अधिवेशनमा प्यानलगत उम्मेदवारी छैन : सचिव बिष्ट

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडाैं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ ।

उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै संगठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरुले मात्रै उम्मेदवारी दिनुभएको बताउनुभएको । उहाँले व्यक्तिगत हिसावले आफ्ना उम्मेदवारीहरु प्रश्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने बताउनु भयो । उहाँले सहमतिको प्रयास आफूहरुले गरेपनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनु भयो ।

उहाँले अहिले पार्टीभित्र वैचारिक मत भिन्नता नरहेको बताउनु भयो । उहाँले जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्यानलगत उम्मेदवारी भएको छैन । मिडियाले मात्रै प्यानल बनाइदिएको हो । यहाँ त हरेकले व्यक्तिगत हिसावले आफ्ना उम्मेदवारीहरु प्रश्तावक र समर्थकसहित दिनुभएको छ । प्यानल देखिएको छैन । व्यक्तिगत उम्मेदवार दिनुभएको छ । हामीले विभिन्न रुपले सहमतिको प्रयास गरेका छौँ । अहिले हाम्रो पार्टीभित्र वैचारिक मत भिन्नता देखिँदैन । पार्टीका अध्यक्ष नै सबैको एउटा एकल ध्रुव हुनुहुन्छ । कुनैपनि प्रकारको समूह बनाउने, कित्ताकाट गर्ने स्थिति देखिँदैन । जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिष्पर्धा हुने र आकंक्षीहरु पनि माथि जोडिन खोज्ने र जोड्न खोज्ने प्रवृत्तिहरु देखिन्छन् । आकंक्षी धेरै हुँदा निर्वाचनमा जानुपर्छ । अझै पनि सहमतिको लागि प्रयत्नरत छौँ ।’

त्यस्तै अध्यक्ष पदका प्रत्यासी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरुले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनु भयो । उहाँले आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरेपनि सफल हुन नसकेको बताउनु भयो । उहाँले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताए पनि सफल हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लातिरका धेरै अगुवा साथीहरुले र कतिपय नेताले पनि पोलिटब्युरो सदस्य तपाई पहिला नै हुनुपर्ने हो, विभिन्न कारणले बनाउन सकिएन, अब पार्टीले पोलिटब्युरो सदस्य बनाएको छ, त्यो उपयुक्त पद हो भन्नुभएको छ । पार्टी साथीहरुले पनि स्वीकार गर्नसक्ने मानिस म नै भएकाले मलाई अध्यक्षमा उठ्न आग्रह गर्नुभयो । म शुरुमै चुनावमा जान्छु भनेर अघि बढेको होइन, गण्डकीमा सहमति गर्नुस् भनेको हो । नवराजजी र म साथी हौँ मैत्रीपूर्ण प्रतिष्पर्धा गर्छौं । गण्डकीको कामलाई व्यवस्थित गराउन पहल गर्नुस्, पीएस कमरेड टप लिडर हो । उहाँको नेतृत्वमा पद्या, किरण र खगराज करेड ठूलो हो । मलाई सहमति गर्नुस् तयार छु, म हुँदैन भने अर्को साथी तयार गर्नुस् म ब्याक हुन तयार छु भनेको छु ।’

त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल संगठको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनु भयो । उहाँले यसलाई नेताहरुसँग जोडेर बुझ्न नहुने बताउनु भयो । उहाँले सहमतिको निम्ति प्रयत्न गरेपनि सफल हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक पूर्ण कार्यकाल काम गरौँ भन्ने मेरो चाहना हो । यसलाई अन्यथा बुझ्नु हुँदैन । अहिलेको अधिवेशनलाई आवश्यकता भन्दा अलि बढी नेताहरुसँग जोडेर हेरेर चर्चा भएको छ । सहमतिको निम्ति प्रयत्न गरेका थियौँ । तर सबैको मन नमिलेसम्म सहमति हुँदैन । उम्मेदवारहरुबीच चाहना व्यक्त भएको कुरालाई स्वभाविक मान्नुपर्छ ।’

अध्यक्षका प्रत्यासी शर्माले सबैको मन नमिलेसम्म सहमति हुन नसक्ने भन्दै उम्मेदवारहरुबीच चाहना व्यक्त भएको कुरालाई स्वभाविक मान्नुपर्ने बताउनु भयो । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षका लागि शर्मा र अधिकारीको उम्मेदवारी परेको छ । हालका अध्यक्ष शर्मा र केन्द्रिय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

मिनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उठेका छन् । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?