१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१-१७ अंकले पराजित गरेको हो ।

नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश रहेका थिए । इरान समूह ‘बी’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेईसित प्रतिस्पर्धा गर्दै छ ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार बंलादेशलाई ३७-२४ अंकले पराजित गरेको थियो भने दोस्रो खेलमा मंगलबार इरानसित १९–४३ अंकले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी ९कप्तान०, मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहनुभएको थियो ।

यस्तै करातेका विप्लवलाल श्रेष्ठले पदकबाट चुक्नुभयो । विप्लव ८४ केजी माथिको तौल समूहको तेस्रो स्थानको प्रतिस्पर्धामा साउदी अरेबियाका खेलाडीसँग पराजित हुनुभयो । पहिलो खेलमा ताजिकिस्तानका खेलाडीलाई १२-४ ले हराएका विप्लव अर्को खेलमा कीर्गिस्तानका खेलाडीसँग ५-१ ले पराजित हुनुभएको थियो । विप्लव चार वर्षअघि स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?