पाल्पाका १९ हजार ९ सय बढी किसानले भरे सूचिकरणका लागि फाराम

सूचिकरणपछि सबै किसानलाई परिचयपत्र बाड्ने तयारी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । किसान सूचिकरणका लागि पाल्पामा १९ हजार ९ सय बढी किसानले फाराम भरेका छन् । राष्ट्रिय किसान आयोगले आगामी वर्ष भित्र देशभरीका सबै किसानहरुलाई सुचिकृत गर्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने गरी तयारी थालेको छ । जसका लागि अहिलेसम्म पाल्पाबाट १९ हजार ९ सय ४९ जना किसानहरुको फाराम मात्र भरिएको हो ।

देशभरीबाट हालसम्म १६ लाख ६२ हजार ५ सय ४७ जना दर्ता भएकोमा ४ लाख ५१ हजार ६ सय ५९ जना किसानहरु प्रमाणित भएको आयोगले जनाएको छ । १७ हजार ९ सय ७६ फर्म अस्विकृत भएको र ११ लाख ९२ हजार ९ सय १२ जना प्रमाणिकरण हुन बाँकी रहेको आयोगले जनाएको छ । यसै गरी लुम्बिनी प्रदेशमा २ लाख ९३ हजार ९ सय २५ किसान दर्ता भएकोमा ५२ हजार ३ सय ८१ मात्र प्रमाणित भएका छन् ।

आयोगले किसान सूचिकरणको काम २०७७ फागुन २२ गतेदेखि शुरु गरेको थियो । ३ बर्षभित्र किसान सूचिकरण कार्यक्रम पुरा गर्ने लक्ष्य लिएको आयोगले अहिले लुम्बिनी प्रदेशका ३ जिल्लाका पालिकाहरुलाई समेटेर अहिलेसम्म भएका प्रगती, काम गर्दा आई परेका समस्या तथा गर्नुपर्ने कामहरुका विषयमा छलफल थालेको छ । उसले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल तथा अन्तक्रिया गरेको हो ।

आयोगका सदस्य सचिव डा.रामनन्दन तिवारीले अहिलेसम्म सूचिकृत भएका किसानहरुको अवस्था बारे जानकारी गराउनु भएको छ । किसान सूचिकरण कार्यक्रमबाट किसानहरुले प्रत्यक्ष रुपमा लाभ पाउने, पाएका अनुदानहरु रेकर्ड हुने, विउ विजन तथा अन्य कृषि पशु उत्पादन सम्बन्धी सेवा सुविधाको रेकर्ड रहने अवस्था हुनेछ । किसान सूचिकरण कार्यक्रमबाट किसानको व्यक्तिगत विवरणको आधारमा राज्यका तीन तहका सरकारले सहयोग गर्ने, कुन किसानसँग के कति जमिन छ ?, उक्त जमिनमा कस्तो प्रकारको खेतीपाती गर्दै आएको छ ?, आफ्नै जमिन होकी, भाडामा लिएर खेतीपाती गरेको हो ?, कृषि यान्त्रिकरण प्रयोगको अवस्था बारे जानकारी हुने छ ।

किसान सूचिकरण कार्यक्रम संघीय सरकारको कार्यक्रम भएपनि स्थानीय सरकारबाटै किसानहरुको फर्म भर्ने, डाटा लिने, भर्ने तथा प्रमाणिकरण गर्ने काम हुँदै आएको छ । यो कार्यक्रमबाट साना किसानको संख्या, मध्यम किसानको संख्या र ठूला व्यवसायिक किसानहरुको संख्या निश्चित हुनेछ । कार्यक्रममा विभिन्न पालिकाका कृषि शाखाका कर्मचारीहरुले किसान सूचिकरण कार्यविधी नै अपुरो भएको, सफ्टवेयर स्तरीय नभएको, फिल्डमा खटिने गणको पारिश्रमिक कम भएको, किसानलाई वितरण गरेको कृषि सामग्री इन्ट्री गर्ने अवस्था सफ्टवेयर नभएको, नयाँ प्रविधी अनुसारको किसान सफ्टवेयर नभएको गुनासो गरेका थिए । किसान छुट्टाउने प्रष्ट मापदण्ड नहुँदा कृषि कर्म नगर्ने व्यक्ति पनि किसान हुने अवस्थालाई रोक्नु पर्ने सहभागीहरुले बताएका थिए । कार्यक्रममा आयोगकी सदस्य पुष्पा भुसालले आएका गुनासा, सुझावहरुलाई छलफल गरी कार्यान्वयन गरिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सबै मिलेर किसान सूचिकरण कार्यक्रमलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका निर्देशक राम प्रसाद पाण्डेले किसान सूचिकरण कार्यक्रमलाई चाँडो भन्दा चाडो सफल बनाउन प्रत्येक जिल्लामा आयोगका कर्मचारी खटाएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीलगायतले पालिकामा किसान सूचिकरणको काम भईरहेको बताए । उनीहरुले अब छिट्टै नै सबै किसान सूचिकरण गरिसक्ने जानकारी दिए । पाल्पाका दशवटै पालिकाहरुले अहिले धामाधम किसान सूचिकरणको काम गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?