गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, दोषी पक्राउ गर्न कांग्रेसको माग

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार उर्फ बब्लुमाथि गोली प्रहार गर्ने दोषी तत्काल पहिचान गरी पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवं मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर रायको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाई गाउँपालिका अध्यक्ष तथा पार्टीका युवा नेता रुपेशमाथि गोली प्रहार गर्ने/गराउनेलाई सार्वजनिक गरी कडा कारवाही गर्न माग गरिएको हो ।

रुपेशलाई लक्षित गरी गएको मङ्गलवार राति कौडेना गाउँपालिका-२, इनर्वास्थित उहाँकै निवासमा गोली प्रहार भएको थियो । राति खाना खाएर हात धुनेक्रममा एक राउण्ड गोली प्रहार भएको र आफू संयोगले ज्यान बचाउन सफल भएको गाउँपालिका अध्यक्ष बब्लुले बताउनुभयो ।

गोलीको छर्राले घरको भित्तामा प्वाल परेको छ । घटना भएको चार दिन बितिसक्दा समेत दोषी पहिचान हुन नसकेपछि कांग्रेसले प्रशासनलाई ज्ञापन पत्र बुझाइ घटनाको गम्भिरतापूर्वक अनुसन्धान अघि बढाउन दबाब दिएको हो ।

क्षेत्रीय सभापति रायले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ । सर्लाही प्रहरीले यस घटनाको अनुसन्धान गर्न छानविन समिति बनाइएको जनाएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुको नेतृत्वमा गठित छानविन समितिले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?