सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छ : सचेतक बर्तौला

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतर्फ जानसक्ने खतरा देखिएको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले शुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताउनु भयो । उहाँले सरकार कमाउ धन्दामा लागेको आरोप लगाउनु भयो । उहाँले सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताउनु भयो । उहाँले सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम शुरुदेखि नै गरेको छ । नागरिकता विधेयकका नाममा, अघिल्लो संसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसदलाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई किर्ते गर्न लगाएको छ । आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । साम्प्रदायिक द्वन्द्व एकपछि अर्को बढ्न थाल्यो । धार्मिक युद्धतर्फ मुलुक जानसक्ने खतरातर्फ गइसक्यो । यो खालको चरम बेथिति छ । कमाउ धन्दामा मन्त्रीहरु लागेका छन् । तीन थरी मन्त्री छन् यहाँ, एकथरी घरमा सुतेर बस्ने, बच्चाबच्ची हेरेर आनन्द मानेर बसेका छन् । एकथरी सुतेर बसेका छन् । कसैलाई मतलव नै छैन । एकथरीलाई सामाजिक पहिचानको पद भएको छ मन्त्री । अर्कोथरी सेटिङ गरेर कसरी कमाउने भन्ने धन्दामा छन् । अर्कोथरी राजनीतिक स्टन्ट र प्रचारबाजीका छन् । सरकारको संलग्नतामा आज कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छ । सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको छ ।’

सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानि सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुटाइरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?