मुसहर महिलाले खोले महाजनमुक्त कृषि सहकारी

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । हरिपुरका मुसहर समुदायले दशकौंदेखि गाउँका महाजनसँग चारदेखि पाँच रुपैयाँ (४८ देखि ६० प्रतिशत) ब्याजदरमा ऋण लिने गरेका छन् । उक्त ऋण तिर्न मुसहर समुदाय सधैँभरि महाजनको घर तथा खेतबारीमा गएर न्यूनतम ज्यालामा घरेलु बँधुवा मजदुरका रूपमा काम गर्नुपर्ने बाध्यता छ । कमजोर आर्थिक अवस्था, शिक्षा तथा चेतना अभावका कारण उनीहरू बँधुवा मजदुरका रूपमा साहुको घरमा गएर काम गर्नुपर्ने अवस्था छ । इँटाभट्टा एवं भारतमा गएर मजदुरी गर्नुपर्ने बाध्यात्मक अवस्थाले कतिपयले अकालमा ज्यान गुमाउनुपरेको छ । ७९ प्रतिशत मुसहर समुदायको आफ्नो नाममा घरजग्गाको लालपूर्जा नभएका कारण बंैक तथा वित्तीय संस्थामार्फत् कुनै पनि आर्थिक कारोबार नहुने हुँदा महाजनबाट चर्को ब्याजदरमा ऋण लिन बाध्य भएका हुन् । घरमा बिरामी पर्दा होस् वा सामाजिक कार्य गर्न पैसा आवश्यक हुँदा महाजनकै भर पर्नुपर्ने अवस्था थियो ।

सोही पीडाबाट मुक्तिका लागि उनीहरूले आफैंं सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । हरिपुरमा एक कार्यक्रम गरी सहकारीको उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य वेची लुंगेली, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पञ्जियार, वडा २, ६ र ८ का वडाध्यक्षको उपस्थितिमा सहकारी संस्था उद्घाटन गरिएको हो । सो अवसरमा वडा सदस्य, नेपाल राष्ट्रिय मुसहर संघ, मुसहर महिला सशक्तीकरण मञ्चका पदाधिकारीलगायत एक सय ५० भन्दा बढीको सहभागिता थियो ।

नगर प्रमुख पञ्जियारले मुसहर महिला विगतभन्दा धेरै परिवर्तन भएको भन्दै आगामी दिनमा नगरपालिकाले मुसहर समुदायलाई आयआर्जनका लागि सहयोग गर्ने बताउनुभयो । प्रदेश सभा सदस्य लुंगेलीले पनि मधेशका मुसहर समुदायका महिलाको आर्थिक रूपान्तरणका लागि पहल गर्ने आश्वासन दिनुभयो । सामाजिक र आर्थिकरूपमा पिछडिएका तराई मधेशका मुसहर समुदायका महिलाको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारी स्थापना गरिएको हो । साउथ एसिया पार्टनरसिप नेपाल (साप नेपाल)ले सञ्चालन गरेको नेपालमा स्थानीय सरकारको लैंगिक उत्तरदायी सुशासन प्रवद्र्धन परियोजनाअन्तर्गत सहकारी स्थापना गरिएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

हरिपुर नगरपालिका २ मा कार्यालय रहेको सहकारीमा करिब पाँच सय महिला सेयर सदस्य रहेको अध्यक्ष रूपतारा पासवानले बताउनुभयो । आर्थिकरूपमा कमजोर दलित समुदायलाई सहकारीले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?