काठमाडौं । प्रदेशसभा निर्वाचन भएको एक वर्ष नबित्दै कोशी प्रदेशमा चार सरकार बने । तर, कुनै सरकार टिक्न सकेनन् । कुनै विश्वासको मत दिन नसकी ढले भने कुनैलाई सर्वोच्च अदालतको आदेशले ढलाइदियो । निर्वाचन सम्पन्न भएलगत्तै कोशीमा नेकपा एमाले नेतृत्वको सरकार बनेको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि गत असार १५ मा कार्की नेतृत्वको एमाले सरकार ढल्यो । राष्ट्रपतिको निर्वाचनमा केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशी सरकार ढलेको थियो ।
त्यसपछि नयाँ गठबन्धनअनुसार नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री हुनुभएको थियो । तर, सर्वोच्च अदालतले उहाँको नियुक्ति नै असंवैधानिक ठहर गरिदिएपछि सरकार ढल्यो । उहाँ तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित मुख्यमन्त्री हुनुभएको थियो । पहिलो पटकको नियुक्ति असंवैधानिक ठहर गरे पनि सभामुखलाई राजीनामा दिन लगाएर उहाँ पुनः दोस्रोपटक मुख्यमन्त्री हुनुभयो । तर, फेरि सर्वोच्चकै आदेशमा उहाँ फालिनुभयो । प्रदेशसभाको अध्यक्षता गरिरहनु भएका इस्राइल मन्सुरीले दिएको विश्वासको मत अदालतले अवैधानिक ठहर गरिदिएपछि उहाँ दोस्रोपटक पदमुक्त हुनुभएको थियो ।
सर्वोच्चको परमादेशले थापाको सरकार ढलेसँगै कोशीमा हिक्मत कार्की चौथो मुख्यमन्त्री नियुक्त हुनुभयो । तर, उहाँको सरकार पनि टिक्न सकेन । विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले गत शनिबार पदबाट राजीनामा दिनुभएको थियो । कोशी प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।
कोशीमा अहिले अन्तिम विकल्पको रूपमा पाचौँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २६ गते अपराहृन ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभाका कुनै सदस्यलाई तोकिएको समयभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले आह्वान गर्नुभएको हो । जसमा मुख्यमन्त्री दाबी गर्न कुनै संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् ।
सरकार ढाल्ने र जोगाउने खेलको चेपुवामा परेको कोशी प्रदेशमा अब पनि सरकार बन्न वा टिक्न नसके मध्यावधि निर्वाचनमा जानबाहेक विकल्प छैन । संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न अन्तिम विकल्प रहेको छ । यो विकल्पमा सरकार नबने वा बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके स्वतः प्रदेशसभा मध्यावधि निर्वाचनमा जानेछ ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने
कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान पार्टी सभापति देशबहदुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो । दुईपटक आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास सफल नभएपछि कांग्रेसले पुनः आफ्नै सरकार बनाउन पहल गर्ने भएको हो । जसका लागि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मनाउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनका नेतासँग पनि छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ । ‘कोशीमा दुई/दुईपटक प्रयास गरे पनि असफल भयौँ । तर, फेरि बलियो सरकार बनाउन गठबन्धनसँग पनि कुरा गर्ने र राप्रपालाई पनि मनाउने निर्णय भएको छ,’ बैठकपछि विश्वकर्माले भन्नुभयो, ‘कोशीमा राप्रपा निर्णायक छ । निर्णायक भएकोले उसले पनि दाबी गर्नु अन्यथा होइन । तर, सानो दलले सरकारको नेतृत्व गर्दाका जोखिम र अप्ठ्यारो केन्द्रमा भएजस्तै कोशीमा पनि नहोस् भन्नेमा सचेत हुँदै पहल गर्ने हाम्रो निर्णय छ ।’
कोशीमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिले पनि सरकार गठनका लागि बहुमत पुग्ने अवस्था देखिएको छैन । यस्तोमा ६ सिट भएको राप्रपालाई मनाउनुपर्ने अवस्थामा सत्ता गठबन्धनका दल पुगेका हुन् । उता निर्णायक रहेको राप्रपाले पनि कोशीमा मुख्यमन्त्री दाबी गर्न थालेको छ । तर, आफ्नै नेतृत्वमा सरकार नबन्ने अवस्थामा भने बाधक नबन्ने निर्णय गरेको छ ।
गठबन्धनमै छैन एकमत
कोशी प्रदेशमा सत्ता गठबन्धनका दलहरूबीच मुख्यमन्त्री कसको भागमा पर्ने भन्ने विषय टुंगिएको छैन । मुख्यमन्त्री को बन्ने भनेर आन्तरिक विवादमा दलहरू फसेका छन् । मुख्यमन्त्री कुन दलको भागमा पर्छ भनेर टुंगो नलागे पनि कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यहरू आ–आफ्नो मागदाबीसहित लविङमा छन् । गठबन्धन दलमा रहेका जसपाबाहेकका दलहरूले मुख्यमन्त्रीमा दाबी गरेका छन् । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अब मुख्यमन्त्रीको रूपमा अगाडि सार्नुपर्ने मत कांग्रेसभित्रै छ । सत्ता गठबन्धनमा रहेको अर्को प्रमुख दल माओवादी केन्द्रमा पनि मुख्यमन्त्रीलाई लिएर दुईथरि मत छ । माओवादीबाट दुर्गाप्रसाद चापागाईँ र इन्द्रबहादुर आङ्वो मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ ।
दलहरूबीच छलफल र भेटघाटको क्रम बाक्लो भए पनि प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने अझै सहमतिको अन्तिम बिन्दुमा पुग्न सकेको छैन । गठबन्धन दलहरू एमालेबाहेक राप्रपासँग सहमति गरेर सरकार बनाउने तयारीमा रहेका छन् तर एमालेले भने गठबन्धन दलकै केही सांसदलाई मुख्यमन्त्री दिएर सरकार बनाउन चलखेल गरिरहेको छ । एमालेले गठबन्धन दलभित्रका धेरै सांसदहरूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर सरकार बनाउन लविङ गरिरहेको छ । स्रोतका अनुसार एमालेले गठबन्धन दलभित्रका कतिपय सांसदहरूलाई उनीहरू अगाडि बढ्ने भए एमाले तयार रहेको सन्देश दिइरहेको छ ।
लिङ्देनलाई प्रचण्डको प्रस्ताव- कोशीमा सरकार गठन गर्न सहयोग गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कोशीमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । मंगलबार राप्रपा अध्यक्ष लिङ्देनसँगको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले कोशी सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । तर, अध्यक्ष लिङ्देनले भने ठोस जवाफ नदिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । ‘अध्यक्षज्यू र प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्रीज्यूले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन । कोशीमा सरकार गठनको लागि हामी नै निर्णायक हौँ । त्यसैले अहिले त्यसबारेमा संवाद सुरु भएको छ । कुनै सहमतिमा पुगेका छैनौँ ।’ प्रधानमन्त्रीसँग फेरि भेट्ने सहमति भएको समेत उहाँले बताउनुभयो । कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष लिङ्देनसँग भेट्ने तयारी गर्नुभएको छ । कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन राप्रपालाई मनाउने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच