमा हारजितलाई स्वाभाविक मान्दै नेता कार्यकर्ताहरू लोकतान्त्रिक अभ्यासभित्र प्रणाली बसाउने प्रयत्नका रूपमा बुझ्नुपर्ने दाबी गर्दै आएका छन् । प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्ने तल्ला तहका नेता कार्यकर्ताको चाहनामा पार्टीको मूल नेतृत्व भने खुसी देखिएको छैन । लुम्बिनीबाट सुरु भएको चुनावी प्रतिस्पर्धामा कर्णाली, कोशी र गण्डकी प्रदेश पनि होमियो । असोज १९ र २० गते उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन हुँदै छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते तथा मधेश प्रदेशको सबैभन्दा अन्तिम अर्थात् असोज २३ र २४ गते अधिवेशन हुनेछ । यी प्रदेशहरूमा पनि चुनावी प्रतिस्पर्धामार्फत नै नेतृत्व छनोट हुने निश्चित देखिएको छ । मूल नेतृत्वले चुनावी प्रतिस्पर्धाभन्दा सहमतिका लागि जोड दिए पनि तल्लो तहका नेता कार्यकर्ताको भावना चुनावी प्रतिस्पर्धा नै भएकाले रोक्न नसकिएको स्पष्ट पार्दै एमालेका एक पदाधिकारीले भन्नुभयो, ‘सहमति पनि उच्चतम् लोकतान्त्रिक अभ्यास हो । त्यसैले सहमति भनिएको हो । सहमति नभएपछि प्रतिस्पर्धा गर्ने अन्तिम विकल्प पनि खुलै राखिएको थियो र चुनाव भइरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा नेतृत्व चुनावी प्रतिस्पर्धा रोक्न असफल नै भयोभन्दा हुन्छ ।’

प्रदेश अधिवेशन सुरु भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकभर सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिनुभएको थियो । उहाँले कसैलाई चुनाव लड्न नै मन भए लड्न पाउने तर प्यानल बनाएर चुनाव लडे उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिनुभएको थियो । तर, अध्यक्ष ओलीले भनेजस्तो प्रदेश अधिवेशन हुन सकेन । सुरुमा अधिवेशन भएको लुम्बिनीमै अध्यक्षका प्रतिस्पर्धीहरूले प्यानल नै बनाएर भोट माग्नेदेखि गुटका भेला गरे । लुम्बिनीमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले हरि रिजाललाई अघि सारे पनि अर्का प्रतिस्पर्धी राधाकृष्ण कँडेल निर्वाचित हुन पुग्नुभयो । रिजाललाई दुई मतले पछि पार्दै कँडेल लुम्बिनीको अध्यक्ष पदमा निर्वाचित बन्नुभएको हो । कँडेल खासगरी एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट मानिनुहुन्छ ।

यता, बागमती प्रदेशमा भने अध्यक्ष ओली र महासचिव पोखरेलनिकट रामेछापका कैलाश ढुंगेलले नै बाजी मार्नुभएको छ । मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल प्रदेशको नेतृत्व सम्हाल्न पुग्नुभएको हो । एमालेभित्र ढुंगेल र दाहाल दुवै ओलीनिकट भनेर चिनिए पनि चुनावका बेला दाहालभन्दा ढुंगेल नै पार्टीको मूल नेतृत्वको रोजाइमा पर्नुभएको थियो । यतिसम्म कि दुई दिनका लागि बोलाइएको बागमती अधिवेशन सहमतिका नाममा पाँच दिन लम्बिएको थियो । त्यस अवधिमा दाहाललाई उम्मेदवारी फिर्ता गर्न नेतृत्वले निकै ठूलो कसरत गरे पनि सफल हुन सकेन ।

कर्णाली प्रदेशमा पनि नेतृत्वको चाहानाविपरीत प्रदेश कमिटीका लागि नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिए । कर्णालीमा गुलावजंग शाहको पक्षमा सहमति जुटाउने पार्टी नेतृत्वको प्रयास असफल भएपछि शाहसहित मीनबहादुर शाही र प्रकाश रोकायबीच चुनावी प्रतिस्पर्धा भयो । एमाले महासचिव शंकर पोखरेलले गुलावजंगको पक्षमा सहमति जुटाउन गरेको प्रयास असफल भएको थियो । कर्णालीमा शाहको पक्षमा पोलिटब्युरो सदस्य यामलाल कँडेल र शाहीको पक्षमा नेता गोरखबहादुर बोगटीले लबिङ गर्नुभएको थियो ।

यता, कोशी प्रदेश कमिटीमा पनि एमाले सहमति जुटाउन गरेको प्रयास खेर गएको छ । कोशीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले प्रतिस्पर्धा गर्नुभएको छ । खतिवडा एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलका आधिकारिक उम्मेदवार भएको एमाले कोशीका नेता कार्यकर्तामा चर्चा छ ।

सोमबारदेखि सुरु एमाले गण्डकीको नेतृत्व हत्याउन दुई समूह लागेका छन् । एमाले केन्द्रीय उपमहासचिवसमेत रहनुभएका पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका छुट्टाछुट्टै समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गुरुङले हालका प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघिसार्ने तयारी गर्दा खगराज अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेको छ । अधिकारीले सर्वसम्मत अध्यक्ष चयन गर्नुपर्दा केन्द्रीय सदस्य कृष्ण थापालाई अघि सार्ने तयारी गरेका छन् । थापा गत स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पराजित हुनुभएको थियो ।

मतगणनास्थलमा तोडफोड
नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सुर्खेतस्थित सिटी हलमा मतगणनाका क्रममा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहनुभएका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रवेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको थियो । यस्तै, नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए । गणना स्थलमा प्रतिनिधिभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

अध्यक्ष ओली गण्डकी अधिवेशनमा अनुपस्थित
सोमबारदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएन । मौसम खराबीका कारण समयमै उडान नभएपछि अध्यक्ष ओली पोखरा नगएको बताइएको छ । ओली नआएपछि महासचिव शंकर पोखरेलले अधिवेशनको सम्बोधन गर्नुभएको थियो । पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आए पनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएको पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष तथा महासचिवसहितलाई कुरेर कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो । त्यसपछि पनि मञ्चमा बसेका सबैको बोल्ने पालो सकिएपछि महासचिव पोखरेललाई कुर्दै सांगीतिक कार्यक्रम राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?