पाल्पामा ‘पारिपात्ले अगौटे’सुन्तलाको सफल परीक्षण

असोजमै पाक्यो सुुन्तला !

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins

पाल्पा । पाल्पामा पारिपात्ले अगौटे (ओकिचुवासे) प्रजातिको सुन्तला परीक्षण सफल भएको छ । एक दशक अघिदेखि परीक्षणको रुपमा रहेको यो प्रजातिको अहिले सुन्तला सफल हुँदै गएको हो ।

सामान्यतयाः मंसिर-पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोज महिनामै लटरम्म पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर भएका छन् । बर्खायाम सकिनसक्दै यहाँ भदौ, असोज महिना मै सुन्तला पाकेर अचम्मै भएको छ । फर्मको अध्ययन अवलोकनका लागि आउने जो कोही पनि बेमौसमी सुन्तला पाकेको देख्दा दंग छन् । साना बोट, ठूला दाना, स्वादिलो भएको सुन्तला बोटले थेग्नै नसक्ने गरी फलेको र पाकेका छन् ।

यहाँ ५० भन्दा बढी बोटमा जापानीज ओकीचुवासे प्रजातिको सुन्तला भदौको अन्तिम हप्तादेखि पाक्न सुरु गरेको केन्द्रका प्रमुख दिपक भट्टराईले बताउनुभयो । उहाँका अनुसार पाल्पाको हावापानीमा यो सुन्तला अत्यन्त राम्रो हुन्छ । भदौको अन्तिम सातादेखि पाक्न सुरु गरी कात्तिकको दोस्रो हप्तासम्म यो प्रजातिको सुन्तला रहने भट्टराईले बताउनुुभयो । मध्यम आकारमा फैलिने यो जात उन्सोबाली अन्तर्गत पर्दछ । प्रायजसोः स्थानीय सुन्तला मंसिरदेखि खानयोग्य मानिन्छ । फागुनसम्ममा यी सुन्तला टिपेर सकिसकेका हुन्छन् । व्यापारी तथा शितभण्डारण गर्नेले बाहेक अन्यले स्थानीय जातका सुन्तला लामो समयसम्म राख्न सक्दैनन् ।

बोटमै सुन्तला राखिरहदा अर्को वर्षको फललाई असर पुग्ने हुँदा फागुनसम्म स्थानीय जातको सुन्तला टिपी सक्नुपर्ने प्राविधिकहरु बताउँछन् । स्थानीय जातका सुन्तला अहिले स-साना र हरिया दाना भएका छन् तर, उन्सु भने पाकेर पहेंला पहेंला देखिएका हुन् । नेपालको बागवानी तथा फलफूलको क्षेत्रमा जापान सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग भएको थियो । समुन्द्री सतहदेखि ८ सयदेखि १४ सय मिटरको उचाइमा यसको व्यवसायिक खेती गर्न सकिने भएकाले यो सुन्तला पहाडी जिल्लामा सफल हुने प्राविधिकहरु बताउँछन् । जापानी स्वयंसेवकहरुले यो प्रजातीको सुन्तला २०४४/०४५ सालमा भिर्याएको भएपनि पाल्पामा विगत १० वर्षदेखि परीक्षणको रुपमा लगाइएको र सफल भएको केन्द्रका प्रमुख भट्टराईले बताउनुभयो ।

यो सुन्तला मध्य पहाडी क्षेत्रमा व्यवसायिक खेती गर्न सकिने प्रजातिको फल हो । अन्य प्रजातीका सुन्तलाको तुलनामा स्वादमा निकै फरक र कम समय मै उत्पादन लिन सकिन्छ । अम्लियपन नहुने, चिनीको मात्रा अत्यन्त कम भएकाले जस्तो सुकै बिरामीका लागि पनि यो सुन्तला फाइदाजनक मानिन्छ । लगाएको तीन वर्षबाटै उत्पादन लिन सकिने हुँदा यो प्रजातिको सुन्तला व्यवसायिक कृषकहरुका लागि समेत लाभदायिक देखिन्छ । असोज महिना मै बोटभरी लटरम्म सुन्तला पाकेको देख्दा दंग परेको फर्मको अवलोकन गर्न पुगेका नेपाल प्रेस युनियन पाल्पाका पूूर्व अध्यक्ष प्रकाश नेपालले बताउनुुभयो । फरक स्वाद, अम्लियपन नभएको, चिनीको मात्रा अत्यन्त कम जस्तो बिरामीले पनि खान हुने, बिया रहितको, तीन वर्षबाटै उत्पादन लिन सकिने १ सय ५० देखि ३ हजार ग्राम तौलसम्म फल लाग्ने यो प्रजातिको सुन्तला कृषकहरुका लागि बहुउपयोगी रहेको पत्रकार नेपालको भनाई छ ।

जापानीज प्रजातीको यो फल नेपालमा यसको सभाव्यताको विषयमा लामो समयको अनुसन्धानपछि सफलता पाएको राष्ट्रिय सुन्तला जात कार्यक्रम परिपाले धनकुटाका वैज्ञानिक उमेश आचार्यले बताउनुभयो । उहाँका अनुसार यो जाताको सुन्तला पूर्वदेखि पश्चिमसम्मका पहाडमा खेती गर्न कृषकलाई सिफारिस गरिएको छ । जिल्लाका अधिकांश क्षेत्रमा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । त्यसमा अधिकांश स्थानीय जातका रहेका छन् । परम्परागत जातको तुलनामा यसबाट छोटो समयमै उत्पादन लिन सकिन्छ । कृषकहरुबाट यो प्रजातिको सुन्तलाको व्यवसायिक खेती अहिलेसम्म भएको छैन । जिल्लामा सरकारबाट सिफारिस भएको र परीक्षणकै क्रममा थियो । अहिले यो व्यवसायी सफल भएको छ । सुन्तला स्वादमा पनि फरक, दाना ठूलठूला भएकाले यो प्रजातिको सुन्तला राम्रो रहेकाले आफुले पनि लगाउने तयारी गरेको रैनादेवी छहरा गाउँपालिका मुझुकी कृषक बसन्ती कार्की बताउनुभयो । उहाँले भन्नुभयो ‘अन्य प्रजाती भन्दा अगाडि नै उत्पादन लिन सकिने भएकाले कलमी गरेर व्यवसायिक रुपमा लगाउने तयारी गरेकी छु ।’

कस्तो हो त ‘पारिपात्ले अगौटे’ सुन्तला ?

यो प्रजातिको सुन्तला जिल्लामा पहिलो होमस्टे भएको गाउँ बौघागुम्वामा लगाइएको छ । एक बोटमा ४० देखि १सय ५० केजी उत्पादन लिन सकिने यो प्रजातिको सुन्तला एक रोपनी क्षेत्रफलमा बिस वटा बोट लगाउन सकिने प्रविधिकहरु बताउँछन् । यसमा ६ प्रतिशत गुलियो र ०.८ देखि एक प्रतिशतसम्म अमिलोको मात्र हुन्छ । यो जातको बोट मध्यम आकारको फैलिने प्रकृतिको हुन्छ । कलमी गरेको १५ वर्षको बोट १.३ मिटर जतिको हुन्छ । यस बोटमा सेतो रङको फूल फागुनको अन्तिम सातातिर फूल्छ । चम्किलो सुनौलो रङका फलहरू औसतमा १ सय ३६ ग्रामसम्मका हुन्छन् ।

बीउरहित १०-१२ केस्रो हुने फलको ९ प्रतिशतसम्म गुलियो तथा ०.९ प्रतिशतसम्म अमिलो हुन्छ । यो जातको व्यावसायिक खेती समुद्री सतहबाट ८ सयदेखि १४ सय मिटरको उचाइमा उपयुक्त हुने बताइएको छ । तापक्रम ५ देखि ३५ डिग्रीसम्म भएको तुसारो नपर्ने क्षेत्र यस जातको खेतीका लागि राम्रो हुने प्राविधिकहरु बताउँछन् । यसको बिजु बिरुवाभन्दा कलमी बिरुवा प्रयोग गर्नु उत्तम मानिन्छ ।

तीनपाते, सिट्रेज आदि स्टकमा स्पलाइस वा भिनियर तरिकाबाट पुस-माघ महिनामा वा जेठ-साउनको महिनामा कलमी गरी विरुवा उत्पादन गरिन्छ । पारिपात्ले अगौटे जातको बिरुवालाई समथर जमिनमा वर्गाकार र भिराले गरामा कान्ला बनाई कन्टुर तरिकाबाट रोपण गरिन्छ । सुन्तलाको बोट तीन मिटर दूरीमा रोप्नु पर्छ । बिरुवा रोपेको तीन-चार वर्षसम्म लहरा नजाने कोसे तरकारी बालीहरू प्याज, लसुन, रायो आदि खेती गर्न सकिने तर बहुवर्षे र धेरै खाद्यतत्व लिने बालीहरू (मकै, कोदो, गहुँ) लगाउन नहुने वैज्ञानिकहरू सुझाउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?