एसियन गेम्स : कबड्डीले पक्का गर्‍यो पहिलो पदक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४-१६ ले हराएसँगै नेपाली टोली समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको हो ।

नेपालले सेमिफाइनल जितेमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३७-२४ ले हराउँदै नेपालले अघिल्लो चरणको यात्रा बलियो बनाएको थियो । साबिक विजेतासमेत रहेको इरानसँग नेपालले मंगलबार ४३-१९ को हार बेहोरेको थियो ।
अब नेपालले सेमिफाइनलमा भारत वा चाइनिज ताइपेईमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाइनल खेल शुक्रबार बिहान हुनेछ ।

नेपाली कबड्डी टोलीले सरकारबाट प्राथमिकता नपाउँदा निकै कष्ट गरेर तयारी गरेको थियो । पछिल्लो एक महिना भारतको हरियाणा पुगेर धर्मशालामा प्रशिक्षण गरेको टोली नेपालका लागि पहिलो एसियाली खेलकुद सहभागितामै पदक जित्न सफल भएको हो ।

भलिबल
महिला भलिबलमा नेपाली राष्ट्रिय टोली पराजित भएको छ । दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग बुधबार भएको खेल नेपालले तीन-एकले गुमाएको थियो । भारतलाई कडा टक्कर दिनुका बाबजुद नेपाल जितबाट चुकेको थियो । तेस्रो सेटमा एक समय ६ अंकको अग्रतालाई जोगाउन नसक्दा नेपालले अन्त्यमा त्यो सेट गुमाएको थियो ।

पहिलो सेट २५-२३ ले गुमाएको नेपालले दोस्रो खेल २६-२८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा नेपालले पुनः २५-२३ ले गुमाएको थियो । एक समय ६ अंक (१९-१३) को अग्रता लिएको नेपाल अन्तिम समयमा लय गुमाउँदा खेलमा पछि परेको थियो । चौथो सेटमा निकै हावी रहेको भारतले २५-१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो ।

एसियाडमा अब नेपालले ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा भियतनाम र कोरियासँग पराजित भएको नेपालले नवौँ स्थानको खेलमा छनोट हुनका लागि भारतसँग प्रतिस्पर्धा गरेको थियो । अब नेपालले हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?