काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
बुधबार मन्त्रालयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्र्रमुख सुरेशबहादुर भट्टराईलगायत काठमाडौं उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्ष दिनभरि राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरेसरह नै हुन्छ । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस्, पूर्णरूपमा जिम्मेवार भएर काम गर्नुस् ।’
चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढीभन्दा बढी विद्युत् उपलब्ध गराउन निर्देशन दिँदै उहाँले बढी भएको विद्युत् खेर नजाने वातावरण बनाउनसमेत निर्देशन दिनुभयो । चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने भन्दै उहाँले सकेसम्म बिजुली खेर जान नदिन कर्मचारीहरूलाई सचेत गराउनुभयो ।
मन्त्री बस्नेतले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्नेबित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुत टोली व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडांैं उपत्यका र शहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको जानकारी गराउँदै चाडपर्वको समयमा आफैँ नियमितरूपमा वितरण केन्द्रहरूको अनुगमन, निरीक्षणका लागि निस्कने बताउनुभयो । चाडपर्वको समयमा उद्योग प्रतिष्ठान पनि कम क्षमतामा चल्ने भएकाले विद्युत् माग कम हुने भएकाले केही खेर जाने अवस्था रहेको उहाँको भनाइ थियो ।
जेठयता ११ अर्ब ८० करोडको विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन, भदौ र असोज तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो । असोजमा मात्र चार अर्ब दुर्ई करोड ३५ लाखको विद्युत् निर्यात भएको छ ।
प्राधिकरणका अनुसार तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसतदर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठमा पाँच दिनमा ४० करोड ५ लाख र असारमा एक अर्ब ७५ करोड ७० लाखको विद्युत् निर्यात भएको थियो । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत्को औसतदर प्रतियुनिट नौ रुपैयाँ ६७ पैसा थियो ।
साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाखको निर्यात भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच