काठमाडौं । सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दुःखद घटनापछि आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को विशेष आकस्मिक बैठकले इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनी हमास लडाकुको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको शोकमा एकदिन राष्ट्रिय शोकको घोषणा गरेको हो । सरकारका प्रवक्तासमेत रहनुभएकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिनुभयो । मन्त्री शर्माले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद् बैठकले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।’ गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।
यस्तै, बैठकले मृतकहरूको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक कूटनीतिक पहल गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने र उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा गर्ने पनि निर्णय गरेको छ । बैठकले इजरायलको द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन कूटनीतिक पहल गर्ने पनि निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकको निर्णय छ । अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने, इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्ने छ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने छ । अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । सरकारले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सोमबारको बैठकको निर्णय छ । इजरायलमा करिब चार हजार ५०० नेपाली रहेका छन् ।
सुदूरपश्चिम सरकारको आर्थिक सहयोग घोषणा
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका सातजनाको परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै शव ल्याउन सहजीकरण गरिदिन संघ सरकारलाई अनुरोधसमेत गर्नुभएको छ । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्, जसमध्ये सातजना सुदूरपश्चिमबाट अध्ययन तथा सिकाइका लागि गएका विद्यार्थीहरू थिए ।
हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार
हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरूलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । रिजालले भन्नुभयो, ‘बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ । अलग-अलग क्याम्पबाट उद्धार गरिएको हो । अब सुरक्षित स्थानतर्फ लगेकाले ढुक्क हुने अवस्था भयो ।’ उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीले १३ जनालाई बेतकाम क्षेत्रमा लगिएकोे जानकारी दिँदै भन्नुभयो, ‘अहिले हामी दुईवटा फार्ममा रहेका १३ जना साथीहरूलाई यहाँ ल्याएको छ । अरू साथीहरू आउने क्रममा छन् । अहिले हामीहरू सुरक्षित छौँ । साथीहरूसँग बसेर कुराकानी गरिरहेका छौँ । हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।’
पामे तासाजमा रहेका विद्यार्थीलाई पनि इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ । कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरू बंकरमा लुक्दै आएका थिए । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरूलाई उद्धार थालिएको बताइएको छ । पर्वत पैयु ५ का नारायण भुसालले दिएको जानकारीअनुसार हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ ।
बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन
इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदले फोन गर्नुभएको छ । बंकरमा रहनुभएका दाङ नारायणपुरका विपिन सुवेदीका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गर्नुभएको छ । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले बताउनुभएको जानकारी दिँदै विपिनले भन्नुभयो, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’ प्रधानमन्त्रीलाई विपिन र साथीहरूले आफूहरूलाई यो बेला शीघ्र नेपाल फर्कने चाहनाबाहेक अरू केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागेका छन् । प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गर्नुभएको छ । प्रचण्डभन्दा अघि कुरा गर्नुभएका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दूतावासका कर्मचारीसहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिनुभएको छ ।
तत्काल उद्धार गर्न सरकारसँग पीडित परिवारको आग्रह
इजरायलमा रहेकालाई तत्काल उद्धार गर्न सरकारसँग पीडित परिवारहरूले आग्रह गरेका छन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर विष्टसहितका नौजना विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् । हमासले आक्रमण गरेको गाजा क्षेत्रनजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको जानकारी दिँदै लोकेन्द्रकी काकी चन्द्रा विष्टले भन्नुभयो, ‘बच्चासँग हामी आधा–आधा घण्टामा कन्ट्याक्टमा छौँ । युद्ध घोषणा भएकाले बच्चाहरू आत्तिइरहेका छन् । अब चाहिँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्यूले छिटो, छरितो र एकदम तन, मन लगाएर हाम्रा बच्चाहरूलाई छिटो लिएर आउनुप¥यो । उनीहरू अहिलेसम्म चाहिँ सेफमै बसेका छन् । बंकर छैन । उनीहरू आत्तिरहेका छन् । हामीलाई बंकर भएको ठाउँतिर छिटो सारिदिनुप¥यो भनेर भनिरहेका छन् ।’
इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई दिइने राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो । उहाँले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
तत्काल उद्धार गर्न एमालेको माग
नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दासमेत गर्नुभएको छ । घटनामा लर्न एण्ड अर्न योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा दुःखित रहेको भन्दै अध्यक्ष ओलीले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । घटनामा घाइतेहरूको तत्काल उपचारको बन्दोबस्त गर्न माग गर्दै ओलीले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।’
इजरायलमा रहेका नेपाली हाम्रो परिवारका हिस्सा हुन्,रक्षा गर्छौं : राजदूत गोडर
नेपालका लागि इजरायली राजदूत हनान गोडरले इजरायल आफैँले कठिन परिस्थितिको सामना गरिरहे पनि नेपालीको रक्षा गर्नु आफूहरूको मुख्य जिम्मेवारी रहेको बताउनुभएको छ । राजदूत गोडरले गाजा नजिकैको क्षेत्रमा रहेका नेपाली विद्यार्थी आतंकवादीको निसानामा परेको उल्लेख गर्नुभयो । इजरायलमा रहेका बाँकी नेपालीको रक्षा आफूहरूको जिम्मेवारी भएको उल्लेख गर्दै राजदूत गोडरले भन्नुभयो, ‘उनीहरू हाम्रो परिवारका हिस्सा हुन्, हामी रक्षा गर्छौं ।’
प्रधानमन्त्रीलाई इजरायलबाट विद्यार्थीको पत्रः ‘युद्धको चपेटामा परेर मर्नु छैन, फर्किन मन छ’
इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपूर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा रहनुभएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल जानुभएका भण्डारीले लेख्नुभएको छ, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस्, हामी देशमा नै रमाउने छौँ ।’ सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको ‘सास रोकिएको’ उल्लेख गर्दै उहाँले तत्काल उद्धार गरिदिन आग्रह गर्नुभएको छ । इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् ।
घाइते प्रवीण खतरामुक्त
इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी घाइते हुनुभएका दाङको दंगीशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले अब आफ्नो बारेमा चिन्ता नलिन परिवारलाई आग्रह गर्नुभएको छ । हमासले इजरायलमा आक्रमण गरेसँगै प्रवीण शनिबार बिहान ११ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । आइतबार दिउँसो इजरायलस्थित अस्पतालको शैय्याबाट नर्सको मोबाइलमार्फत उहाँले परिवारलाई सम्पर्क गरेको बुवा निमबहादुर डाँगीले जानकारी दिनुभएको छ । प्रवीण खतरामुक्त रहेको बताइएको छ । बुवा निमबहादुरका अनुसार प्रवीणलाई गोली लागेको छ । उहाँका दुवै खुट्टामा गोली लागेको छ । जसमध्ये एउटाको शल्यक्रिया भइसकेको छ । सोमबार बिहान पनि प्रवीणले साथीको फोनबाट भिडियो कल गरेको निमबहादुरले जानकारी दिनुभएको छ ।
सर्वदलीय बैठक : जनताको दुःखमा एकैठाउँ उभिने निष्कर्ष
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले जनताको साझा दुःखमा एकैठाउँ उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आहृवानमा सोमबार साँझ सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्ष भन्ने नभई जनताको पक्षमा उभिने निष्कर्ष निकालेको जानकारी दिँदै प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले इजरायल घटनाबारे सिंहदरबारमा बोलाएको संसद्मा रहेका दलहरूको सर्वदलीय बैठकमा दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभईकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेकोे छ ।’
सर्वदलीय बैठकमा राजनीतिक दलहरूले भूराजनीतिलाई विचार गरेर सन्तुलित ढंगले प्रस्तुत हुन पनि सरकारलाई सुझाव दिएका छन् । बैठकपछि प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आतंककारीले हमला गरे भन्ने ढंगले प्रस्तुत नहुन सरकारलाई सुझाव दिएको जानकारी दिँदै भन्नुभयो, ‘नेपालको भूराजनीतिलाई विचार गरेर सरकारले सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भनेर सुझाव दिएका छौँ । यस्ता घटना बेला-बेलामा हुन्छन्, तर अब यस्तो नहोस् । यसर्थ आतंकारीले हमला गरे भन्ने ढंगले प्रस्तुत नहुन भनेका छौँ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले १० जना मृतकका परिवारलाई सरकारले राहतस्वरूप १० लाख दिने लगायतका निर्णयको स्वागत गर्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । बैठकमा सहभागी दलका नेताहरूले सरकारलाई युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको यथाशीघ्र उद्धार, मृतकका शव स्वदेश ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्ने लगायतका सुझाव दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच