संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँः सांसद सापकोटा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले संसद बैठकमा राजनीतिक कुराहरु र एकले अर्कोलाई आरोप–पत्यारोप गर्ने कुराहरु मात्रै हुन थालेको भन्दै त्यसो गर्नु नहुने बताउनुभएको हो ।

उहाँले संसदले कानून बनाउने कुराभन्दा राजनीतिक कुराहरुमा नै समय खर्च गरेको भन्दै अब संसद र सांसदहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन सांसदहरुलाई आग्रह गर्नुभयो ।

संसदभित्र जनताका कुराहरु, संविधान र कानून निर्माणका कुराहरुलाई जोड दिइनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक कुराहरु सर्वदलिय बैठक गरेर भन्ने गर्नुपर्ने बताउनु भयो । सांसद सापकोटाले संसदलाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो बनाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी जिम्मेवार हौँ । हामी धेरै प्रतिक्रियाको राजनीति गर्ने थलो संसदलाई नबनाऔँ । अरु धेरै राजनीतिक कुराहरु सर्वदलिय बैठकको आयोजना गरेर त्यहाँ भन्ने गरौँ । संसदभित्र जनताका कुराहरु, संविधान र कानून निर्माणका कुराहरुलाई जोड दिएर अगाडी लगियोस् । संसदलाई धेरै राजनीतिको कुण्ठा व्यक्त गर्ने थलो, एकले अर्कोलाई नांगेझार पार्ने चिज नबनाऔँ । समाजलाई अनुशासित बनाउने हो भने, सामाजिक सञ्जालमा व्यक्त भइराखेका उश्रृंखलताहरुलाई हामीले नियमन गर्ने हो भने सबभन्दा पहिला सबै नीतिहरुको माउ नीति राजनीति हुनुका नाताले राजनीतिज्ञहरु ज्यादा अनुशासित हुनुपर्दछ । शिर्ष नेताहरु ज्यादा अनुशासित हुने, जिम्मेवार हुने र सिंगै देशलाई एउटा सन्देश दिने र देशलाई कमाण्डमा लिनका निम्ति उहाँहरु स्वःअनुशासित हुनुपर्दछ । किन त्यसो भएको होला ?’

उहाँले देशमा जातिय तथा साम्प्रदायिक घटनाहरु घटिरहेका भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । समाजलाई अनुशासित बनाउन राजनीतिज्ञहरु बढी अनुशासित हुनुपर्ने भन्दै उहाँले यसप्रति शिर्ष नेताहरुको ध्यानाकर्षण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?