
विनिता कोइराला
ठूला साना सबैलाई दशैँ,
अत्यन्त राम्रो छ ।
चलेका चाडमा ज्यादै,
यही उत्कृष्ट हाम्रो छ ।
सबै अत्यन्त आनन्दी,
सबै छन् पिङमा दंग ।
सबैको देखिँदै आयो,
उज्यालो चेहरा रङ ।।
कवि शिरोमणि लेखनाथ पौड्यालका शब्दहरू शरद ऋतुको यो समयमा मालाश्री धूनसँगै सुन्दा हाम्रो मस्तिष्कमा गहिरो सकारात्मक भाव सञ्चार हुने गर्दछ ।
दशैँका अनेक मिथक र आयाम तथा महत्वहरू छन् । दुर्गा पूजा, रामलीला, पुतला दहन, टीका, जमरा, दक्षिणा, नयाँ लुगा, नयाँ पैसा, माछामासु, लिंगे पिङ, चंगा, मालाश्री धून, आफन्त तथा वालसखासँगको भेटघाट, अपेक्षित यात्रा, गाउँघर-टोल सरसफाई, लामो बिदा, संस्करण प्रकाशन, शुभकामना कार्ड, सेल-अफर, मेला–कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदि अनेक आयामहरूले दशैँँ खुशीयालीपूर्ण भइदिन्छ ।
साथै, दशैँमा मान्यजन, नाता-कुटुम्बबाट टीका-जमरा लगाउने, आशीर्वाद प्राप्त गर्ने अनि शुभेच्छुक, साथी-संगीबाट शुभकामना प्राप्त गर्ने विशेष अवसर सिर्जना हुनु पनि यसको सबैभन्दा उल्लेख्य कुरा हो ।
यो सँगसँगै आउँछ पिङ...हो आज हामी यही पिङको बारेमा चर्चा गर्नेछु । सामान्यतया पिङ तीन प्रकारका हुन्छन् । जाँतेपिङ, लिंगेपिङ र रोटेपिङ । जाँतेपिङ लोप भइसकेको छ भने लिंगे र रोटेपिङ पनि हराउँदै गएका छन् ।
नेपाली बृहत् शब्दकोशका अनुसार पिङ भनेको रूखको हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनको टुप्पामा बाँधिएको गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेलिने साधन हो ।
कस्तो हुन्छ पिङ ?
सामान्यतया लिंगेपिङ बाँसका लिंगो गाडेर बाबियो या नाइलन डोरीको लठ्ठाबाट बनेको हुन्छ । लिंगे पिङजस्तै अर्को लोकप्रिय पिङ हो- रोटेपिङ । यसमा ४, ८, १२, १६, २४ वटा पिर्का राखेर आवश्यकता अनुसार बनाइएको हुन्छ ।
त्यस्तै जाँतोझैँ घुम्ने पिङ जाँतेपिङ हो । खासगरी जाँतेपिङ र रोटेपिङ पहाडतिर वा काठ प्रशस्त पाइने ठाउँतिर निर्माण गरिन्छ । यस प्रकारका पिङ निर्माण गर्न दक्ष, सिपालु व्यक्ति आवश्यक पर्छ । दक्ष, सिपालु व्यक्तिको अभाव भएका कारण रोटे र जाँतेपिङ हिजोआज लोपको संघारमा छ ।
रोटेपिङका सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ । काठको मियोको माथिल्लो भागबाट काठ तेस्र्याएर दुवै भागमा एक-एकजना बस्न मिल्ने गरी यसको निर्माण गरिएको हुन्छ ।
पहिले दशैँमा केटाकेटीहरू रमाइलोका लागि पिङमा झुत्तिएका हुन्थे । युवायुवती तथा प्रौढहरू टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक मात्रै भएपनि पिङ खेल्न पुग्दथे । वयस्क युवायुवतीहरू एउटै लठारोमा चढेर लिंगे पिङ मच्चाउँथे । जसलाई दोहोरी खेलेको समेत भन्ने गरिन्छ ।
यस्तो समय पनि थियो, बडादशैँ र तिहारताका चौर, बाटोघाटो सबैतिर पिङ हाल्ने होडवाजी चल्दथ्यो । यो चलन अहिलेको होइन, यो त परापूर्व कालदेखि नै चलिआएको संस्कार हो ।
अचेल विभिन्न खाले मेला, सर्कस तथा पार्कहरूमा पनि विभिन्न खालका आधुनिक पिङ राखिएको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने पिङ धेरै प्रकारका हुन्छन् । स्थानीय परिवेशले पनि पिङको नामकरणमा प्रभाव पारेको देखिन्छ । नेपालको बैतडी, डोटी र कैलालीतिर पिङलाई लठे भनिन्छ । यसलाई मनाङतिर काँकर भनिन्छ ।
बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैँमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छ, पेटको बोसो घट्छ र स्वस्थ्य भइन्छ भन्ने चलन पनि रहेको छ । पिङ खेल्नाले खेल्ने मान्छेलाई शारिरीक व्यायाम त हुने नै भयो, धकेल्ने मान्छेलाई पनि व्यायाम हुने चिकित्सकहरू बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच