एआइबिडी कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रसारणको क्षेत्रसँग सम्बद्ध एआइबिडी नामक अन्तरराष्ट्रिय संस्थाको कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

एसिया प्रसान्त क्षेत्रका ४४ राष्ट्र सदस्य रहेको एआइबिडीअन्तर्गत नेपालसहित १० राष्ट्र सदस्य रहेको कार्यकारी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो । दुईवर्षे कार्यकाल रहने सो समितिको उपाध्यक्षमा नेपालका तर्फबाट अब नेपाल टेलिभिजनले प्रतिनिधित्व गर्नेछ । यसअघि रेडियो नेपालले सो समितिको सदस्यका हैसियतले प्रतिनिधित्व गरेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो ।

अफ्रिकी राष्ट्र मोरिससमा आज सम्पन्न एआइबिडीको तीनदिने २१औँ साधारणसभा तथा ४८औँ वार्षिक भेलाका अवसरमा अध्यक्षमा थाइल्यान्ड र उपाध्यक्षमा नेपाल निर्वाचित भएको हो । यसैगरी एआइबिडीको साधारणसभा तथा वार्षिक भेलाले सभापतिमा भारत र उपसभापति पदमा कम्बोडियालाई निर्वाचित गरेको पनि कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो ।

साधारणसभामा नेपालका तर्फबाट रेडियो नेपालका कार्यकारी निर्देशक केसी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले भाग लिनुभएको थियो । प्रसारण क्षेत्रको विकास एवं विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको एआइबिडीको केन्द्रीय कार्यालय मलेसियामा रहेको र स्थापना सन् १९७७ मा भएको हो । रेडियो नेपाल र नेपाल टेलिभिजन सो अन्तरराष्ट्रिय संस्थाको संस्थापक सदस्य रहेको जनाइको छ ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?