म्याग्दी । दशैंको आज सातौं दिन । कोतघरहरुमा हर्षबढाइ गरी फूलपाती भित्त्र्याइँदै छ । दशैं शुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो ।
रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसंगै दशैंको उत्सब शुरु हुने गर्दछ । तर, विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिदै गएका छन् ।
गाउँहरुमा विकास र सुविधासंगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातो माटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । म्याग्दीका ग्रामीण भेगका अधिकांश घरहरु पनि सिमेण्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसीमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन शुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका २ बगरफाँटका ८९ वर्षिय बाबुराम उपाध्यायले बताउनुभयो ।
एक समय थियो, दशै भित्रदै गर्दा रातो माटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाँउका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ्ग र स्थानिय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ्ग लगाइन्थ्यो, अनि गाँउ भरीका सबै भेला भएर रमाउने गरिन्थ्यो । तर,अहिले यी सबै चलनहरु हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीय बृद्धबृद्धाहरुको भनाइरहेको छ ।
दशैंमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिडेर म्याग्दीको बेनी नगरपालिका २ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्ला भरीका महिला तथा पुरुषहरुको भीड लाग्ने गर्दथ्यो । दशैं शुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातो माटो र कमेराका मड्किनाहरुमा स्कुलका विद्यार्थीहरुदेखि लिएर गृहिणीहरुको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नु पथ्र्यो । तर, अहिले रत्नेचौर र सारेमारेका मड्किनाहरुमा माटो लिन आउनेहरुको संख्या नगण्य रहेको स्थानीय हेमकुमारी सापकोटाले बताउनुभयो ।
त्यसैगरी दशैका लागि आबश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने,पिध्ने गरिन्थ्यो । तर अहिले यी सबै चलनहरु एकादेशको कथामा परिणत भएका छन् । गाउँघरमा ढिकी जाँतोमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिकी जाँतोहरु देखिनै छोडेका छन् । दशैमा यी प्रचलन सबै लोप हुदै गएका छन् । दशै पहिलेको भन्दा महग्रो र पृथक बन्दै गएकोे ज्यामरुककोटका रामकृष्ण घिमिरेले बताउनुभयो ।
“रातो माटो र कमेरोले लिपपोत गर्ने घरहरुमा अहिले आयातित बिभिन्न कलर(रङ) लगाउन थालिएको छ । प्रत्येक घरबाट एक÷एक जना सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरि गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । गोरेटोबाटो पुरिदै गएका छन्,मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ्गहरु लोप हुदै गएका छन् । दशैका लागि आबश्यक पर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिकी जाँतोमा कुटानी पिसानी गर्न छोडिएको छ । दशैंको मौलिकता नै हराउँदै गएको छ” पश्चिम म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका पं हरिकृष्ण पौडेलले बताउनुभयो ।
मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउदै जान थालिए पछि दशैं पनि महङ्गो बन्दै गएको स्थानीयको बुझाइरहेको छ । पहिला पहिला रैथाने साधन,स्रोत,सीप र प्रविधिमा दशैं मनाइन्थ्यो भने अहिले आयातित साधन,स्रोत,सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैं दशा बन्न थालेको बुद्धिजीविहरुले बताएका छन् ।
रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ्ग, गाँउभरीका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैको आभाष हुने गरेको थियो । तर अहिले यी सबै कुराहरु हराउँदै जाँदा पुरानो मैलिकता नै लोप हुदै गएको र रमाइलो कम हुँदै गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच