विदेशी भूमिमा नेपाली नृत्य देखाउने शम्भु

Read Time = 12 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं ।आजभन्दा १३ वर्षअघिको कुरा हो, नृत्य निर्देशक शम्भु शाही स्विजरल्यान्ड पुग्नुभएको थियो । त्यहाँ नेपाली पोशाक र नेपाली झण्डासहितको नेपाली नृत्य गर्दा विदेशी नागरिकले खुबै चासो दिएर हेरेका थिए । नृत्य सकिएपछि उक्त नृत्य र नेपालबारे विदेशीले चासो दिएर सोधेको शम्भु सम्झिनुहुन्छ ।

‘मलाई अहिले पनि याद छ । हामीले गर्ने नृत्य, हाम्रो संस्कृति अन्य देशहरूको भन्दा बिल्कुल फरक छ । त्यसैले पनि होला विदेशीहरू निकै चाखलाग्दो तरिकाले हेर्छन् । बुझ्न खोज्छन्,’ शम्भुले हिमालय टाइम्ससँग भन्नुभयो । ‘अन्य देशहरूको नृत्य हेर्ने हो भने लगभग एकैप्रकारको जस्तो पाउँछौँ । तर, नेपालको थरिथरिका नृत्य छन् । त्यसैले पनि हाम्रो देशको संस्कृति अन्य देशको भन्दा फरक छ र विशेष छ भन्न सक्छौँ ।’

शम्भु शाही नेपाली नृत्य निर्देशक तथा प्रशिक्षक हुनुहुन्छ । अहिले शम्भुको दिनचर्या देशबाहिरका विभिन्न स्थानमा नेपाली संस्कृति बोकेका, धुन तथा गीतहरूमा नृत्य गर्दैमा बित्छ । विसं २०४८ सालमा नाटकको अभिनयबाट कलाक्षेत्रमा औपचारिकरूपमा प्रवेश गर्नुभएका शम्भु अहिलेसम्म दर्जनौँपटक दर्जन बढी देशमा पुगिसक्नुभएको छ, त्यो पनि नेपाली कला संस्कृतिलाई चिनाउनकै लागि ।

आफ्नो करिअरको सुरुवात नाटकको अभिनयबाट गरे पनि शम्भुले नृत्यको औपचारिक सुरुवात भने विसं २०४९ सालबाट गर्नुभएको हो । अभिनयभन्दा बढी आफूलाई नृत्यले मोहित बनाउने गरेको शम्भु बताउनुहुन्छ । उहाँले त्यो समयमा कुनै पनि कार्यक्रममा हुने नृत्य आफूले खुबै चाख लाग्ने तरिकाले हेर्न पुग्ने, त्यहाँ गरिएका नृत्य दिमागमा राख्ने गर्नुहुन्थ्यो । सुरुवातका दिनहरूमा अर्काको नृत्य हेरेरै धेरैपटक घरमा नृत्यको अभ्यास गरेको अहिले पनि झल्झल्ती सम्झिने गरेको शम्भु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यो समयमा धेरै नृत्य सिकाउने ठाउँ पनि थिएन, फेरि कहाँ सिकाइन्छ होला भन्ने राम्रो ज्ञान पनि हुँदैनथ्यो । आफूभित्र इच्छाशक्ति भएपछि जसरी पनि सिकिँदोरहेछ ।’

शम्भुलाई राम्रो नृत्य गर्ने भएकाले विभिन्न कार्यक्रममा नृत्यकै लागि निमन्त्रणा गरिन्थ्यो । विभिन्न स्टेज कार्यक्रममा शम्भुको डिमान्ड उच्च हुँदै गएको थियो । कार्यक्रममा नृत्य गरिरहनेक्रममा शम्भुले २०५२ सालमा साधना कला केन्द्रमा नृत्य प्रशिक्षकका रूपमा काम पनि गर्नुभयो । उहाँले नृत्यमा रुचि राख्नेहरूका लागि २०६३ सालसम्म औपचारिकरूपमै प्रशिक्षकका रूपमा काम गरिरहनुभयो । ‘मैले दशक बढी समय विभिन्न ठाउँमा नृत्य प्रशिक्षकका रूपमा काम गरेँ । विस्तारै विदेशका कार्यक्रममा डिमान्ड आउन थालेपछि प्रशिक्षणको काम रोक्नुपरेको हो,’ शम्भुले भन्नुभयो । ‘अहिले विदेशमा कार्यक्रम बढी हुने भएकाले नेपालमा नृत्य प्रशिक्षणको काम गर्न पाइरहेको छैन ।’

अन्तर्राष्ट्रियस्तरमै नेपाली संस्कृति चिनाउने अभियान
शम्भुले २०५७ सालदेखि अन्तर्राष्ट्रियस्तरमै नेपाली कला संस्कृतिलाई चिनाउनुपर्छ भन्ने लागेर त्यो अभियानमा जुटेको बताउनुभयो । नेपालबाहिर पनि नेपालभित्रको कला संस्कृतिलाई चिनाउन सकियो भने विदेशी पर्यटक भित्र्याउन सहज हुने शम्भुको धारणा छ । यसैक्रममा पहिलो विदेशको कार्यक्रमअन्तर्गत बेल्जियमबाट सुरु गरेको शम्भु बताउनुहुन्छ । त्यो पहिलो अनुभवबारे शम्भु भन्नुहुन्छ, ‘नेपाली सांस्कृतिक नृत्यहरूमा विदेशीको खासै चासो हुँदैन कि भन्ने लाग्थ्यो, पहिलो कार्यक्रम भएकाले पनि मनमा डर पनि थियो । तर, जब नृत्य गरियो, विदेशीहरूको चासो देख्दा थप ऊर्जा मिलेर आयो । यो काम त अझै धेरै ठाउँमा गर्नुपर्छ भन्ने लाग्यो ।’

शम्भुलाई २०६० सालमा भारतको सिक्किममा गएर दिएको प्रस्तुतिको अझै पनि ताजै स्मरण छ । यस्तै २०६३ सालमा नर्थ अफ्रिकाको ‘ट्युनिसिया’ मा पनि शम्भुले नेपाली नृत्यसहितको प्रस्तुति दिनुभएको थियो । विदेशमा गएर नेपाली कल्चरल डान्स गर्नु आफैँमा चुनौती भएकाले पनि धेरै दुःखको सामना गर्नुपर्नेको शम्भु बताउनुहुन्छ । ‘नेपालबाट विदेशमा जानु नै पहिलो कुरा त दुःख छ, त्यसमाथि विदेशी भूमिमा गएर नेपाली कल्चरल डान्स देखाउनु झनै चुनौतीपूर्ण कुरा थियो,’ शम्भुले दुःखका क्षण सम्झिँदै भन्नुभयो, ‘तैपनि कुनै पनि कुरामा हरेस नखाई विस्तारै आजको दिनसम्म आइपुगियो ।’

यसरी विदेशका कार्यक्रममा शम्भु एक्लै पनि हिँड्नुहुन्न । उहाँसँग १५ जना नेपाली कलाकारको टिम हुन्छ । विभिन्न लाइभ म्युजिक बजाउनेदेखि गीत गाउने कलाकारको टिममा शम्भु हिँड्नुहुन्छ । उहाँले २०७० सालमा फ्रान्स र स्विजरल्यान्ड, २०७१ मा फिनल्यान्ड र स्पेन, २०७२ मा इटाली र पोर्चुगल, २०७३ मा स्पेन र फ्रान्स, २०७५ मा पोल्यान्ड, २०७६ मा नेदरल्यान्ड र स्विजरल्यान्डमा प्रस्तुति दिएको बताउनुभयो ।

कोरोनापछि पुनः सुरु हुँदै यात्रा
पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड-१९ ले शम्भुको यात्रालाई पनि केही समय रोकिदियो । कोरोनाका कारण विश्वका अधिकांश देशहरू थलिएको अवस्थामा आफूहरूले कुनै पनि कार्यक्रम गर्न नसकेको शम्भु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘देशभित्र पाँचजनाभन्दा बढी जम्मा हुन सक्ने अवस्था थिएन, अझ विदेश त झन् जाने कुरै भएन । कोरोनाका कारण लामै समय हाम्रो यात्रालाई ठूलै असर गरेको थियो ।’
अहिले भने शम्भुसहितको टिम फेरि विदेश निस्किएको छ । यतिबेला पनि आफूहरू स्विजरल्यान्डमा रहेको शम्भुले जानकारी दिनुभएको छ । ‘यही जुलाई २९ देखि अगस्ट ७ सम्म हामी स्विजरल्यान्डमा थियौँ अहिले अगस्ट १५ सम्मका लागि फ्रान्समा छौँ,’ यात्राकै क्रममा शम्भुले भन्नुभयो ।

उहाँले अहिले विस्तारै कोरोनाअघिको समयजस्तै माहोल बन्न लागेको बताउनुभयो । विदेशी पयर्टकहरू एक देशदेखि अन्य देशमा जाने, विभिन्न कल्चरल प्रस्तुतिमा सहभागी हुने गरेको उहाँले बताउनुभएको छ । ‘हामीले विदेशी पर्यटकहरूले प्रत्यक्षरूपमा भेटेरै भन्नुहुन्छ, नेपाल कस्तो छ, अहिले कोरोनाले असर गरेको थियो के भइरहेको छ भनेर चासो देखाउनुहुन्छ । हामीले पूर्णरूपमा खुला छ । सुरक्षित छ भन्ने सन्देश दिइरहेका छाँै,’ शम्भुले सुनाउनुभयो, ‘विदेशीहरूले हामीसँग फोटो खिच्नुहुन्छ, एकपटक नेपाल आउँछौँ भन्नुहुन्छ । खुसी लाग्छ ।’

प्रत्यक्ष कार्यक्रम गर्नु आवश्यक
शम्भुले यसरी नै अन्य धेरैले प्रत्यक्ष भेट्ने कार्यक्रम गर्नु आवश्यक रहेको बताउनुभयो । आफूहरूले विगत लामो समयदेखि यस्तो कार्यक्रम गरे पनि अन्य धेरैले गर्ने हो भने देशको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग मिल्ने शम्भुको धारणा छ । ‘सबैले आ–आफ्नो ठाउँबाट गर्नु जरुरी छ । विदेश जानुहुने अन्य कलाकारहरूले पनि पर्यटन प्रवद्र्धनका लागि कसरी हुन्छ, त्यो सोचियो भने पक्कै पनि भोलिका दिनमा नेपालमा पर्यटन भिœयाउन गाह्रो हुँदैन,’ शम्भुले भन्नुभयो, ‘प्रत्यक्ष कार्यक्रममा सहभागी भएका विदेशी पर्यटकलाई आफैंले उभिएर दिएको सन्देश निकै प्रभावकारी रहने मेरो अनुभवले बताउँछ ।’

उहाँले अहिले पनि विदेशमा नेपाली कार्यक्रम थुप्रै भइरहेका तर नेपाली दर्शकका लागि केन्द्रित कार्यक्रम बढी हुने गरेको बताउनुभयो । शम्भुले अघि भन्नुभयो, ‘अहिले विभिन्न देशहरूमा कार्यक्रम भइरहेका छन् । नेपाली दर्शककै लागि नेपाली कलाकार पुगेर प्रस्तुति दिनुहुन्छ । त्यो पनि निकै राम्रो हो । तर, केही यस्तो कार्यक्रम पनि गरौँ, जुन विदेशी पर्यटकका लागि केन्द्रित होस् । त्यसो गरियो भने नेपाली पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग हुन्छ जस्तो लाग्छ ।’

शम्भुले आगामी दिनहरूमा पनि अन्य देशका कार्यक्रमका लागि तालिका बनिरहेको बताउनुभएको छ । एकपटक गइसकेका देशहरूबाट पनि फेरि आउनका लागि निमन्त्रणा आइरहने उहाँ बताउनुहुन्छ । शम्भुले नेपाली कल्चरल पोशाक र नेपालको झण्डासहितको नृत्य गर्न पाउँदा आफूलाई नेपाली हुनुमा गर्व लागेको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘सबैले यहीँ काम गर्नुस् त भन्न मिल्दैन । आफू जुन ठाउँमा छौँ, त्यो ठाउँमा रहेर थोरै भए पनि देशका लागि केही गरौँ भन्न चाहन्छु । मलाई चाहिँ नेपाली हुनुमा गर्व लाग्छ ।’ शम्भु नृत्य निर्देशक संघ नेपालको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?